Friday 27th March 2026

अग्ला र लामा पुल भएको जिल्लाको नामले परिचित पर्वतमा दुई जिल्ला जोड्ने नेपालकै लामो पुल बन्दै

7 years अगाडी

पर्वत। अग्ला र लामा पुल भएको जिल्लाको नामले परिचित पर्वतमा दुई जिल्ला जोड्ने गरी फेरि अर्को नेपालकै लामो र अग्लो पुल बन्ने भएको छ।पर्वतको कुश्मा नगरपालिका–१ पाङ्गदेखि बागलुङको बागलुङ नगरपालिका–१ रामरेखा जोड्न कालीगण्डकी नदीमाथि नेपालकै लामो पुल निर्माणका लागि प्राविधिक हिसाबले सम्भव देखिएपछि निर्माण प्रक्रिया शुरु भएको हो। बागलुङ नगरपालिका–१, रामरेखास्थित शहीद पार्कदेखि पर्वतको पाङ्गको अदुवाबारी जोड्ने गरी ५६७ मिटर लामो पुल निर्माणका लागि प्राविधिक हिसाबले सम्भव देखिएको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिए।

पुल निर्माणका लागि सस्पेन्सन ब्रिज डिभिजन कार्यालयको प्राविधिक टोलीले शुक्रबार गरेको नाप जाँचका क्रममा पुल निर्माण प्राविधिक दृष्टिले सम्पन्न गर्न सकिने इञ्जिनियर हुमानाथ मिश्रले जानकारी दिए।विसं २०५९ देखि पुल निर्माणका लागि विभिन्न चरणमा छलफल, बहस र नाप जाँच भए पनि लट्ठा तान्ने प्रविधि नेपालमा नभएका कारण काम अघि बढ्न सकेको थिएन। कुश्मा र बागलुङ नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि पुल निर्माणका लागि केन्द्रीय तहमा पहल भएको थियो। पुल निर्माणका लागि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र सांसद पदम गिरीको पनि विशेष पहलमा प्राविधिक टोलीले पुल निर्माणको सम्भाव्यता अध्ययन गरेको हो।

चाइनिज प्रविधिको लट्ठा तान्ने मेसिन भित्रिएपछि शहीद पार्कदेखि आदुवाबारीसम्म पुल निर्माण गर्न सकिने इञ्जिनियर मिश्रले जानकारी दिए।विस्तृत सर्वेक्षणबाट पुलको लम्बाइ करीब ५६७ मिटर हुनेछ भने उचाइ १६० मिटर हुने भएको छ। यो अहिलेसम्म पर्वतका निर्माण भएका चारवटै पुलभन्दा पनि अग्लो हुने भएको छ। कालीगण्डकी नदीमाथि निर्माण हुने उक्त पुललाई बागलुङ बजारको व्यावसायिक भविष्यसँग जोडेर हेर्ने गरिएको छ। पुल निर्माण भएपछि कुश्मा नगरपालिका–१ पाङ्ग, २ खुर्कोट, जलजला गाउँपालिका–९ बनौ र ८ नाङलिवाङका बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन्। यि क्षेत्रका बासिन्दाको आर्थिक तथा व्यावसायिक कारोबार बढी मात्रामा बागलुङ बजारमै हुँदै आएको छ।

          September 30, 2018 11:24 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...