Tuesday 7th May 2024

ओली–प्रचण्ड विवाद सतहमा, प्रचण्डले क्रम भंग गर्न लागेकै हुन् ?

5 years अगाडी

काठमाडौैं । दुई तिहाइ बहुमतको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेपनि प्रधानमन्त्रीलाई निरन्तर साथ दिँदै आएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी ओलीबीचको विवाद झन चुलिँदो छ। सरकारको काम कारवाहीको सवत्र आलोचना भइरहेका बेला सरकारको पक्षमा खुलेर समर्थन गर्दै आएका प्रचण्ड पछिल्लो समय सरकारको कार्यशैलीको खुलेर आलोचना गर्न थालेका छन्।

अमेरिकाले ल्याटिन अमेरिकी मुलुक भेनेजुयलामा हस्तक्षेप गरेपछि नेकपा अध्यक्षको हैसियतमा प्रचण्डले कडा विज्ञप्ति जारी गरी त्यसको कडा विरोध गरे। प्रचण्डको विज्ञप्तिपछि मुलुकभित्र नयाँ राजनीतिक तरंग उत्पन्न भयो। प्रधानमन्त्री ओलीेले प्रचण्डले विज्ञप्ति निकाल्न हटारो गरेको र ‘चिप्तिएको’ भन्ने अभिव्यक्ति दिएपछि प्रचण्ड आक्रोशित भएका छन्। सरकार गठनपछि हालसम्म सरकारका सबै कामको खुलेर बचाउ गर्दै आएका प्रचण्ड प्रधानमन्त्री ओलीसँग सशंकित बनेका छन्। प्रचण्डले त्यसैको परिणाम स्वरुप ‘अर्को माओवादी जन्मिन्छ’ भन्ने अभिव्यक्ति दिएपछि मुलुकको राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ भने नेकपा भित्र ‘भुईँचालो’ गएको छ।

भेनेजुएला प्रकरणमा आफूलाई कर्नरमा पार्न खोजेपछि प्रचण्डले माओवादीलाई सिध्याइयो अब जे गरेपनि हुन्छ भन्ने ठानेको हो भने अर्को माओवादी जन्मिन्छ भन्ने अभिव्यक्ति दिएको हुन सक्छ। सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको, लामोसमयसम्म पनि पार्टी एकताले पूर्णता नपाएको र आफू ओलीको सहयोगी जस्तोमात्र देखिएपछि प्रचण्डले कडा अभिव्यक्ति दिएको हुन सक्ने नेताहरुको ठम्याई छ। कतिपय भने दुवै अध्यक्षले आफ्नो स्वार्थका कारण पार्टी एकताले पूर्णता पाउन नसकेको बताउँछन्। नौ महिनासम्म पार्टीको सांगठनिक संरचनाले पूर्णता नपाउँदा एकताले गति गति लिन सकेको छैन। शीर्ष नेतृत्व नै मिल्नुपर्ने ठाउँमा अनावश्यक विवादमा अल्झिने गलत प्रवित्तिले थप अन्यौलता बढाएको नेताहरुको भनाइ छ।

मिल्दै आएका यी दुईबीच देखिएको विवादले नेकपाभित्रै नयाँ प्रकारको अन्तरविरोध पैदा भएको छ । कतिपयले प्रचण्डको अहिलेको अभिव्यक्तिले पार्टी नै विभाजित हुने भन्दा पनि एकता प्रक्रिया झन लम्बिने र कार्यर्कामा निरासा पैदा हुने बताउँछन्। तर प्रचण्डको स्वभाव भने भिन्नै प्रकारको छ। लामो सोच विचार गरेर अभिव्यक्ति दिने र अभिव्यक्ति दिएपछि त्यसलाई कार्यान्वयन गर्नेतर्फ प्रचण्ड अग्रसर हुन्छन, भलै त्यसको परिणाम आफ्नो विरुद्धमा किन नहोस्। प्रचण्डको अर्को स्वभाव भने चाँडै अरुको कुरामा प्रभावित हुने हो। भेनेजुएला प्रकरणमा पनि प्रचण्डलाई सकैले उक्साएको आरोप लाग्दै आएको छ।

शान्ति प्रक्रियामा आएपछि पहिलो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले सेनापति र पशुपतिका भट्ट फेर्ने निर्णय आफ्नै स्वविबेकले भन्दा पनि कसैको उक्साहटमा गरेको आरोप लागेको थियो, यी दुवै प्रकरणका कारण नौ महिनामा नै प्रचण्डले प्रधानमन्त्रीको पदबाट राजीनामा दिनुपर्यो। लामो कसरत पछि दुई दलबीच एकता भएको र यही एकताका कारण नेकपाले झण्डै दुई तिहाई बहुमत ल्याएको प्रचण्डले बिर्सिएका छैनन्। आफूले पार्टीभित्र स्पेश नपाएको र केपी पक्षले पेलेरै जान खोजेका कारण प्रचण्डले अर्को माओवादी जन्मिन्छ भन्ने अभिव्यक्ति दिएको प्रचण्डलाई नजिकबाट नियाल्नेहरुको बुझाइ छ।

          February 10, 2019 10:20 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...