Thursday 4th September 2025

प्रहरीले ल्यायो ‘फरेन्सिक’ भ्यान, केके छन् फाइदा ?

7 years अगाडी

पुस, काठमाडौं । नेपाल प्रहरीले घटनास्थलको सुरक्षा र प्रमाण सङ्कलनलाई प्रभावकारी बनाउन १ करोड ४१ लाख रुपैयाँको लागतमा मोबाइल फरेन्सिक भ्यान ल्याएको छ । भारतबाट ९६ लाखमा फोर्स कम्पनीको गाडी खरिद गरेर ४५ लाखको फरेन्सिक सामग्री जडान गरेर मोबाइल भ्यान तयार गरिएको छ उपत्यकामा हुने जघन्य प्रकृतिका अपराध अनुसन्धानका लागि घटनास्थलमा प्रयोग गर्ने गरी यो भ्यान तयार गरिएको हो ।केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीका अनुसार भ्यानलाई सञ्चानका लागि १० जना क्राइम सिन अफिसर (सोको) को टोली तयार गरिएको छ

‘भ्यानमा एक पटकमा ४ जना मात्रै बस्न सक्छन्’, उनले भने, ‘चालकलाई पनि हामीले ओरियन्टेसन दिइसकेका छौं भने अपराधको प्रकृति हेरेर सोको अफिसहरु घटनास्थलमा जानेछन् ।’भ्यानलाई महानगरीय अपराध अनुसन्धान महशाखा, टेकुमा राखिनेछ । प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहलाई भ्यानको चाबी हस्तान्तरण गरे ।समारोहपछि संक्षिप्त मन्तव्य दिँदै आईजीपी खनालले मोबाइल फरेन्सिक भ्यानको प्रयोगले वस्तुनिष्ठ अनुसन्धान, प्रमाणको सुरक्षा र अपराध नियन्त्रणमा सहजता पुग्ने विश्वास व्यक्त गरे ।

महाशाखा प्रमुख सिंह राजधानीको जुनसुकै ठाउँमा हुने अपराधको प्रारम्भिक अनुसन्धानका लागि भ्यानलाई घटनास्थलमा लगिने बताउँछन् । ‘अपराधको प्रकृति अनुसार सोको अफिसरहरु खटिनेछन्’, उनले भने ।केके छन् विशेषता ?प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग (सीआईडी) बाट आर्थिक वर्ष ०७४/०७५ मा क्याप अन्तरगत विनियोजित बजेट रकमबाट यो भ्यान खरिद गरिएको हो । सयान इन्टरप्राइजेजबाट भ्यान खरिद गरिएको प्रहरी प्रवक्ता सुवेदी बताउँछन् ।उनका अनुसार भ्यानलाई क्रमशः प्रदेश र जिल्लाहरुमा पनि विस्तार गर्ने योजना रहेको उनको भनाइ छ ।हाल खरिद गरिएको बा १ ग ३४२६ नम्बरको भ्यानमा एयर कन्डिसन, फायर एस्टिङ्ग्विसर लगायतको सुविधा छन् ।

भ्यानमा १० प्रकारका फरेन्सिक किट सामग्रीहरु जडान गरिएका छन् । भ्यानमा भएको किटको प्रयोगबाट अनुसन्धान अधिकारीले रगतको नमुना छ/छैन पत्ता लगाउनेदेखि विष्फोटक पदार्थ छ छैन भन्ने समेत जानकारी पाउनेछन् । त्यस्तै, लागूऔषधको पहिचानका लागि पनि छुट्टै किटको व्यवस्था छ ।‘सामान्य क्राइम सिन इन्भेस्टिगेन, सिमेन डिटेक्सन, बुलेट होल टेस्टिङ लगायतका किट भ्यानमा उपलब्ध छन्’, प्रहरी प्रधान कार्यालयले भनेको छ ।मानवीय कमजोरी कम हुने विश्वास

निर्मला हत्या प्रकरणमा दोषी पत्ता लगाउन नसकेर आलोचित भइरहेको प्रहरीले यो भ्यानको प्रयोगबाट सबुत संकलनमा हुने ‘ह्युम्यान एरर’ कम हुने विश्वास लिएको छ ।‘सबुत संकलनका लागि उच्च प्रविधिका किटहरु छन्’, महाशाखाका एक अनुसन्धान अधिकारीले सुनाए, ‘एयर कन्डिसन भएकाले संकलित सबुतहरु पनि सुरक्षित हुने भए ।’ यसअघि घटनास्थलमा पुगेपछि वस्तुस्थिति हेरेर त्यहाँ चाहिने सामग्रीहरु माग गरिने गरिएको थियो । तर, भ्यानको प्रयोग सुरु भएसँगै घटनास्थलको परीक्षणका लागि चाहिने सम्पूर्ण सामग्री एकैठाउँमा हुने भएका छन् । जसले छिटो परिणाम दिन समेत सघाउ पुग्ने अनुसन्धान अधिकारीहरु बताउँछन् ।

          December 21, 2018 10:03 am | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...