Tuesday 31st March 2026

हवाई दुर्घटना : बीमा रकम कसरी आठगुणाले बढ्दैछ

8 years अगाडी

काठमाडौँ । हवाई दुर्घटनाका पीडित परिवारले बीमाबापत पाउने रकम आठगुणाले बढाउनका लागि नागरिक उड्डयनसम्बन्धी महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मोन्ट्रियल महासन्धिलाई नेपालले अब चाँडै अनुमोदन गर्न लागेको अधिकारीहरूले बताएका छन्।हवाई परिवहन विषयक नियमहरू एकीकरण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको उक्त महासन्धि नेपालमा दर्ता भएका अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूका लागि लागु हुनेछ।

साथै यसले उडानमा हुने ढिलाइका बारेमा समेत सम्बोधन गर्ने बताइएको छ। सन् १९९९ देखि लागु भएको उक्त महासन्धि अनुमोदन भएमा नेपालको हवाई उडान क्षेत्रको ठूलो उपलब्धि हुने विज्ञहरू बताउँछन्।हाल हवाई दुर्घटनामा भएको मानवीय क्षतिका लागि पीडितका परिवारलाई वार्सा महासन्धि र हेग प्रोटोकलअनुरूप विमान कम्पनीहरूले बीमा रकम २० हजार अमेरिकी डलर दिँदै आएका थिए।सरकारले अन्तराष्ट्रिय हवाई उडानसम्बन्धी मोन्ट्रियल महासन्धि अनुमोदन नगरेकाले बीमामा अत्यन्त न्यून रकम भएको बताउने गरिएको थियो।

विभिन्न क्षेत्रबाट अनुमोदनका लागि दबाव दिइएपछि अहिले त्यो संसद्‌मा अनुमोदनको अन्तिम चरणमा रहेको अधिकारीहरूको भनाइ छ।अनुमोदनलगत्तै बीमाबापत हाल पीडितका परिवारले पाउँदै आएको रकम आठगुणाले बढ्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए।उनले भने, हेग प्रोटोकलअनुसार यात्रुको मृत्यु भयो भने २० लाख डलर, सामानहरू नष्ट भए वा हराए त्यसको प्रतिकिलो २० डलर थियो। यो महासन्धि अनुमोदन हुनासाथ मृत्यु भएमा एक लाख ६० हजार डलर र सामानको प्रतिकिलो २४ डलर पर्न आउँछ। तोकिएको समयमा उडान नभएर पुग्ने क्षतिलाई पनि यसले सम्बोधन गरेको छ।यसका अतिरिक्त उक्त क्षतिपूर्ति चित्त नबुझेमा मृतकको जागिरको बाँकी अवधि अनि उसको आश्रित परिवारको सङ्ख्याका आधारमा थप क्षतिपूर्तिका लागि अदालतमा जाने व्यवस्थासमेत रहेको बताइएको छ।

          August 23, 2018 12:19 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...