

कमाइको १० प्रतिशत आमाबालाई

काठमाडौं :तपाईं सरकारी वा निजी संस्थामा काम गर्नु हुन्छ ? अनि आमाबाको लालनपालनको दायित्वबाट पन्छिनु भएको त छैन ? अब भने कानुनले नै तपाईंलाई जिम्मेवार बनाउँदैछ। सार्वजनिक पदधारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम आमाबाबुका लागि छुट्याउनु पर्ने प्रावधानसहितको कानुनको तयारी हुँदैछ।
annapurna post
मासिक रूपमा आमाबाको बैंकखातामा रकम दाखिला गर्नुपर्ने प्रावधान राख्न लागेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राईले बताए। जेष्ठ नागरिकको स्वास्थ्य, लालनपालन तथा भविष्य सुनिश्चित गर्न यस्तो प्रावधान राखिएको राईले जिकिर गरे। ‘आर्थिक कारणले नै ज्येष्ठ नागरिकको जीवन दयनीय बन्ने गरेकाले परिवारका सदस्यलाई लालनपालनमा जिम्मेवार बनाउन खोजिएको हो,’ उनले भने।
सरकारले ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ संशोधन गरी यस्तो प्रावधान राखेको हो। प्रस्तावित प्रावधानले वृद्ध आमाबुबाको पालनपोषणको दायित्वबाट पन्छिने प्रवृत्ति कम गराउने ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मदनदास श्रेष्ठले बताए। उनले भने, ‘सरकारले ऐन संशोधन गरेपनि थुप्रै घोषणा गरिएका कल्याणकारी योजना कार्यान्वयन गर्न नसक्दा ज्येष्ठ नागरिकको जीवन पीडादायी बनेको छ।’
विधेयकको दफा ८ मा सार्वजनिक पदधारण गरेका व्यक्तिले आफ्नो मासिक कमाइको दश प्रतिशत रकम आफ्ना बाबुआमाको बैंक खातामा प्रत्येक महिना जम्मा गर्नुपर्ने व्यवस्था छ। अन्तर्राष्ट्रिय वा अन्तरसरकारी संघ, संगठन वा प्रचलित कानुनबमोजिमका संस्थाबाट नियमित पारि श्रमिक लिइरेका व्यक्तिले त्यस्तो रकम जम्मा गर्नु पर्नेछ। बाबुआमा सगोल वा कानुनबमोजिम भिन्न भइसकेको अवस्थामा समेत यसरी नियमित रकम जम्मा गर्नु पर्नेछ।
नियमित पारि श्रमिक जम्मा नगरेमा आमाबुबाले निज कार्यरत निकाय वा स्थानीय निकायमार्फत् निवेदन दिन सक्ने छन्। त्यस्तो निवेदन आएमा सम्बन्धित निकायको प्रमुखले रकम जम्मा गर्न आदेश दिन सक्ने पनि ऐनमा प्रावधान छ। सरकारले हालै ल्याएको मुलुकी देवानी संहिता ऐन २०७४ र मुलुकी देवानी कार्यविधि संहिता ऐन २०७४ मा पनि आमाबुबालाई लालनपालन गर्नुपर्ने स्पष्ट व्यवस्था छ। संहिताको १२२ दफामा संगोलमा बसे पनि वा भिन्न भइसके पनि आमाबाको आवश्यक हेरचाह, स्याहार संभार, औषधोपचार वा रेखदेख गर्नुपर्ने व्यवस्था छ।
संहिताकै व्यवस्थालाई प्रस्ट र व्यापक रुपमा संशोधित विधेयकमा समावेश गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले संशोधन विधेयक तयार गरी मन्त्रिपरिषद्मा पठाइसकेको छ। हिउँदे अधिवेशनमा यो संशोधन विधेयक संसद्मा पेश गर्ने सरकारको तयारी छ।
यस्ता छन् नयाँ प्रावधान :
–ज्येष्ठ नागरिकको मान सम्मान तथा अन्य अधिकार सुनिश्चित गर्नका लागि नयाँ प्रावधान।
–ज्येष्ठ नागरिकलाई दुव्र्यहार तथा अपमान गर्न वा झुक्याउन नपाइने।
–कुनै दबाब दिई वा प्रलोभनमा पारी वा झुक्याएर सम्पत्ति लिन वा आफ्नो वा अरु कसैको नाममा राख्न राख्न नपाइने।
–ज्येष्ठ नागरिकलाई कुनै फौजदारी कसुर गरेमा सजायमा पनि वृद्धि। सार्वजनिक पद धारण गरेको व्यक्तिले ऐनबमोजिम कसुर गरे अन्य व्यक्तिभन्दा थप तीस प्रतिशत सजाय हुने।
–ज्येष्ठ नागरिक कल्याणकारी कार्यक्रमको सञ्चालनको जिम्मा स्थानीय तहलाई र समन्वयको जिम्मा प्रदेशलाई छ।
–प्रत्येक प्रदेशमा ज्येष्ठ नागरिकको हेरविचार, स्याहार सम्भार तथा सामाजिक सुरक्षा गर्न प्रदेश ज्येष्ठ नागरिक समिति गठन गर्न सक्ने।
–स्थानीय तहमा ज्येष्ठ नागरिकको हेरविचार, स्याहार सम्भार तथा सामाजिक सुरक्षा गर्न स्थानीय ज्येष्ठ नागरिक समिति गठन गर्न सक्ने।आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।
November 12, 2018 8:09 am | टप,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

