Monday 30th March 2026

सावधान, लमजुङमा नक्कली नोट छ्यापछ्याप्ती : भेटियो एकै नम्बरका दुई नोट !

8 years अगाडी

एउटै नम्बर अंकित हजार रुपैयाँ दरका नक्कली नोट बेंसीसहरमा छ्यापछ्याप्ती देखिएको छ ।नक्कली नोट बारम्बर भेटिन थालेपछि आर्थिक कारोबारमा संलग्न ग्राहक तथा वित्तीय संस्था सतर्क भएका छन् । नक्कली नोट सहकारी र बैंकसम्म पुगेका छन् ।केही बैंकबाट सहकारी हुँदै ग्राहकबाट अर्को बैंकसम्म पुगेको छ ।

एउटै नम्बरका नोटमा अघिल्लो भागको दायाँतर्फ ‘च’ को मुनि २५ र ३१४१४३ र बायाँतर्फ ‘च’ को मुनि २५ र ३१४१३४ अंकित छ । यो खबर बेंसीसहर नगरपालिका ८, शेराका ईश्वरकुमार श्रेष्ठले अन्नपूर्ण बचत तथा ऋण सहकारीबाट हजारका सयवटा नोट रहेको १ लाखको बन्डल राष्ट्रिय वाणिज्य बैंकमा लैजाँदा त्यसमा एउटा नक्कली नोट फेला परेको बताए ।उनका अनुसार उक्त नोटमा सनराइज बैंकको छापसहित टाँचा लागेको थियो । बैंक प्रबन्धक मानबहादुर खत्रीका अनुसार ग्राहकले सुन चुक्ता गर्न ल्याएको बन्डलभित्र एउटा नक्कली नोट फेला परेको हो । ‘नक्कली नोट जफत गरेर राखेका छौं । राष्ट्र बैंकमा पठाउँछौं,’ उनले भने ।

मेगा बचत तथा ऋण सहकारीका प्रबन्धक सुमन सुवेदीका अनुसार बजारमा किस्ता संकलन गरेर आएका प्रतिनिधिबाट हजार दरका २ थान नक्कली नोट सहकारीमा आइपुगेको थियो । दुवैको एउटै नम्बर छ ।‘मंगलबार र बिहीबार बेंसीसहर क्षेत्रबाट उठाइएको किस्तामा नक्कली नोट आयो,’ उनले भने, ‘यसलाई खिचेर राखेका छौं । अब बैंकमा बुझाउँछौं ।’ उनका अनुसार नक्कली नोटमा लालीगुराँसको छायासमेत छैन । झिलिझिली स्टिकरमा एनआरबी (नेपाल राष्ट्र बैंक) लेखिएको छैन । पेपर क्वालिटी कमजोर छ । ‘फिल्डका साथीले पैसा उठाएर ल्याएपछि म आफैं गन्छु,’ उनले भने, ‘गन्दागन्दै शंका लाग्यो, हेर्दा नक्कली रहेछ ।’

बुधबार बेंसीसहरकै संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाबाट जम्मा गर्ने भनी रिलायन्स फाइनान्समा बुझाएको रकममा १ हजार दरको नक्कली नोट फेला परेको हो । फाइनान्सका प्रबन्धक विशाल जोशीका अनुसार बिहीबार उक्त रकम फेला परेको थियो । नबिल बैंकका सहायक प्रबन्धक नारायणप्रसाद आचार्यले ग्राहकले बुझाएको रकममा हजारको नक्कली नोट फेला परेको तर कसले दिएको थाहा नभएको बताए ।मस्र्याङ्दी गाउँपालिका ६, ठूलीबेंसीका निर्मल थापाका अनुसार उनका साथी गोविन्द गुरुङलाई १ लाख रुपैयाँको चेक साट्न पठाएकामा बैंकले दिएको रकममै एउटा हजार दरको नक्कली नोट फेला परेको बताए ।

नारी बचत तथा ऋण सहकारी संस्थाकी गीता अधिकारी थापाले नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्सकुन) को बेंसीसहरस्थित फिल्ड कार्यालयबाट सहकारीमा ल्याएको १ लाख रुपैयाँको प्याकमा हजारको एउटा नक्कली नोट भेटिएको बताइन् ।उनका अनुसार उक्त नोटको प्याकमा गण्डकी विकास बैंकको छाप लगाइएको छ । लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले नक्कली नोटकको बिगबिगीले व्यवसायीलाई समस्या परेको बताए ।‘नक्कली नोट बजारमा देखिएको छ । पैसा आउने ग्राहकबाट व्यवसायीलाई हो । कसले कसरी ल्याउँछन् र दिन्छन्, थाहा हुँदैन,’ उनले भने, ‘छामेर पत्ता लगाउनुपर्ने, सबैको ख्याल नपुग्न सक्छ ।’

          September 8, 2018 4:04 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...