नेवार समुदायले क्वाँटी खाने पर्व गुँपुन्ही मनाउँदै, भ्यागुताको पूजा गरी भोज
लक्ष्मी गारु
भक्तपुर । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज हर्षोल्लासका साथ नेवार समुदायले गुँपुन्ही पर्व धुमधामका साथ मनाउँदैछ।नेपाल सम्बतमा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात नवौँ महिना हो। गुँलामा पर्ने भएकाले यसको नेवारीमा नाम गुँपुन्ही रहन गएको र नवौँ महिना भएकोले पनि नेवार समुदायले कम्तीमा विभिन्न प्रकारका नौ थरी गेडागुडीको मिश्रण क्वाँटी खाने गरेको हो।
यही प्रचलन नेवार समुदायबाट बिस्तार भएर अन्य समुदायले पनि आजको दिन क्वाँटी खाने प्रचलन चलेको हो। क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भट्मास, मकै, बकुल्लालगायत कम्तीमा नौ थरी गेडागुडीको मिश्रणबाट बनेको हुन्छ। क्वाँटी खाने पूर्णिमा भएकाले नेवार समुदायले आजको दिनलाई क्वाँटी पुन्ही पनि भन्ने गरिन्छ।
क्षेत्री बाहुनलगायतका समुदायले भने विशेषगरी एकादशीको दिन भिजाएर टुसा उम्रिएको गेडागुडीको परिकार क्वाँटी खाने गर्दछ। यसले शरीरमा ताप उत्पन्न हुने र वर्षायाममा लाग्ने चिसोको रोगबाट बच्ने, दूषित पानीका कारण लाग्ने रोग व्याधीले कमजोर पारेको शरिरलाई तागत दिने गर्दछ।रोपाईं र धान खेत गोडमेलको बेला तथा वर्षात्को मौसम भएकाले तातो पोषणयुक्त आहारले शरिरलाई ताजगी बनाउने भएकाले पनि नेवार समुदायमा आहार विज्ञान अनुसार जनै पूर्णिमामा क्वाँटी खाने प्रचलन रहेको संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताए।
“खाद्यान्न विज्ञान र प्रकृतिको अनुपम मिलन नेवारी संस्कृतिमा रहेको छ। नेवार समुदाय मौसम अनुसारको चाडपर्व मनाउने र सोही अनुसारका खानेकुरा खाने गर्दछन् यसको एउटा उदाहरण श्रावण शुक्ल पूर्णिमामा क्वाँटी खाने प्रचलन हो,” उनले भने।नेवार समुदायले आज विभिन्न कुण्डहरुमा गई स्नान गर्ने र विशेषगरी महादेवको दर्शन गर्ने र हातमा रक्षाबन्धनको प्रतीक डोरो लगाउने गर्दछ। नेवार समुदायले पञ्चतत्व अर्थात होम गर्दा हाल्ने तत्वसहितको डोरो बाँध्ने प्रचलन रहेको छ। जसले भुत, प्रेत, पिशाच र मृत्युको भयबाट जोगाउने विश्वास गरिन्छ।
भ्यागुताको पूजा गर्दै किसान
श्रावण शुक्ल पूर्णिमाको अवसरमा गुँपुन्ही मनाउँदैं नेवार समुदायका किसानहरुले आज वर्षा गराउन मद्दत गर्ने जीव भ्यागुताको समेत पूजा गरी उसलाई भोजन गराउँदैछन्।किसानहरुको मुख्य बाली धान लगाउने बेला पानी पार्न मद्दत पुर्याउने जीवको रुपमा भ्यागुतालाई लिने गरिन्छ। किसानहरुले प्राकृतिक देवताका रुपमा भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाएर भ्यागुतालाई पुज्ने गर्दछन्।
वर्षा गराउने दूत तथा खेतबारीको शत्रु कीरा मारेर अन्न उब्जाउन सहयोग गर्ने प्राकृतिक देवताका रुपमा सिमीको पातमा चामल, रोटी, क्वाँटी, मुलाको ऐना र विषेश प्रकारको सुपारीलगायतका खाद्य परिकार राखेर खेत खेतमा गई किसानहरुले भ्यागुतालाई पूजा गर्ने तथा भोजन गराउने परम्परा रहेको प्रा डा श्रेष्ठले बताए। जसलाई स्थानीय भाषामा ब्याँचा जाः नक वनेगु भनिन्छ।“मानिसको महान गुरुहरुमध्ये भ्यागुता पनि एक हो । त्यसैले आजको दिन गुरुलाई पुज्ने अवसरको रुपमा लिई नेवार समुदायले भ्यागुता पूजा गरी धानबारीसम्म गई खाना खुवाउने प्रचलन बसेको हो ।” उनले भने।
August 26, 2018 11:13 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै