

पाँचथर हत्याकाण्डमा बाँचेकी बालिकाको जिम्मा प्रदेश सरकारले लियो

काठमाडौँ । गत जेठ ६ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका– ३ आरुबोटेमा भएको सामूहिक हत्याकाण्डमा भागेर बाँच्न सफल भएकी बालिकाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिएको छ । उक्त घटनामा भागेर बाँचेकी १२ वर्षीया सीता खजुम लिम्बूको पठन–पाठन र भरणपोषणको जिम्मा प्रदेश सरकारले लिएको हो ।
यही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्यसमेत रहेका प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको पहलमा खजुमलाई शुक्रबारबाट सुनसरीको इटहरी उपमहानगरपालिका–१९ शहीद स्मृति आवासीय विद्यालयमा भर्ना गरिएको छ ।
मन्त्री आङ्बोका अनुसार सीताकी आमासहित उनको परिवारका सदस्यसँगको सहमतिमा सीताको पठन–पाठन र भरणपोषणको जिम्मा प्रदेश सरकारले लिएको हो। सशस्त्र द्वन्द्वका शहीद परिवारका बालबालिकाले आवासीय रुपमा अध्ययन गर्दै आएको सरकारद्वारा सञ्चालित यस विद्यालयमा सीताले अध्ययन गर्नेछिन्।
गत जेठ ६ गते राति मावलीमा बसेकी सीता सामूहिक हत्याको घटनामा भागेर बाँच्न सफल भएकी थिइन् । हातमा चोट लागेकी उनको झापाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भएको थियो । सामूहिक हत्याको घटनामा सीताका मावलीतर्फका हजुरबुबा बमबहादुर फियाकसहित हजुरआमा, कान्छी सानीआमा र उनकी बहिनी आशिका खजुमको हत्या भएको थियो ।
सीता विगतबाटै मावलीमा बसेर अध्ययन गर्दै आएकी थिइन् । सीताका बाबुले कान्छी आमा ल्याएपछि उनकी आमाले समेत दोस्रो विवाह गरेकीले उनी वृद्ध हजुरबुबा हजुरआमासँग बस्दै आएकी थिइन् । उक्त घटनामा उनकी माइली ठूलीआमा जस्मिता फियाक (शेर्मा) सहित शेर्माको परिवारका पाँच जनाको समेत हत्या भएको थियो ।
हत्यामा बमहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमलाई मुख्य अभियुक्त मानिएको छ । माखिमको शव जेठ ७ गते उनको घर नजिकै मिक्लाजुङ गाउँपालिका–७ लुमाङ्दिनमा फेला परेको थियो ।
श्रीमती मनकुमारीसँग सम्बन्धबिच्छेद गर्नुपरेको झोकमा उनले ससुराली र साढुदाइको परिवारका नौ जनाको सामूहिक हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। घटनाबारे प्रहरीले अझै अनुसन्धान जारी राखेको जनाएको छ। रासस
June 1, 2019 10:22 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

