मनकामना मन्दिर भक्तजनका लागि खुल्ला
गोरखा – एक महिना अघि पुनर्निर्माण सकिएको गोरखाको मनकामना मन्दिर बुधबारबाट भक्तजनका लागि खुल्ला गरिएको छ । मन्दिर जीर्ण भएपछि जगैदेखि भत्काइएकाे थियाे । मन्दिर भत्काइएपछि भक्तजनले मन्दिर परिसरमा स्थापना गरिएको मनकामनाको प्रतिमूर्तिमा पूजाआजा गर्दै आएका थिए ।
बुधबारबाट भक्तजनले नयाँ मन्दिरमै पूजाआजा गर्न थालेकाे जीर्णोद्वार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिनुभयो । पुरानो हुँदै गएपछि मन्दिर पूर्व पश्चिम १६ सेन्टिमिटर र उत्तर दक्षिण पनि ५ सेन्टिमिटर भासिएको थियो । भूकम्पपछि थप जोखिममा परेको मन्दिरको पुनर्निर्माण पुरानै स्वरुपमा गरिएको छ ।
पुननिर्माणमा झण्डै १४ करोड रुपैयाँ खर्च भएको श्रेष्ठले जानकारी दिनुभयो । त्यसमध्येको ४ करोड रुपैयाँ सरकारले दिएको हो भने बाँकी १० करोड भक्तजनबाटै जुटाइएको हो । मन्दिरको छाना र गजुरमा सुन लेपनका लागि मात्रै १८ किलो सुन खर्च भएको श्रेष्ठले बताउनुभयाे । ‘१५ तोला जति सुन बचेको छ । केही पैसा पनि बचेको छ, हामी विशेष कार्यक्रम गरेर सबै हिसाब सार्वजनिक गर्छौं’ श्रेष्ठले भन्नुभयो, ‘नयाँ मन्दिर शुद्ध बनाउन माघमा दश कर्म पूजा गर्छौं, त्यही बेला सरोकारवाला बोलाएर सबै विवरण बताउँछौं ।
मूल मन्दिरको निर्माण सकिए पनि परिसरमा केही पूर्वाधार निर्माणको काम बाँकी रहेको जीर्णोद्वार समितिका संयोजक श्रेष्ठले बताउनुभयो । भक्तजनले सहयोग गर्ने क्रम चलिरहेकाले त्यही पैसा खर्चेर मन्दिरको पश्चिमतर्फको भागमा टेवा पर्खाल लगाउने, शौचालय निर्माण गर्ने, परेवा घर र बत्ती बाल्ने ठाउँ बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो । कहिले बनेको भन्ने यकिन विवरण नभए पनि मन्दिर २ सय वर्षभन्दा पहिले नै बनेको प्रमाण भेटिएको स्थानीयले बताएका छन् ।
मन्दिर परिसरमा पृथ्वीनारायण शाहले वि सं १८२५ सालमा स्थापना गर्न लगाएको घण्टौँ अहिले पनि सुरक्षित राखिएको छ । वि सं २०२६ सालमा छानो फेर्नेबाहेक मर्मतको कुनै काम हुन नसक्दा मन्दिर जीर्ण बन्दै गएको थियो ।
२०६८ साल चैत २० गते तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले मन्दिर जीर्णोद्वारको शुभारम्भ गर्नुभएको थियो । तर आर्थिक अभावलगायतका कारण जीर्णोद्धारको काम अघि बढ्न सकेको थिएन । सरकारले आवश्यक रकम उपलब्ध गराउन ढिलाई गरेपछि जीर्णोद्धार समितिले भक्तजनसँग चन्दा संकलन थालेको थियो ।
November 28, 2018 2:54 pm | Uncategorized,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण