Tuesday 9th September 2025

मेलम्चीको पानी आउन अझै तीन महिना लाग्ने

7 years अगाडी

काठमाडौँ, ७ मंसिर । मेलम्चीको पानी काठमाडौँ आउन अझ तीन महिना लाग्नसक्ने देखिएको छ । सुरुङको प्लास्टर र ढलान (फिनिसिङ) को काम सकिन लागेको छ । अब प्लास्टर र ढलान सम्पन्न गर्न जम्मा ३.५ किमि बाँकी छ ।पछिल्लो समय निर्माण कम्पनीले गति बढाएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । हाल दैनिक बढीमा २९० मिटरसम्म ढलानको काम भएको छ । हालको गतिअनुसार काम निरन्तर भए एक महिनामा एक किमि सम्पन्न हुनेछ ।सुरुङ प्लास्टर र ढलान सँगै भेन्टिलेसन र अडिट टनेलमा गेट लगाउने काम पनि भइरहेको छ । मेलम्चीदेखि सुन्दरीजलसम्मको २७.५ किमि लामो सुरुङको तीन स्थानमा भेन्टिलेसन राखिने छ । सुन्दरीजल, इचोक र थकनीमा भेन्टिलेसनको राखिने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । इचोकको भेन्टिलेसनमा १०७ मिटर ड्रिल गरिसकेको उहाँले बताउनुभयो ।त्यस्तै अडिट टनेलमा गेट लगाउने काम भइरहेको छ । पन्तले भन्नुभयो, अडिट टनेलमा गेट राख्नका लागि फिट गर्ने काम भइरहेको छ गेटहरू पनि आइसकेका छन्, डाइभर्सनको पाइपलाइन तयारी अवस्थामा छ अहिले कामले पनि गति लिइएको छ । कामहरू सबै सकिएपछि सुरुङको परीक्षण गरिने छ

गत असोजमा कम्पनीले दुई महिनामा सम्पन्न गर्ने जनाएको थियो तर कामको गति हेर्दा अझै तीन महिना लाग्ने देखिन्छ । समितिका अनुसार मेलम्ची खोलामा हाललाई अस्थायी डाइभर्सन बनाएर पानी ल्याउने तयारी गरिएको छ । पानीको बहाव कम भएको बेला स्थायी डाइभर्सन निर्माण गरिने छ ।
सन् २०१० को जुनबाट सुरुङ खन्ने कामको थालनी भएको थियो । चिनियाँ निर्माण कम्पनी सीसीआरसीले करिब तीन वर्षमा जम्मा ६.५ किलोमिटर सुरुङ खनेको थियो । सन् २०१२ सेप्टेम्बरमा सो निर्माण कम्पनीसँग सम्झौता खारेज गरिएको थियो । अर्को निर्माण कम्पनी सीएमसी डी–रेभेना इटालीले २०१४ को जनवरीबाट निर्माण कार्य शुरु गरेको हो । आयोजनाको कुल लागत २७ अर्ब ७६ करोड रहेको समितिले जनाएको छ ।
मेलम्चीबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी आउने छ तर दोस्रो चरणको परियोजना शुरु भएपछि याङ्री र लार्के खोलाको पानी पनि सोही सुरुङबाट ल्याएपछि दैनिक ५२ करोड लिटर पानी आउने छ । याङ्री र लार्के खोलाको पानी मेलम्चीको सुरुङ मार्गमा मिसाउन थप नौ किमि सुरुङ खन्नुपर्ने हुन्छ । समितिका अनुसार सन् २०१८ देखि २२ सम्ममा याङ्री र लार्के खोलाको पानी पनि आउने छ । याङ्री र लार्के खोलाको पानी ल्याएपछि काठमाडौँवासीको घरको धारमा दैनिक छ घण्टा पानी आउने छ ।

          November 23, 2018 10:39 am | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...