Wednesday 27th August 2025

सरकार आक्रामक, विप्लव रक्षात्मक

6 years अगाडी

काठमाडौं। फागुन १०  गते ललितपुरको नक्खुस्थित एनसेलको मुख्यालयमा गराइएको शक्तिशाली बम विस्फोटन र २४ फागुनमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको बसुन्धरास्थित निवासमा भएको बिस्फोटपछि यतिबेला नेत्रविक्रम चन्द नेतृत्वको नेकपा रक्षात्मक अवस्थामा पुगेको छ।

सरकारले विदेशी लगानी आकर्षित गर्न लगानी सम्मेलनको तयारी गरिरहेका बेला विप्लव समूहले विदेशी  लगानी रहेको एनसेलको मुख्यालयमा विस्फोट गराएको थियो। यसैगरी व्यावसायीलाई आतंकित पार्न उसले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा विस्फोट गराएको थियो।

विदेशी लगानी आकर्षित गर्ने सरकारको योजना र त्यसलाई जसरी पनि रोक्ने योजनमा रहेको विप्लव समूहका गतिविधि पछिल्लो समय सरकारकालागि टाउको दुखाइको विषय बनेको थियो। एनसेलको मुख्यालयमा विस्फोट गराउँदासम्म सरकार  मौन जस्तै गरी बसेको थियो।

तर जब वैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष गुरुङको घरमा विस्फोट गराइएको र त्यसको जिम्मा विप्वलव समूहले लियो तब सरकार झस्कियो।

त्यसअधि नै पक्राउ परेको विप्लव समूहका प्रवक्ता खड्बहादुर विश्वकर्मा प्रकाण्डबाट सुरक्षा निकायले महत्वपूर्ण दस्तावेज फेला पारेको थियो।

त्यसको गहन अध्ययनपछि  निष्कर्ष निकालियो, विप्लव समूहले प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष प्रचण्ड र प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको हत्या गर्ने योजना बनाएको हरेछ।

यी सबै घटनाक्रमले सरकार विप्लव समूहमाथि प्रतिबन्ध नै लगाउने निष्कर्षमा पुग्यो र विप्लव समूहमाथि फागुन २८ गते सरकारले प्रतिबन्धन लगायो।

प्रतिबन्ध लगाउनु अघि उच्च मनोबलमा रहेको विप्लव समूह प्रतिबन्ध लगाएसँगै रक्षात्मक अवस्थमा पुगेको छ।

यतिबेला सुरक्षा निकायले विप्लव समूहका नेता कार्यकर्तालाई धमाधम पक्राउ गरिरहेको छ। पक्राउ पर्नेमा मध्य कमाण्डका ईञ्चार्ज हेमन्तप्रकाश ओली (सुदर्शन) समेत छन्।

उनी ८ चैत्रमा काभ्रेबाट राजधानी आउँदै गर्दा पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ओली सबैभन्दा उच्च तहका नेता हुन्।  ५ सदस्यीय स्थायी समितिमा तेस्रो बरियतामा थिए ओली। 

त्यसअघि १ चैत्रमा पोलिटव्यूरो सदस्य मोहन कार्की (जीवन्त) पक्राउ परेका थिए भने १० चैतमा सो समूहका कोशी व्यूरो संयोजक घनश्याम श्रेष्ठ (पुस्कर) पक्राउ परेका छन्। 

सरकारले प्रतिबन्ध लगाएपछि बुधबारसम्म विप्लव समूहका ९३ जना पक्राउ परेको नेपाल प्रहरीका प्रवक्ता उत्तम सुवेदीले डिसी नेपाललाई जानकारी दिए । 

यसरी पक्राउ परेका उनीहरुमाथि संगठति अपराध र हातहतियार खरखजाना अपराधमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।  प्रहरीले बुधबारमात्र विप्लव समूहका भोजपुरा प्रदेश प्रमुख विगा चौरसियालाई पक्राउ गरेको छ ।

पर्सा जिल्ला ईन्चार्ज समेत रहेका चौरसियालाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार फागुन २९ गतेदेखि आजसम्म जिल्लाका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा विप्लव समूह निकट जिल्ला सचिवालय सदस्य राजकुमार तिमिल्सिना, अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पसका एकाइ अध्यक्ष विक्रम न्यौपाने, राप्ती नगरपालिका जनसरकार प्रमुख गुणराज श्रेष्ठ, जिल्ला सदस्य वीरबहादुर तामाङ, अखिल क्रान्तिकारी चितवन यातायात व्यवसायी सङ्घका अध्यक्ष मित्र केसी र चितवन १ नम्बर इलाका इञ्चार्ज जयबहादुर कुँवर रहेका छन् । 

भरतपुर महानगरपालिका–५ को कार्यालयमा विष्फोट गराएको अभियोगमा मुद्दा दर्ता गरी फरार रहेका १५ जनाको खोजी भइरहेको उनले बताए।  पक्राउ परेकालाई बम विष्फोट र सङ्गठित अपराधअन्तर्गत मुद्दा दर्ता गरिएको उनले बताए । 

उता जिल्ला प्रहरी कार्यालय अछामले  ‘विप्लव’ समूहका चार नेता कार्यकर्ता पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले दिएको जानकारीअनुसार जिल्लाको रामारोशन गाउँपालिकाको झाता गाउँमा गस्तीमा गएको प्रहरी टोलीमाथि ‘विप्लव’ समूहका कार्यकर्ताले गोली चलाएपछि उनीहरुलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा विप्लव समूह निकट अखिल क्रान्तिकारीका अछाम जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा सङ्गठनका जिल्ला सदस्य सुरेश साउद, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी भुमिसरा धामी र युवा सङ्गठनका राजेन्द्र धामी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 

रामारोशन गाउँपालिकाको झाता गाउँमा ‘विप्लव’ समूहका कार्यकर्ता रहेको थाहा पाएपछि प्रहरी टोली मङ्गलबार त्यहाँ पुगेको थियो । झाता गाउँमा पुगेको प्रहरी टोलीमाथि सो समूहका कार्यकर्ताले गोली चलाएपछि प्रहरीले पनि जवाफी फायर खोलेको प्रहरी नायब उपरीक्षक शाहीले बताएको राससले उल्लेख गरेको छ ।  

बाँकेमा पनि विप्लप समूहका केनी नेता कार्यकर्ता पक्राउ परेका छन्। एकपछि अर्का आफ्ना नेता कार्यकर्ता पक्राउ पर्न थालेपछि विप्लव समूहको संगठन यतिबेला धराशायी बनेको छ भने सरकार उत्साहित बनेको छ। प्रधानमन्त्री केपी ओलीले संसदमा सम्वोधन गर्दै राज्य अगाडि बढ्यो राज्यको ब्याक गियर छैन भनेका थिए।

त्यसको अर्थ विप्लव समूहप्रति सरकार कति कठोर बनेको छ भन्ने हो। प्रधानमन्त्री ओलीले विप्लव समूहलाई चैत महिनाभित्र हतियार बुझाएर आए वार्ता गर्न सकिने संकेत पनि गरेका छन्। तर विप्लव समूह भने यतिबेला विज्ञप्ति निकाल्नेमा मात्रै सीमित भएको छ।

आफूमाथि लगाएको प्रतिबन्धन र पक्राउ परेका कार्यकर्ता रिहाइकालागि आह्वान गरेको नेपाल बन्दसमेत उसले फिर्ता लिएको छ। दैनिक नेता तथा कार्यकर्ता पक्राउ पर्न थालेका छन् भने कतिपय जिल्लामा विप्लव समूहका नेता कार्यकर्ताले धमाधम पार्टी परित्याग गरेका समाचार सार्वजनिक भएका छन्। 

          March 28, 2019 11:17 am | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...