मेलम्ची । लागूऔषधका कारण गाउँबस्तीमा आपराधिक घटना बढिरहेका बेला सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले गाँजाखेती नष्ट गर्न थालेकोे छ।
पछिल्लो एक सातामा जिल्लाका विभिन्न स्थानमा गरी प्रहरीले २५ सय गाँजाका बोट नष्ट गरेको हो। अपराध न्यूनीकरणका लागि ‘स्कूल–स्कूलमा प्रहरी’ अभियान शुरु गरेको उक्त कार्यालयले जिल्लाको ठूलोपाखर, जेठल, इर्खु र भोटेचौरमा गरी करिव २५ सय गाँजाका बोट नष्ट गरिएकामा ठूलोपाखरमा एक हजार ५००, भोटेचौरमा ७००, इर्खुमा १५० र जेठलको मुडेमा १०० बोट गाँजा नष्ट गरिएको उक्त कार्यालयले जनाएको छ।
“समाजमा आपराधिक घटना बढिरहनुमा गाँजा एउटा प्रमुख कारण हो”, जिल्ला प्रहरी प्रमुख मुकुन्द मरासिनीले भने, “अब गाउँबस्तीमा समेत पुगेर प्रहरीले गाँजा नष्ट गर्नेछ।” चोरी, डकैती, यौन हिंसाका घटना र सवारी दुर्घटनाका घटना लागूऔषधकै कारण बढिरहेको प्रहरी अनुमान छ।



