

८ वर्षमा पनि बनेन चितवन र तनहुँ जोड्ने पुल

चितवन – भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पक्की पुल निर्माण सुरु भएको आठ वर्ष भयो । निर्माण सम्पन्न भएर गाडी गुडिसक्नुपर्ने बेलामा पुलको ६० प्रतिशतमात्र काम सम्पन्न भएको छ ।
पुल निर्माण अलपत्र अवस्थामा छ । बन्दै गरेको पुल निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै अधुरो छाडेको छ । निर्माणका क्रममा पुल दुई पटक भत्कियो । त्यस क्रममा मजदुरको मृत्यु र केही घाइतेसमेत भएका थिए । पुल निर्माणका लागि ठिमुरा र देवघाटका स्थानीयवासीले सम्बन्धित निकायमा पटक–पटक दबाब दिए तर सुनुवाइ भएन ।
पुल निर्माण समितिका अध्यक्ष टङ्कनाथ पौडेलले प्रारम्भिक चरणमा अख्तियारमा मुद्दा परेर रोकिएको पुल निर्माण पर्याप्त बजेट विनियोजन नहुँदा र दुई पटक भत्किएका कारण ढिला भएको बताउनुभयो । उहाँले सडक डिभिजन कार्यालयको लापर्बाहीका कारण पुल निर्माणका क्रममा प्राविधिकको निगरानी नहुँदा समस्या भएको गुनासो गर्नुभयो । ‘निर्माण समितिका तर्फबाट पटक–पटक दबाब दियौँ’, उहाँले भन्नुभयो, ‘प्रशासन कार्यालय र सम्बन्धित मन्त्रालयलाई पनि ज्ञापनपत्र बुझायौँ तर पुल निर्माणले गति लिन सकेन ।’ उहाँले चितवन र तनहुँका जिल्ला समन्वय समिति प्रमुखहरूको संयोजकत्वमा समिति निर्माणसमेत भएको भन्दै त्यसले पनि निकास दिन नसकेको बताउनुभयो । पौडेलले कात्तिकदेखि धमाधम काम नगरे उपभोक्ता समिति सङ्घर्षमा आउने उहाँले चेतावनी दिनुभयो ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले पुल निर्माणमा गम्भीर लापर्बाही गरिएको बताउनुभयो । उहाँले पाँच वर्षअघि नै निर्माण सम्पन्न भइसक्नुपर्ने पुल अलपत्र पारेर छाडिएको बताउनुभयो । देवघाट–५ तनहुँका मानबहादुर गुरुङले अब त पुल निर्माण हुन्छ भन्नेमा नै शङ्का लाग्न थालेको बताउनुभयो । यतिका वर्षसम्म पनि एउटा पुल निर्माण हुन नसक्नुमा यहाँका जनप्रतिनिधि र सरकारी कर्मचारीको उदासिनता भएको उहाँले बताउनुभयो । पुल निर्माण नहुँदा भरतपुर र देवघाट आवतजावत गर्न दासढुङ्गा पुग्नुपर्ने बाध्यता रहेको गुरुङको भनाइ छ ।
चितवन र तनहुँमात्रै नभएर बाग्मती र गण्डकी प्रदेशलाई समेत जोड्ने पुल ८ दशमलव ५ मिटर फराकिलो र दुई सय २० मिटर लामो छ । डिजाइनअनुसार पुलका चार वटा स्पान रहने र त्यसमा कङ्क्रिटका ४०–४० मिटरका तीन वटा र स्टिलको एउटा ८० मिटरको स्पान हुने उल्लेख छ । चितवन ठिमुरातर्फ दुई वटा र देवघाटतर्फ एउटा कङ्क्रिटको स्पान रहनेछ ।
त्रिशूली नदीमाथि पुल बनाउन २०७१ कात्तिक २० गते तीन वटा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । निर्माणको ठेक्का इलाइट, एडभेन्चर र इन्द्रेणी जेभीले संयुक्तरूपमा लिएका हुन् । सम्झौताअनुसार तीन वर्षभित्र (२०७४ कात्तिक १९) मा पुल बन्नु पर्थ्यो ।तर पटक–पटक म्याद थपेर पछिल्लो समय काम सक्नुपर्ने समयसीमा २०७९ को चैत मसान्तसम्म तोकिएको छ । यो बीचमा चार–पाँच पटक म्याद थप गरिसकिएको छ ।
सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले सबै कुराको अनुकूल भए यस वर्ष पुल निर्माणको काम सकिने बताउनुभयो । उहाँले निर्माण कम्पनी पनि काम गर्न तयार रहेको भन्दै नदीमा पानी नघटेकाले काम सुरु गर्न नसकिएको बताउनुभयो । ‘भूकम्प, नाकाबन्दी र कोरोनाका कारण पुल निर्माणमा असर पर्यो’, उहाँले भन्नुभयो, –यो बीचमा दुई पटक भत्किएर तत्काल काम गर्नसक्ने अवस्था भएन । सम्झौता हुँदा पुलको निर्माण लागत १९ करोड १० लाख रहेकोमा अहिले बढेर २१ करोड ६८ लाख रुपैयाँ पुगेको सडक कार्यालय भरतपुरले जानकारी दिएको छ । उज्यालो
October 13, 2022 12:16 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

