प्रधानन्यायाधीशका लागि रोचक सहमतिः पहिले राजीनामा त्यसपछि शपथ!
काठमाडौं। प्रधानन्यायाधीश नियुक्तिका लागि सम्भवतः नेपालको इतिहासमै सबैभन्दा बढी किचलो यसपटक भइरहेछ। न्याय परिषद् र संवैधानिक परिषदसमेतले अनुमोदन गरेर पठाएका प्रस्तावित प्रधानन्यायाधीशको हलो संसदीय सुनुवाइ समितिमा गएर अड्किएको छ। संसदीय समितिमा समेत प्रस्तावित प्रधानन्यायाधीशको जुन कुरा परीक्षण हुनुपर्ने हो त्योभन्दा बाहिर गएर सत्तापक्ष र प्रतिपक्षको भिडन्त भइरहेको छ।
परीक्षण भन्दा पनि अल्पमत र बहुमतको जुहारी चलिरहेको छ। यही जुहारीका बीच मंगलबार रात बालुवाटारमा एउटा गोप्य बैठक भएको छ। बैठक जति गोप्य थियो त्योभन्दा त्यहाँ पाखेको खिचडीको स्वाद झनै विचित्रको छ। यहाँ यस्तो स्वादको खिचडी पाकेको छ कि त्यो बनारसको लड्डुजस्तै छ – खाने पनि पछुताउने नखाने पनि पछुताउने।
स्रोतका अनुसार मंगलबार राति बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी गोप्य बैठकमा बसे। साँझ ८ बजे उनीहरुको छलफल सुरु भएकोमा त्यो छलफल राति ११ बजेसम्म चलेको बालुवाटार स्रोत बताउँछ। बैठक हुनु छलफल हुनु सामान्य कुरा हो। छलफलबाट कुनै निष्कर्ष निस्किनु वा कुनै योजना बन्नु पनि सामान्य नै मानिन्छ। तर, मंगलबारको बालुवाटार बैठकले जुन निष्कर्ष निकाल्यो र जुन कार्ययोजना तय गर्यो त्यो सुन्दा भने आम नागरिकले आफ्नै कपाल लुछ्नेछन्।
बालुवाटार स्रोतका अनुसार नेकपाका दुई अध्यक्ष र प्रस्तावित प्रधानन्यायाधीशबीच निकै विचित्र सहमति भएको छ। सहमतिअनुसार संसदीय समितिमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदले अहिले अड्काइरहेको हलो छुटाइदिनेछन् र हालका कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशीलाई प्रधानन्यायाधीश बन्न बाटो खोलिदिनेछन्।
तर, यसवापत जोशीले एउटा शर्त मान्नुपर्नेछ। त्यो शर्त हो – उनले प्रधानन्यायाधीश भएको एक महिनामा पदबाट राजीनामा दिनुपर्नेछ। नियुक्तिको एक महिनामा पदबाट राजीनामा दिने शर्तमा उनी प्रधानन्यायाधीश बन्न पाउनेछन्।
प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सकिएकै छैन। उनले पदको शपथ ग्रहण गर्नै बाँकी छ तर उनको राजीनामा तयार भइसक्यो। बालुवाटार स्रोतको दावी अनुसार त उनले अहिल्यै एक महिनापछिको मितिमा राजीनामा बुझाएर मात्र शपथ ग्रहणका लागि जाँदैछन्। दावीमा कतिसम्म सत्यता छ यसको पुष्टि भइसकेको छैन।
यद्यपि उनले राजीनामा नै दिन्छन् भन्ने निश्चित नभए पनि एक महिनापछि राजीनामा दिने लिखित सहमति भने गर्नेछन्। उनले अहिले नै एक महिनापछिको मिति राखी राजीनामा नै बुझाउँलान् वा एक महिनापछि राजीनामा बुझाउने कुनै लिखित सहमति गर्लान् त्यो गोप्य छ। तर, उनको शपथ ग्रहण नहुँदै उनको राजीनामा भने तयार भइसकेको छ। पदबहाली नगर्दै राजीनामा तयार गर्ने जोशी सम्भवतः पहिलो प्रधानन्यायाधीश बन्नेछन्।
August 2, 2018 11:50 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना