Wednesday 24th December 2025

गुल्मी, अर्घाखाँची र पाल्पा हेर्ने गरि स्थापना भएको पूर्वाधार विकास कार्यालयको उद्घाटन सम्पन्न

7 years अगाडी

रमेश विश्वकर्मा-
गुल्मी- गुल्मी ,अर्घाखाँची र पाल्पा हेर्ने गरि स्थापना भएको पूर्वाधार विकास कार्यालयको ५ नं. प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले आज सदरमुकाम तम्घासमा उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बरालले जनतालाई दैनिक सेवाहरु सर्वसुलभ बनाउने उद्देश्यले स्थापना भएको यस कार्यालयलाई गुल्मी जिल्लामा ल्याउन सहयोग गर्ने सबै पक्षलाई बधाई दिंदै तीन जिल्लालाई प्रदान गरिने सेवामा सुशासन, पारदर्शिता कायम गर्न सबै पक्षसँग आग्रह समेत गरेका हुन् ।

साथै उनले भने: ‘‘एउटा सरकारी कार्यालय खोल्नुका पछाडि सम्बन्धित क्षेत्रको आर्थिक वृद्धिलाई अगाडि बढाउने, समस्याहरुलाई नजिकबाट नियाल्ने र समस्या समाधान गरेर अगाडि बढाउन मद्दत गर्ने, सही रिपोटिङ्ग गर्ने, काम कारबाहीको सही ढङ्गले अनुगमन हुने स्वभाविक रुपमा कार्यालय जति नजिक आउँछ त्यसको प्रत्यक्ष प्रभाव पर्ने र त्यसले सम्बन्धित क्षेत्रको आर्थिक गतिविधिको केन्द्रको रुपमा स्वरुप निर्धारण गर्दछ ।’’

यो कार्यालय गुल्मीमा ल्याउन ठुलो प्रयत्न गरेको र कार्यालय गुल्मीमा ल्याएर गुल्मीवासी हामी सबैको लागि हर्षको विषय समेत रहेको मन्त्री बरालले बताए । प्रदेश सरकारका विभिन्न एकाईहरुलाई अगाडि बढाउने प्रक्रियामा यो कार्यालय गुल्मीमा ल्याएको मन्त्री बरालले बताए । पाल्पा, अर्घाखाँचीमा पनि सहायक कार्यालय स्थापना गरेर भएपनि सेवा प्रवाहलाई द्रूत गतिमा अगाडि बढाउनको लागि प्रदेश सरकार गम्भीर भएको बताए । निकै दुर्गम क्षेत्रसम्म सरकार पुग्ने, सेवा प्रवाह गर्ने योजना र नीति अनुसार यो कार्यालय गुल्मीमा ल्याउन हामी सफल भएको उनले बताए ।

मन्त्री बरालले हामी प्रदेश सरकारका विभिन्न संरचना निर्माण गर्ने क्रममा विभिन्न जनशक्तीको अभाव, कार्यविधि र निर्देशिकाको अभाव, ऐनको अभाव भएता पनि त्यसलाई चिर्दै विस्तारै ति अभावहरु पूर्ति गर्दै अगाडि बढिरहेका छौं भने ।
अहिले भर्खरै यस कार्यालयले सबै काम गर्न नसके पनि हामी क्रमिक रुपमा अगाडि बढाउने छौं भने ।

यो बर्षको झण्डै २९ अरब वजेट भएको र त्यो वजेटलाई सही ठाउँमा कार्यान्वयन गर्ने मन्त्री बरालले बताए । उनले भने विकासका कार्य गर्न हामीले केन्द्रीय सरकार र स्थानीय सरकारसँग सहकार्य गरेर अगाडि बढ्छौं ।

प्रदेशलाईआवश्यक पर्ने कानुन निर्माण गरेको, विधेयकका मस्यौदाहरु पनि तयार गरेको समेत बताए । प्रदेश सरकारको निर्णय र संरचनालाई हामीले स्थापना गरेको हो, यसको प्रबद्र्धन र संरक्षण हाम्रै अभिभारा हो उनले भने ।

          October 28, 2018 10:50 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...