जन्म भुमिको याद (भाग १)
‘जन्म भूमि’ भाग -१
कस्तो भए होला???
“त्यो बालुंगा, त्यो दमार, त्यो सिमल कस्तो भए होला? “
…जसले जन्मायो त्यहीं, हुर्कायो त्यहीं, असल संस्कार सिकायो त्यहीं, ज्ञान, बुद्दि, बिवेक दियो, यहां सम्म आउने गोरेटो देखायो, अझ भनौ मातृभूमिको माया गर्न सिकायो…
…घरी घरी सपनामा अनि विपनामा पनि आईरहने, वर्तमानलाई चटक्कै विर्सिएर वाल्यकाललाई ताजा वनाईदिने, ऑंखाकै अगाडी झिलीमिली गर्दै आउने ती अतीतहरू…
•••”गाँउभरीका गाईवाख्रा अनि गोठालाहरूको एकमात्र गन्तव्य; मन्दीरमा धर्मावलम्विले बजाएका घन्टिको धून भन्दा कैयन गुणा बढी सुमधुर बन पाखा घन्काउने गाई बाख्राको घाटीमा झुण्डाईएका घण्टीहरूको आवाज;
घाँस दाउरा स्याउलाको लागि गएका काईलि भाउजु, टाकुरे दीदी र परकी ठूलि आमाले गाउने पाखानै घन्किने कुनै लोक गायीकाको भन्दा कम नहुने लोक गित;
दिनदाहाडै वन पहरा थर्काउने, एकान्त मौका छोपी चर्न गएका पार्तीरका गाई बाख्राको गर्दनमा झम्टीई खुन चुसी अघाई आफूलाई बहादूर सम्झी गाँउ वस्ती तथा पखेरा तर्साउने गरी कराउने चितुवा;
धमिराका देवल फोडी धमिराको शिकार गरी आफ्नो आहार वनाउने, काँईला दाईले दुख गरी फलाएको घर भित्राउने वेलाको मकै तथा अरू केही नभेटे मानिसलाइ पनि आक्रमण गर्न पछि नपर्ने ती भालू वस्ने जंगल;
साईलो दाईको पर बारीमा फलेका मकै, साईलि भाउजुले पालेका कुखुराको दिन दाहाडै घाटी निमोठी, चोलनाथ वुवाको ढिकमुनीको वारीका मकै राती राती चोरी खाई मस्तले सुत्ने ती स्यालहरूको गुफा;
हिडेर छिचोल्नै नसकिने, लगाएको टोपी नै खोसेर आफै लगाउने ती कॉंडाहरू, हात खुट्टामा चिथोरेर रगताम्य वनाउने ती खोलेकाठ, धारने, तिल्केनि, धयरी, कटंस, मौवा, विलाउने र चिलाउनेको जंगल;
सिस्नोले पोल्दा तीते पाती तीते पाती भन्दै पोलेको ठाँउमा दलि पिडा कम वनाउने प्राकृतिक एनेस्थेसीया, बाँझो बारीनै ढाक्नेगरी फैलिएको तीते पाती र वनमाराको झाडि;
हातभरी कॉंढाले गोवेर छीया छीया (प्राकृतिक अकूपेन्चर) पार्दा पनी खाईरहन मन लाग्ने ती सुनका दाना जस्ता ऐशेलु;
चितुवा, भालू, स्याल कुनै जंगली जनावरको डरलाई बिर्साई आकर्सीत पार्ने त्यो पारी तीखे चुली भन्दा अलि तलको जंगलको त्यो मीठो खल्लुक;
रातो कालो, मनै लोभ्याउने गरी सानो सानो हांगाको टुप्पोमा फल फलाई टिप्न जादा हांगा नै भांचिई भूईमा लडाउने ती काफल;
कुनै मिनीरल वाटरको बोतल तथा जारको पानी भन्दा कैयन गुणा स्वच्छ, पहराको मुटुबाट रसायको कलकल बग्ने पानीको मुहान;
खुन पिउन लालायीत खुट्टा नै वेर्ने गरी द्रूत गतिमा आक्रमण गर्ने,गाईवस्तुको नाकमा सासै फेर्न नमिल्ने गरी झुम्मिने ती असंख्य जुकाहरुको खानी;
घर भन्दा पनी ठूला ठूला, कहां वाट आएहोलान्, कसरी वनेहोलान्, अचम्म लाग्ने ती वस्ने ढुंगाहरु;
गोठालाहरूको हाफ पाईन्टको पछाडी २ वटा प्वाल पारिदिने, मनोरन्जनको साधन वनी एक किसीमको उत्साह, उमंग, प्रेरणा तथा मनोरन्जन दिने त्यो घुसेली खेल्ने ढुंगाहरु;
वर्षातमा सवै गोठाला तथा गाई वाख्रा समेत वस्ने ओतलाग्न मिल्ने ती ओढार;
चर्न गएका सबै गाईवस्तु वसेरै नियाल्न सकिने पैंया ढुंगो;
बाढी आएको बेला स्याउलाले थुनथान पारेर कम्मर कम्मर पानी आउने वनाई पौडी खेल्ने त्यो रह (प्राकृतिक स्विमिंग पूल);
देविप्रसाद, स्व. विनिमहादेव, चोलनाथ, फर्सूराम बुवाहरूले हामीलाई वरीपरी राखी गाई बाख्रा फर्काईदिने सर्त राखी दन्त्य कथा सुनाउने ती ठूला ढुंगाहरू;
ठूला ठूला जुरो भएका वलिया वलिया गोरूहरू जुधाउने सिस्नेरी कांईलाको घाँसे मैदानमा परीणत बारीका ती बाँझापाटाहरू;
समय व्यतीत गर्न तथा मनोरन्जनको लागी खेलिने बाघ चाल, बुद्दि चाल, गाढ लौरी जस्ता खेलहरू खेल्ने ती ठाँउहरू;
हंसीयाको चुच्चो नै मेटीने गरी ढुंगामा एक आपसमा प्रतिशपर्धा गरी खोपेर लेखीएका आफ्नो नाम तथा छाडिएका ती निसानहरू;
तथा सम्पूर्ण प्राकृतिक छटाले भरिपुर्ण भएको त्यो…
…झोर्के
कस्तो भयो होला???
त्यो झोर्के कस्तो भयो होला???”
“जननि जन्म भूमिश्च स्वर्गादपी गरियसी”
••••••
नवीन पौडेल , रैनादेबी छहरा गाउपालिका , पाल्पा – हाल , नेपाल पोलिस मा कार्यरत , पद – इन्स्पेक्टर ।।
September 13, 2018 11:51 pm | साहित्य