Thursday 2nd April 2026

बेनी-जोमसोम सडक आयोजनाको ढिलाइप्रति प्रदेश सरकार असन्तुष्ट

8 years अगाडी

म्याग्दी । गण्डकी प्रदेशको लाइफ लाइन घोषित राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजनाको काममा भएको ढिलाइप्रति गण्डकी प्रदेश सरकारले असन्तुष्टि जनाएको छ।आयोजनामार्फत म्याग्दी र मुस्ताङ खण्डमा भइरहेको सडक स्तरोन्नतिको स्थलगत अनुगमनपछि मंगलबार बेलुकी बेनी नगरपालिका–९ गलेश्वरमा जनप्रतिनिधि, प्रशासक, सुरक्षा अधिकारी र सरोकारवालासँगको अन्तक्र्रियामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ढिलासुस्तीप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

एक सय १८६ किलोमिटर दूरीको बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत ११० किलोमिटरको जोमसोम–कोरला खण्ड स्तरोन्नतिको लागि विसं २०७३ कात्तिक र ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडक कालोपत्रेका लागि विसं २०७४ असारदेखि काम शुरु भएको थियो।पाँच अर्बभन्दा बढीको लगानीमा निर्माण भइरहेको मित्रराष्ट्र चीनको सिमाना कोरला नाका जोड्ने व्यापारिक महत्वको सडक आयोजनाको सात वटा प्याकेज मध्ये चार वटा प्याकेजमा निर्माण व्यवसायीले अपेक्षाकृत काम गर्न नसकेको पाइएको मुख्यमन्त्री गुरुङले बताए।

प्रदेशको समृद्धिसँग जोडिएको सडक आयोजनालाई गुणस्तरीय हिसाबले समयमै सम्पन्न गराउन सम्बद्ध अधिकारी र व्यवसायीलाई निर्देशन दिएको मुख्यमन्त्री गुरुङले संघीय सरकारलाई पनि समस्याको बारेमा जानकारी गराउने बताए।प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनालाई गति दिन र देखिएका समस्या समाधानका लागि सहजीकरण गर्न स्थलगत अनुगमन शुरु गरेको सरकारका प्रवक्तासमेत रहनुभएका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले बताए।प्रदेश सरकारले प्रत्येक स्थानीय तहलाई जोड्ने सडकलाई कालोपत्रे र ग्राभेल गर्ने योजनालाई प्राथमिकताका साथ आर्थिक वर्षमा बजेट विनियोजन गरेको मन्त्री चुमानले जानकारी दिए।

          July 11, 2018 1:04 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...