Tuesday 7th April 2026

ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत

4 hours अगाडी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नागरिक पूर्वाधार ध्वस्त पार्ने चेतावनीसहित दिएको कडा समयसीमा नजिकिँदै गर्दा पनि इरानले आफ्नो अडान नछाड्ने सङ्केत दिएको छ ।

‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग खोल्न दबाव बढ्दै जाँदा इरानले त्यसलाई बेवास्ता गर्दै सैन्य कारबाहीलाई निरन्तरता दिने जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था ‘एएफपी’ ले जनाएको छ ।

इरानी सेनाले ट्रम्पको अभिव्यक्तिलाई अहङ्कारी र आधारहीन धम्की भन्दै अस्वीकार गरेको छ । हर्मुज जलमार्ग खोल्न ट्रम्पले दिनुभएको ४८ घण्टे समयसीमा नेपाली समयअनुसार भोलि बिहान पौने ६ बजे सकिँदैछ । त्यस बेलासम्म हर्मुज जलमार्गमा जहाजहरूको स्वतन्त्र आवागमन सुनिश्चित नगरे इरानको महत्त्वपूर्ण पूर्वाधार पूर्णरूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी छ ।

इरानले देशभरका युवाहरूलाई एकजुट हुन र आफ्नो समर्थन दिन अपील गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजीराकाअनुसार इरानी सरकारले विश्वविद्यालयका विद्यार्थी, कलाकार, खेलाडी र युवा सङ्गठनहरूलाई ऊर्जा पूर्वाधार आसपास मानवसाङ्लो बनाएर उभिन अपील गरेको छ ।

यसैबीच इजरायलले इरानी सैन्य पूर्वाधार लक्षित गर्दै नयाँ हवाई आक्रमण शुरू गरेको जनाएको छ । तेहरान र नजिकको कराज क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन् ।

मध्यपूर्वको युद्ध रोक्न प्रस्तावित ४५ दिने युद्धविराम अझै टुङ्गोमा पुगेको छैन । पाकिस्तान, इजिप्ट र टर्किएको मध्यस्थतामा आएको प्रस्तावलाई अमेरिकी राष्ट्रपति ट्रम्पले शुरूमा सकारात्मक सङ्केत दिए पनि पछि त्यसलाई पर्याप्त नभएको बताउनुभएको छ । इरानले पनि युद्धविराम अस्वीकार गर्दै द्वन्द्वको निश्चित अन्त्य आवश्यक रहेको जनाएको छ ।

यसैबीच अमेरिकी सांसद्हरूले संविधानको २५औँ संशोधन लागू गरेर ट्रम्पलाई पदबाट हटाउन माग गरेका छन् । यस संशोधनमा राष्ट्रपतिले सेवा गर्न नसके सत्ता हस्तान्तरण गर्न मिल्ने व्यवस्था छ । अमेरिकी संसद्को तल्लो सदनका सदस्य र माथिल्लो सदन सिनेटका सदस्यहरूले यस्तो माग गरेका हुन् । उज्यालो

          April 7, 2026 3:16 pm | विश्व


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...