Tuesday 31st March 2026

दोरम्बार हत्याकाण्डपछि राजतन्त्र फाल्न र गणतन्त्र ल्याउन सफल : प्रचण्ड

8 years अगाडी

रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदले बगाएको रगत र बलिदानीबाट नै देशमा कम्युनिष्टको बहुमतको सरकार बनाउन सफल भएको बताएका छन्। बिहीबार १५ औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा सहिद परिवार सम्मान कार्यक्रमलाई रामेछापको दोरम्बामा सम्वोधन गर्दै उनले यस्तो बताएका हुन्। दाहालले दोरम्बा हत्याकाण्डपछि राजतन्त्र फाल्ने र देशमा गणतन्त्र ल्याउन सफल भएको बताए। सहिदहरुको रगतले नै अहिले देशमा संघीय गणतन्त्र र हुँदै पार्टी एकीकरणमा रुपान्तरण भएको भन्दै सहिद परिवारका सदस्यलाई मन बलियो पार्न समेत अनुरोध गरे।

विश्व चर्चिक रामेछाप जिल्लाको दोरम्वा हत्याकाण्ड तत्कालीन शाही सेना र सरकारको निर्णयमा नभई दरबारको ठाडो निर्देशनमा भएको उनको भनाइ थियो। १५ वर्षअघि (२०६० साल साउन ३२ गते) आफ्नो पार्टीको २१ जना नेता कार्यकर्ताको हत्या भएको दोरम्बा हत्याकाण्डलाई आफ्नो पार्टीले विशेष रुपमा हेरेको अध्यक्ष प्रचण्डले बताए। तत्कालीन सरकार र नेकपा माओवादीबीच दाङको हापुरेमा दोश्रो शान्ति वार्ता चलिरहेको बेलामा राजनीतिक वार्तालाई बिथोली मान्छे मारेर परिवर्तनलाई रोक्ने सुनियोजित योजनामा दरबारले दोरम्बा हत्याकाण्डको मञ्चन गरेको अध्यक्ष प्रचण्डको भनाइ छ। तत्कालीन विद्रोही माओवादी र सरकारबीच दाङको हापुरेमा वार्ता चलिरहेका बेला २०६० साल साउन ३२ गते रामेछापको दोरम्बामा माओवादी जनसरकार प्रमुख बाबुराम लामासहित २१ जनालाई सेनाले हत्या गरेको थियो। सो घटनापछि माओवादीले सरकारसँगको वार्ता भंग गरेको थियो।
दोरम्बामा आफ्ना कार्यकर्ताहरुको निर्ममतापूर्वक हत्या भएको सम्झँदै पार्टी अध्यक्ष प्रचण्डले दोरम्बालाई युद्ध पर्यटकीय स्थल बनाउने घोषणा गरे।

काभ्रे, रामेछापको वेथानको पानीघाट हुँदै दोरम्वा र दोलखाको शैलुङ क्षेत्रसम्म तीन जिल्लालाई समेटेर युद्ध पर्यटकीय मार्ग बनाएर जनताको जीवनस्तर उकास्नको लागि तत्कालै आवश्यक वजेटको व्यवस्थापन गर्ने पनि अध्यक्ष दाहालले बताए। दाहालले सहिद परिवारका बालबच्चा र युद्धमा मारिएका दुवै पक्षको शिक्षा, दिक्षा र ब्यवस्थापनको जिम्मा पनि कम्युनिष्ट सरकारले नै लिने बताए। निर्वाचनको क्रममा जनताको घरदैलोमा मत माग्न जाँदा पार्टीले भने अनुसारको विकास निमार्णमा ढिलाई भएको भन्ने गुनासो आएपछि प्रधानमन्त्री केपी ओली र आपूmबीच केही दिनदेखि घनिभूत छलफल भइरहेको अध्यक्ष प्रचण्डको भनाइ छ। जनताले केही राहात पाउने गरि सरकारले छिट्टै नयाँ कार्यक्रम ल्याउने पनि उनले बताए। दोरम्बा हत्या काण्डमा तत्कालीन शाही नेपाली सेना दोषी भएको भन्दै अन्तर्राष्ट्रिय मानव अधिकार संस्था एमनेष्टी इन्टरनेसनलले पीडितलाई न्याय र पीडकलाई कार्बाही गर्न सरकारलाई सिफारिस समेत गरेको थियो।

          August 17, 2018 12:48 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...