Tuesday 23rd December 2025

प्युठानमा प्रहरीकै अगाडि प्रेमी-प्रेमिकाले गरे आत्महत्या

8 years अगाडी

असार ४, प्युठान । हाडनाताभित्रै प्रेम सम्बन्ध राखेको भन्दै अभिभावकहरूले प्रहरीमा उजुरी दिएपछि एक जोडीले प्रहरीकै अगाडि आत्महत्या गरेका छन् ।झिमरुक गाउँपालिका–५ ओखरकोट नेपाने प्युठानका २३ बर्से शिरबहादुर जिसी र १७ वर्षीय श्रृष्टि जिसीले प्रेम सम्बन्ध राखी विवाह गरेको थाहा पाएपछि अभिभावकले इलाका प्रहरी कार्यालय मच्छीमा उजुरी दिएका थिए । यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

गाउँमै रहेका शिरबहादुर नेपालगन्जमा १२ कक्षामा पढ्दै गरेकी प्रेमिकालाई भेट्न गएका थिए । कृष्णनगर हुँदै भारत जाने क्रममा अभिभावकले प्रहरीलाई खबर गरेपछि सिमानाबाट माइती नेपालले उनीहरूलाई प्युठान फकाइदिएको थियो । दुवै पक्षबीच इलाका प्रहरी कार्यालय मच्छीमा छलफल भएको थियो । तर, छलफल टुंगोमा नपुगेपछि जिल्ला उनीहरूलाई प्रहरी कार्यालय खलंगा लगियो ।

इलाका इन्चार्ज प्रहरी नायब निरीक्षक जीवन शाहले एक प्रहरी जवानको जिम्मा लगाएर केटा/केटीलाई जिल्ला पठाएका थिए । प्रहरीसँगै सदरमुकाम आउँदै गरेका जोडीले विष सेवन गरी आत्महत्या गरेका हुन् ।

खलंगास्थित खानेपानी चोकमा ओर्लेर पानी पिएका जोडी प्रहरी कार्यालयमै लडेका थिए । प्रहरीले अस्पताल पुर्‍याए पनि उनीहरूको मृत्यु भएको छ । प्रहरीले विष सेवन गरेर उनीहरूको मृत्यु भएको बताए पनि आफन्तहरूले प्रहरीको नियन्त्रणमा भएका बेला कसरी विष सेवन गरे भन्दै सुरक्षाकर्मीले हेल्चक्रयाइँ गरेको आरोप लगाएका छन् ।

आफन्तले इलाका प्रहरी कार्यालय मच्छीमा कार्यरत इन्चार्ज जीवन शाहलाई कारवाही र पीडितलाई उचित राहत दिनुपर्ने माग राखेका छन् । ‘प्रहरीकै अगाडि कसरी विष सेवन गरियो ? ’, केटीको मामा नाता पर्ने केशर खड्काले भने, ‘मच्छीबाट जिल्ला लैजाँदा प्रहरीले खेलवाड गर्‍यो ।’

दोषीलाई कारवाहीको माग गर्दै आफन्तले शनिबार झण्डै चार घण्टा मच्छी–बाग्दुला सडक अवरुद्ध पारेका थिए । मच्छीमा भएको छलफल निष्कर्षमा नपुगेपछि दुवै पक्षबीच आइतबार जिल्ला प्रशासन कार्यालय प्युठानमा वार्ता भएको छ । छलफलका लागि मच्छी पुगेका प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरे र प्रहरी नायब निरीक्षक राजेन्द्र पोखरेलले घटनामा प्रहरीको त्रुटि देखिएको स्वीकारे ।

‘इन्चार्ज जीवन शाहलाई कारवाहीस्वरूप जिल्ला ल्याएका छौं’, डीएसपी पोखरेलले भने, ‘तत्कालका लागि मच्छीमा पुँजा लिवासेमा कार्यरत सई गंगाधर केसीलाई खटाएका छौं ।’ आफूहरूको मागप्रति सरकार गम्भीर नबने शव नबुझ्ने आफन्तहरूले चेतावनी दिएका छन्। शवलाई जिल्ला अस्पताल विजुवारको ‘शवगृह’ मा राखिएको छ । अन्नपूर्ण पोष्ट

          June 18, 2018 12:07 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...