एयर इन्डिया जहाज दुर्घटना : उछिट्टिएर बाहिर आएका यात्रु विश्वास के भन्छन् ?
बिहीबार दिउँसो भारतको गुजरातको अहमदाबाद विमानस्थलनजिकै भएको एयर इन्डियाको जहाज दुर्घटनामा उछिट्टिएर आफू बाहिर आएको एक जनाले बताएका छन् । ४० वर्षीय बेलायती नागरिक विश्वासकुमार रमेशले हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा आफू दुर्घटनामा परेर बाँचेको बताएका हुन् ।
हिन्दुस्तान टाइम्सका अनुसार विश्वास परिवार भेट्न केही दिनका लागि भारत आएका थिए । उनी दाजु अजयकुमार रमेशसँग बेलायत फर्कंदै थिए । उनले हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा भनेका छन्, ‘टेकअफ भएको ३० सेकन्डमै ठूलो आवाज आयो । अनि जहाज दुर्घटना भयो । एकैछिनमा सब तहसनहस भयो ।’ भारतीय मिडियाहरूका अनुसार विश्वासको उपचार अहमदाबाद सिभिल अस्पताल भइरहेको छ । सिट नम्बर ११ ‘ए’ मा बसेका उनको छाती, आँखा र खुट्टामा चोट लागेको छ । उनका दाजु अजय भने अर्कै लाइनमा बसेका थिए । दाजुको अवस्था कस्तो छ भन्ने अहिलेसम्म खुलेको छैन ।
भारतीय समयअनुसार दिउँसो १:३८ मा लन्डनका लागि उडेको एआई १७१ उडान नम्बरको बी ७८७ ड्रिमलाइनर जहाज टेकअफलगत्तै दुर्घटनामा परेको हो । दुर्घटनामा परेको जहाजमा २४२ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । उक्त जहाज क्याप्टेन सुमीत सभरवाल र फर्स्ट अफिसर क्लाइभ कुन्दरले उडाइरहेका थिए । क्याप्टेन सभरवालसँग ८ हजार २ सय घण्टा र कोपाइलट कुन्दरसँग १ हजार १ सय घण्टाको अनुभव रहेको भारतको नागर विमानन महानिर्देशनालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
जहाजमा क्याबिन क्रुसहित २४२ जना सवार रहेको एयर इन्डियाले एक्समार्फत जानकारी दिएको छ । जसमध्ये २ जना पाइलट, १० जना क्याबिन क्रु सदस्य र २३० यात्रु रहेका थिए । जसमध्ये १६९ जना भारतीय यात्रु रहेका छन् । त्यस्तै बेलायतका ५३ जना, पोर्चुगलका ७ जना र क्यानडाका १ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । उक्त जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कान्तिपुर
June 12, 2025 11:18 pm | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न सेनाका उपकरण र साइबर प्रहरी परिचालन
देशभर उत्साहपूर्वक उम्मेदवारी दर्ता चल्दै (तस्वीरहरू)
नेपाल मगर संघ शाखा कुवेतको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा जय आले निर्विरोध
काठमाण्डाै महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा
नगद कारोबारमा आजदेखि ५ लाखको सीमा लागू
सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो
राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन भन्दै म्यासेज पठाउने व्यक्ति पक्राउ
कुवेत – मगर सँघ कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन १६ जनवरी २०२६, मा हुने भएको छ ।