Sunday 29th March 2026

बेनी-जोमसोम सडकमा पहिरो : तीर्थयात्री र पर्यटकको बिचल्ली

8 years अगाडी

मुस्ताङ । बेनी-जोमसोम सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेपछि यहाँ आएका तीर्थयात्री र पर्यटकको बिचल्ली भएको छ। सडक अवरुद्ध भएर सवारी साधन चल्न नसकेपछि जिल्ला भ्रमणमा आउने पर्यटक, मुक्तिनाथ दर्शनका लागि आउने यात्री र स्थानीयवासीलाई आवतजावतमा समस्या भएको हो। दर्जनौँ ठाउँमा पहिरा जानुका साथै हिलो, कटान र बाढीले सडक अवरुद्ध बनाएपछि यात्रु गन्तव्यमा पुग्न नसकेर अलपत्र परेका छन्। म्याग्दीको रुप्से र मुस्ताङको घाँसादेखि लेते सडक खण्डको धेरै ठाउँमा अवरुद्ध भएकोे छ।

छयत्तर किलोमिटरको उक्त सडकमा गाडीबाट यात्रा गर्न सर्वसाधारणलाई तीन दिनसम्म लागेको स्थानीयबासीको गुनासो छ। यसैबीच सडक अवरुद्ध बनेपछि अलपत्र बनेका भारतीय तीर्थयात्रीलाई बिहीबार हेलिकप्टरबाट उद्धार गरिएको छ। प्रभु एयरको हेलिकप्टरले दानादेखि बेनी ल्याएर करीब एक सय भारतीय तीर्थयात्रीको उद्धार गरेकोे दानाबाट स्थानीयवासी इन्द्रसिङ शेरचनले जानकारी दिए। मुस्ताङका कृषकले उत्पादन गरेको स्याउ ढुवानीमा समस्या भएकाले कृषक निराश बनेका छन्।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका लागि ल्याइएका डोजर परिचालन गरेर सडक मर्मतको काम गरिए पनि धेरै ठाउँमा पहिरो गएकाले केही दिनलाग्ने आयोजनाका इञ्जिनीयर प्रदीप निरौलाले बताए। पहिरोले लेते खोला नजिकै करीब दश मिटर सडक बगाएको छ भने बेलिब्रिज कटानको जोखिममा परेको छ।  कुन्जोमा स्वास्थचौकी तथा आमा समूहको भवन पूर्णरूपमा क्षति पुगेको छ। थासाङ गाउँपालिका–२ सौरुमा बाढीले दश घरमा क्षति पुर्याएको गाउँपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचनले बताए। पहिरो पन्छाएर सडक मर्मत र पहिरो प्रभावितको व्यवस्थापनका लागि पहल गरिएको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए।

          September 14, 2018 11:53 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...