हेर्नुहोस संगै जन्मेका तिम्ल्याहा दिदी-भाई एसईई दिदै, ३ जनाको एउटै जनममिति भेट्दा केन्द्रले सोधपुछ !
लमजुङको बेंसीसहर–२, भकुन्डेस्थित बालकल्याण मावि केन्द्रका परीक्षार्थीको विवरण रुजु गर्ने क्रममा शनिबार तीन जनाको जन्ममिति एउटै भेटियो । थर पनि एउटै । नाम गंगा, जमुना र सागर ।
‘कौतूहल भएपछि अरूलाई बुझ्यौं, उनीहरूलाई पनि सोधपुछ गर्यौं,’ केन्द्राध्यक्ष तीर्थ नेउपानेले भने, ‘उनीहरू तिम्ल्याहा रहेछन्।’ चैत १० बाट भइरहेको एसईईमा एउटै केन्द्रमा तिम्ल्याहा विद्यार्थी रहेको त्यसअघिसम्म न केन्द्राध्यक्षलाई थाहा थियो, न निरीक्षक, न त परीक्षार्थीलाई । उनीहरूकै साथीबाहेकले चाल पाएनन् । मिल्दोजुल्दो अनुहार भए पनि एउटै कोठामा नपरेकाले तिम्ल्याहा हुन् भनेर कसैले अडकल गरेको थिएन ।
गंगा, जमुना र सागर बेंसीसहर–३ बाहुनबेंसीको यशोब्रह्म माविका विद्यार्थी हुन् । उनीहरूले कक्षा १ देखि नै सँगै पढेका हुन् । उनीहरूले ५ र ६ कक्षा नजिकैको लालीगुराँस आवासीय स्कुलमा पढेका थिए । उक्त स्कुल बन्द भएपछि उनीहरूले सामुदायिक विद्यालय रोजे । तिम्ल्याहा गंगा, जमुना र सागर २०६१ असार ३ मा जन्मिएका हुन् । उनीहरू भोजकुमार र सुशीला श्रेष्ठका छोराछोरी हुन् ।
राइनास–७ गरमबेंसी घर भएका उनीहरू दोस्रो सन्तान हुने बेला चितवनको भरतपुरमा बस्दै आएका थिए । ठूली छोरी जन्मेको तीन वर्षपछि दोस्रो सन्तानको प्रतीक्षा थियो । तिम्ल्याहा जन्मँदा श्रेष्ठ दम्पती छक्क परेका थिए । सुशीलाले अस्पतालमा ‘नर्मल डेलिभरी’ मै तिम्ल्याहा जन्माइकी थिइन् । खुसीसँगै धेरैवटा सन्तान हुर्काउनुपर्ने दायित्व थपिएपछि उनीहरू पुर्ख्यौली घर फर्किएका थिए ।
लमजुङ विद्युत् उपभोक्ता संस्थामा प्राविधिकको काम थालेका भोजकुमारको २०६५ फागुन ११ मा पोलमा विद्युत् मर्मतका क्रममा करेन्ट लागेर निधन भयो । घटनापछि संस्थाले सुशीलालाई कार्यालयमा जागिर दियो र परिवारका पाँचै जनाको नाममा जनही १/१ लाख बैंक खातामा राखिदियो ।
आफूले जागिर खानुपर्ने भएपछि उनी ४ वर्षका तिम्ल्याहा छोराछोरी र ७ वर्षीया ठूलीछोरी लिएर बेंसीसहर–३, रानीकुवा आएकी हुन् । सुशीला २०६६ वैशाखदेखि छोराछोरीसहित रानीकुवामा डेरा गरेर बसेकी छन् ।
सुशीलाको मासिक तलब १८ हजार रुपैयाँ छ । मासिक ४ हजार रुपैयाँ घरभाडा तिर्नुपर्छ । ठूली छोरी बेंसीसहरको जनविकास माविमा कक्षा १२ मा पढछिन् । ‘मेरो तलब घरभाडा तिर्न, खानलाउन, बच्चाको फी तिर्नमै ठिक्क छ,’ सुशीला भनिन्, ‘बचत गर्न सकिएन । छोराछोरीले राम्रो पढ्न खोजे खर्च बन्दोबस्त गर्नसक्ने क्षमता छैन ।’
April 3, 2019 10:39 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै