Friday 27th March 2026

थारू समुदायका महिलाले आज जितिया पर्व मनाउँदै, राष्ट्रपतिले दिइन् शुभकामना

7 years अगाडी

काठमाडौं, १६ असोज । आदिवासी थारू समुदायका महिलाले आज जितिया पर्व मनाउँदैछन् । आजदेखि तीन दिनसम्म जितिया पर्व मनाइन्छ ।मुख्यतः नवलपरासी पूर्वको तराईका जिल्लामा पर्व मनाउने गरिएको भए पनि पछिल्ला वर्षमा काठमाडौँमा समेत यो पर्व मनाउन थालिएको छ । हिन्दू नारीले तीजमा जस्तै थारू महिलाले पनि प्रत्येक वर्ष असोज कृष्ण पक्ष सप्तमीदेखि नवमीसम्म जितिया मनाउँछन् ।परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै आपसी प्रेम साटासाट गरेर जितिया मनाइन्छ । सोमबारराति दर अर्थात् लाहा खाने, अष्टमीका दिन आज उपवास बसी जितमहानको कथा सुन्ने, गाउँका महिला जम्मा भएर मौलिक नाँच झमटा प्रदर्शन गर्ने गरिन्छ ।

नवमीमा जितमहान बाबा र घरको कुलदेवताको पूजाआजा गरी जितिया समाप्त हुने थारू विद्यार्थी सभाका केन्द्रीय सहसंयोजक प्रेमा चौधरीले बताइन् ।यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीच एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्‍याइरहेका चाडपर्वका मौलिकता जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक रहेको बताएकी छन् । जितिया पर्वका अवसरमा शुभकामना सन्देश दिँँदै बहुजाती, बहुभाषा, बहुसंस्कृति आदिले विविधतायुक्त हाम्रो मुलुकमा मनाइने विभिन्न चाडपर्वले आफ्नै मूल्य र मान्यतासहित संस्कृति, कला, वेषभूषा, गीत सङ्गीतलाई संरक्षण गर्ने कुरा नेपालीको मौलिकता बनेको उल्लेख गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नेपाली महिलाले पारिवारिक सुख, खुशियाली र सन्तानको दीर्घजीवनको कामना गर्दै मनाइने सांस्कृतिक यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनीमा सुख, शान्ति एवं समृद्धि कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गरेकी छन्

          October 2, 2018 11:00 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...