Tuesday 31st March 2026

क्यान्सर सेन्टर स्थापना गर्न जुटे युवा चिकित्सक

8 years अगाडी

–विष्णु नेपाल

रामगोपाल, महोत्तरी, १ भदौ : क्यान्सर रोग उपचारसम्बन्धी सबै स्वास्थ्य सेवा यहाँका जनताले अव सर्वसुलभरुपमा आफ्नो घर आँगनमा नै पाउने भएका छन् । विनयतारा फाउण्डेशन अमेरिका, विनयतारा क्यान्सर ट्रष्ट नेपाल र रामगोपाल नगरपालिकाको संयुक्त सहकार्यमा क्यान्सर सेन्टर (अस्पताल) सञ्चालनमा आएपछि नगरवासीले पहिलोपटक विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पाएका हुन् । नगरपालिकाका प्रमुख अशोककुमार मण्डल, उपप्रमुख सीतादेवी साह, वरिष्ठ क्यान्सर रोग एवं शल्यचिकित्सक राकेश साहले हालै सो सेवाको शुभारम्भ गर्नुभयो । अस्पतालले विशेष गरी क्यान्सर रोगका लागि प्रदान गर्ने सेवा गुणस्तरीय हुने बताइएको छ । प्रदेश नं २ अन्तर्गत क्यान्सर रोग उपचार गर्ने यो पहिलो सेन्टर मानिन्छ । सिराहा, सप्तरी, धनुषा, महोत्तरीलगायताका जिल्लाका क्यान्सर रोगी उपचार गर्न चितवन अथवा धरान जानुपर्ने बाध्यता कम हुँदै जानेछ । क्यान्सर रोग विशेषज्ञद्वय डा विनय साह र डा राकेशकुमार साहको पहलमा जिल्लाको दुर्गम क्षेत्रमा क्यान्सर सेन्टर सञ्चालनको अगुवाइ गर्नुभएको हो ।

“सेन्टरमा आउने बिरामीले गुणस्तरीय सेवा पाउने छन्, बिरामीलाई सकेसम्म अन्यत्र पठाउने छैनौँ”, डा राकेशले भन्नुभयो । ट्रष्टले अहिले घर भाडामा लिइ अन्तरङ्ग साथै प्रयोगशाला, रेडियोजोलीलगायतका सेवा शुरु गरेको छ । शल्यक्रिया, किमोथेरापीजस्ता क्यान्सर रोगसित सम्बन्धित थप सेवा विस्तार गर्ने जनाइएको छ ।

अत्याधुनिक सेन्टर ५२ रोपनीमा : सेन्टरलाई भौतिक पूर्वाधारयुक्त भवन बनाउन नगरपालिकाले ट्रष्टलाई चार बिगाहा (करीब ५२ रोपनी) जग्गा उपलब्ध गराएको छ । चार वर्षभित्रमा सेन्टरको आवश्यक भवन निर्माण, उपकरण जडान, प्रयोगशालासहित जनशक्ति व्यवस्थापन विनय तारा फाउण्डेशन अमेरिका र विनयतारा क्यान्सर ट्रष्ट नेपालले गर्नेछन् । रामगोपाल नगरपालिकाले अनुगमन, समन्वय गर्नेछ । सो काम गर्न ती निकायका बीचमा सम्झौतासमेत सम्पन्न भएको छ । “कुन किसिमका भौतिक संरचना कसरी तयार हुन्छन्, कस्तो उपकरण रहन्छन्, कति जनशक्तिले अस्पतालमा सेवा दिन्छन् लगायतका महत्वपूर्ण कार्यको निर्णय छिट्टै सार्वजनिक हुन्छ”, ट्रष्ट नेपालका अध्यक्ष डा राकेशले भन्नुभयो ।

“क्यान्सर रोगजस्तो अति महङ्गो उपचार सेवा यहाँका जनताले घरआँगनमै सर्वसुलभरुपमा पाउन, स्वास्थ्य सेवा उपलब्ध गराउने पवित्र कार्यमा जग्गाको अभाव नहोस् भनेर हामीले नगरपालिकाको जमीन अस्पताल निर्माण गर्न दियौँ । अब ट्रष्टले छिटोभन्दा छिटो पूर्वाधार खडा गर्न काम शुरु गर्नुपर्छ”, नगरप्रमुख साहले भन्नुभयो । साविकका चार गाउँविकास समिति मिलेर बनेको यस नगरपालिकाको जनसङ्ख्या करीब ३० हजार छ । स्वास्थ्य सेवा पहुँचका दृष्टिले विगतमा ती गाविस जिल्लामा धेरै पछाडि थिए । अहिले आधारभूत स्वास्थ सेवा पाउन यहाँका बासिन्दालाई कठिनाई नै छ । “उपचार गर्न नगरवासी अन्यत्र जान नपर्ने गरी योजना बनाएका छौँ, अस्पताल भवन बनाउन जमीन दियाँै, प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापना गरी स्वास्थ्यकर्मी, उपकरण र औषधिको राम्रो प्रबन्ध लागिरहेका छौँ, वर्थिङ सेन्टर स्थापना गर्दैछौँ”, उपप्रमुख सीतादेवीले भन्नुभयो । उहाँका अनुसार वर्थिङ सेन्टर बनाउन नगरपालिकाले जमीन उपलब्ध गराउने र समाजसेवी गणेशराज सिंहले भवन तथा उपकरणको व्यवस्था गरिदिनुहुनेछ ।

सहसौला स्वास्थ्य चौकीमा कार्यरत वरिष्ठ स्वास्थ्य कार्यकर्ता (अहेव) धनबहादुर अधिकारीका अनुसार उपप्रमुख सीतादेवी हरेक दिन नगरपालिकाअन्तर्गतका स्वास्थ्य सेवाका अवस्था, समस्या बारेमा जानकारी लिएर अप्ठ्यारो आए समाधान गरिदिनुहुन्छ । “एक वर्षको अवधिमा झाडापखालाका कारण बालबालिकाको मृत्यु भएको छैन”, उहाँले भन्नुभयो । स्थायी घर रुकुम भएका अहेब अधिकारीका अनुसार गर्भवती, बालस्वास्थ्य, मातृस्वास्थ्य तथा पोषणका क्षेत्रमा धेरै सुधारको आवश्यकता छ ।

समाज सेवा पैसाले होइन, मनले गर्ने हो : “समाज सेवा पैसाले होइन, मनले गर्ने हो ।” अस्पताल स्थापना गर्न जुटेका उत्साहित डा विनय र डा राकेशले एकै स्वरमा भन्नुभयो । उहाँहरुले अस्पताल निर्माण गर्न आफ्नो केही आम्दानी दान दिने घोषणासमेत गर्नुभएको छ । दुवै यहाँका बासिन्दासमेत हुनुहुन्छ । सेन्टर निर्माण गर्न स्थानीयस्तरमा मुठीदान, सरकारीस्तरमा सहयोग र अन्तर्राष्ट्रिय आह्वान गर्ने उहाँहरुको योजना छ । “क्यान्सर रोगले उमेर, धनी र गरीब भन्दैन । जुनसुकै बेला जोकोहीलाई हुन सक्छ । विनयतारा क्यान्सर सेन्टर उत्कृष्ट क्यान्सर उपचार गर्ने सेन्टर बनाउँछौँ । हामीले देखेको सपना यही हो,” उहाँहरुले भन्नुभयो ।

विनयतारा फाउण्डेशन अमेरिकाका अध्यक्षका रुपमा डा विनयले नेतृत्व गर्नुभएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट चिकित्सा विषयमा स्नातक पूरा गरी उहाँले अमेरिकाको लंग आइल्याण्ड तथा इलिनोइस विश्वविद्यालयबाट हेमाटोलोजी अङ्कोलोजीमा उच्च शिक्षा अध्ययन पूरा गर्नुभएको छ । फाउण्डेशनले नेपालमा पहिलो पटक निजामती अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापना गर्न आर्थिक एवं प्राविधिक सहयोग जुटाएको थियो । केन्द्रमा कार्यरत चिकित्सक, नर्सलाई अमेरिकाको इलिनोइस विश्वविद्यालयमा नै तालीमका अवसरसमेत प्रदान गरेको थियो । ट्रष्ट नेपालका अध्यक्ष डा राकेश साह हुनुहुन्छ । उहाँ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा वरिष्ठ क्यान्सर रोग तथा शल्यचिकित्सकका रुपमा कार्यरत हुनुहुन्छ । चिकित्सकद्वयले अमेरिकी जनताले क्यान्सर रोगका लागि पाउनेसरहको सेवा सेन्टरलाई पु¥याउने लक्ष्य लिनुभएको छ ।

ग्राण्डी अस्पतालका जनसम्पर्क अधिकृत विनोद अधिकारी युवा चिकित्सकद्वयले स्थापना गर्न लाग्नुभएको क्यान्सर सेन्टर अनुकरणीय कार्य हो भन्नुभयो । सेन्टरका मेडिकल निर्देशकका रुपमा डा सञ्जय गुप्ताले नेतृत्व सम्हाल्नुभएको छ । चाँैतीस वर्षका अविवाहित डा गुप्ताले भन्नुभयो, “म पैसाभन्दा सेवा दिन यहाँ आएको हुँ, हेरु कति गर्न सकिन्छ ।”

विशेषज्ञ धेरै तर क्यान्सर बढ्दो : तराई–मधेशमा क्यान्सर रोगका कारण कतिले अकालमा ज्यान गुमाउँदछन् यसको कुनै आधिकारिक तथ्याङ्क कुनै निकायसित छैन । विशेष गरी सूर्ती, गुट्खा, धूमपान, मदिरापान आदि कारणले हुने विविध प्रकारका क्यान्सर तराई–मधेशमा बढी हुने बताइन्छ । महिलाको पाठेघर, स्तनमा हुने क्यान्सर रोगीको मात्रा यही क्षेत्रमा बढी हुने अनुमान छ ।

जनकपुरस्थित निजी अस्पतालमा कार्यरत वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा अवधेशकुमार साह तराई–मधेशका जिल्लामा कति क्यान्सर रोगी छन् भनेर हालसम्म कुनै पहिचान नभएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कति बिरामी त अन्तिम अवस्थामा आउँछन् ।” अर्का क्यान्सर रोग विशेषज्ञ डा सन्तोषकुमार पञ्जियार मुखका क्यान्सरको सङ्ख्या तुलनात्मकरुपमा तराई–मधेशमा बढिरहेको बताउनुहुन्छ । नेपाल चिकित्सक सङ्घका अनुसार नेपालमा रहेका क्यान्सर रोग विशेषज्ञमध्ये करीब ५० प्रतिशत प्रदेश नं २ अन्तर्गतका छन् ।

          August 17, 2018 1:32 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...