Friday 22nd August 2025

संसारकै कान्छा राष्ट्रप्रमुखलाई पदबाट हटाइयो

6 years अगाडी

युरोपेली देश अष्ट्रियाको संसद्ले चान्सलर सेबास्टियन कर्जलाई पदबाट हटाएको छ। संसारकै कान्छा राष्ट्रप्रमुख कर्जविरुद्ध संसदको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पद मुक्त गरिएको हो। ३२ वर्षीय कर्ज सन् २०१७ डिसेम्बरदेखि अष्ट्रियाका चान्सलर थिए। प्रमुख प्रतिपक्षी दल सोसल डेमोक्र्याट्सले सरकारविरुद्ध दर्ता गराएको अविश्वास प्रस्ताव स्वीकृत भएपछि उनी सत्ताबाट हटेका हुन्।

अस्ट्रियन पिपल्स पार्टीका अध्यक्ष समेत रहेका कर्जको एउटा भिडिओ बाहिरिएपछि उनी विवादमा परेका थिए। सन् २०१७ को उक्त भिडिओमा कर्जले राजनीतिक हित र स्वार्थका कुरा गरेका बताइएको छ। भिडिओमा कर्ज र रसियाकी एक धनी परिवारकी महिलाबीच अष्ट्रियाली अखबारको सेयर किनेर पार्टीलाई सहयोग पुग्ने खालको सामग्री प्रकाशित गर्ने कुरा भएको छ। भिडिओ बाहिरिएपछि प्रमुख प्रतिपक्षीले कर्जविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि फैसलाका निम्ति संसदमा मतदान गरिएको थियो। अष्ट्रिया संसदका कुल १८३ जना सदस्यमध्ये ५१ सिट भएको प्रमुख प्रतिपक्षी सोसयल डेमोक्र्याट्स (एसपीओ) र ५२ सांसद रहेको फार राइट फ्रिडम पार्टीले कर्जका विपक्षमा मत हालेका हुन्।

कर्ज पदच्यूत भएसँगै अष्ट्रियाली राष्ट्रपति अलेक्जेन्डर भान दे बेलेनले भाइस-चान्सलर हार्टविग लोगरलाई अन्तरिम चान्सलर नियुक्त गरेका छन्।अष्ट्रियामा आगामी सेप्टेम्बरमा चुनाव हुने अनुमान छ। केही समयअघि मात्र भाइस-चान्सलर नियुक्त भएका लोगरले नयाँ सरकार नबनुञ्जेल नेतृत्व सम्हाल्ने छन्। यसअघिका भाइस-चान्सलर पनि भिडिओ बाहिरिएपछि बर्खासीमा परेका थिए। कर्ज पदच्यूत भएपछि उनको पार्टी र समर्थक सबै अलमलमा परेका देखिएका छन्। कर्ज तिनै राष्ट्रप्रमुख हुन् जसलाई उनका शुभेच्छुक तथा समर्थकले ‘वुन्डरवुजी’ भनेर बोलाउँथे। यसको शाब्दिक अर्थले त्यस्तो व्यक्ति बुझाउँछ, जो पानीमा हिँड्ने क्षमता राख्छ।

युरोपेली मुलुकहरूमा शरणार्थी प्रवेशलाई लिएर असन्तोष बढेका बेला कर्जले अनुदार नीति लिँदै लिएका थिए। शरणार्थीको युरोप प्रवेशमार्ग बन्द गर्नुका साथै उनीहरूले राज्यबाट पाउँदै आएका सहुलियत कटौती गरिनुपर्ने उनको धारणा थियो। यही राजनीतिक धार समातेर लोकप्रिय भएका कर्ज पार्टीका वरिष्ठ नेताहरूलाई पछार्दै नेतृत्वमा समेत पुगे। उनको यही धारले पार्टीलाई नयाँ रूपमा ‘ब्रान्डिङ’ गर्‍यो। र, निर्वाचनमा नतिजा देखाउँदै उनलाई संसारकै कान्छा राष्ट्रप्रमुख बनायो।

अनुदार राजनीतिक धार समातेका कर्जको पिपल्स पार्टी आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी सोसल डेमोक्रेटिकलाई उछिनेर ठूलो दल भएको सन् १९७० पछि दोस्रोपटक हो। यसमा कर्जको लोकप्रियता र उनले समातेको अनुदार राजनीतिक धारलाई नै मुख्य कारण मानिएको छ। उनले पिपल्स पार्टीलाई सामाजिक सञ्जाल र सञ्चारमाध्यममा लोकप्रिय बनाएका थिए। देशको सामाजिक जनकल्याण प्रणाली सुदृढ पार्दै आप्रवासीहरूको प्रवेशविरुद्ध कर्जले चालेको अभियानमा दसौं हजार समर्थक होमिएका थिए।

‘म अष्ट्रियालाई उचाइमा पुर्‍याउन चाहन्छु, सही समय अहिले नै हो,’ सन् २०१७ मा निर्वाचनको प्रारम्भिक मतपरिणाम आउँदाआउँदै कर्जले आफ्ना समर्थकलाई सम्बोधन गर्दै भनेका थिइ, ‘म शरणार्थीहरूको प्रवेशले जोखिममा परेका अष्ट्रियाली नागरिकलाई सुरक्षा दिन चाहन्छु। उनीहरूबाट खोसिएको रोजगार फिर्ता गर्ने बचन दिन्छु। यो अभियानमा सहयोग पुर्‍याउनुहुने सबैलाई धन्यवाद छ।’

‘निर्वाचन परिणामले म अत्यन्तै उत्साहित छु, खुसी छु र अब अष्ट्रियाको हितमा काम गर्न व्यग्र छु,’ उनले भने।अष्ट्रियाको हित र स्थानीय जनतालाई आप्रवासीहरूको हस्तक्षेपबाट जोगाउन आफू जस्तोसुकै परिस्थितिसँग लड्न तयार रहेको उनले बताएका थिए। अष्ट्रियाको मेडलिङमा हुर्केबढेर त्यहीँ बस्दै आएका कर्ज सन् २०१७ मेमा अस्ट्रियन पिपल्स पार्टीका अध्यक्ष भएका थिए। उनले आफ्नो राजनीतिक करिअर पार्टीको युवा संगठनबाट सुरु गरेका हुन्। उनी २००९ मा पार्टीको युवा संगठन अध्यक्ष भएका थिए।

भियना विश्वविद्यालयमा कानुन पढेका उनी सन् २०११ मा पढाइ छाडेर पूर्णकालीन राजनीतिमा होमिए। त्यसै वर्ष भियना सिटी काउन्सिलका सदस्य भए। लगत्तै आन्तरिक मामिला मन्त्रालयको ‘स्टेट सेक्रेटरी फर इन्टिग्रेसन’ पदमा नियुक्त भए।सन् २०१३ को आमनिर्वाचनमा उनी सबैभन्दा बढी मत ल्याएर सांसद भएका थिए। कर्जलाई फ्रान्सका माक्रों र क्यानडाका जस्टिन ट्रड्यूजस्ता युवा नेतासँग तुलना गरिँदै आइएको थियो। तर दोस्रो विश्वयुद्धपछिको अष्ट्रियाली इतिहासमा अविश्वास प्रस्ताव सामना गरी पदच्यूत हुने पहिलो चान्सलर कर्ज नै हुन्।

          May 29, 2019 10:26 am | राजनीति


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...