

नैतिकताको आईसीयूमा त्रिभुवन विश्वविद्यालय !

देशकै सबैभन्दा जेठो र नेपालको शैक्षिक उन्नयनमा प्रमुख भूमिका खेल्दै आएको त्रिभुवन विश्वविद्यालय पछिल्लो समय सतहमा छरपस्ट भएका एकपछि अर्को घटनाले नैतिकताको कठघरामा उभिएको छ ।कहिले कर्मचारी भर्नामा पहुँचवालाका नातागोता र आफन्तहरुलाई जागिर खुवाउन गरिएका प्रयासहरु त कहिले गोल्ड मेडल र प्रमाणपत्रहरु नै किनबेचका समाचारहरु बाहिर आउनुले एकातिर विश्वविद्यालयको शाख त खस्काएको छ नै अर्कोतिर विश्वविद्यालयमा पढ्ने र पढेकाहरुलाई पनि गर्व गर्ने ठाउँ राखेको छैन ।
विश्वविद्यालयमा वास्तविक विद्यार्थी वर्षभरि मिहिनेत गरेर पढ्ने र अर्कोथरि भनसुन गरेर र विश्वविद्यालयका पदाधिकारिहरुलाई घुस खुवाएर नम्बर बढाएर गोल्ड मेडलसम्म प्राप्त गर्नसक्ने अवस्थाले त्रिभुवन विश्व विद्यालयको विश्वसनीयता कति खस्केको छ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ । पैसा लिएर गाेल्ड मेडल दिने र पैसा दिएर गाेल्ड मेडल लिने याे कस्ताे संस्कृति ? परीक्षामा ९ नम्बर ल्याउनेले पैसा दिएर ६९ बनाएर गाेल्ड मेडल लिएर ज्ञान चाहिँ कति नम्बरकाे बाँड्ने हाेला ?
विश्वविद्यालय अध्ययन, अनुसन्धान गर्ने ठाउँभन्दा पनि विकृतिहरुले भरिएको ठाउँ हुन पुगेको छ । देशभरिका लाखौँ युवाहरु र सिंगो देशकै भविष्यसँग जोडिएको विश्वविद्यालयको यस्तो दयनीय र भद्रगोल अवस्था नेपाल र नेपालीका लागि पक्कै पनि सुखद होइन । विगतदेखि नै अनेकौ झमेला र कठिनाइहरु झेल्दै आएको त्रिभुवन विश्वविद्यालय केही सीमित व्यक्तिहरुको स्वार्थको सिकार हुन पुगेको छ ।
त्रिभुवन विश्वविद्यालयको गेट छिर्नेबित्तिकै जताततै झुण्ड्याइएका विभिन्न पार्टीगत र विचारगत संगठनहरुका साइनबोर्डहरु देख्ने जो कोहीलाई पनि यो शैक्षिक जनशक्ति उत्पादन गर्ने विश्वविद्यालय भन्दा पनि पार्टीहरुका कार्यकर्ता उत्पादन गर्ने ठाउँ लाग्न सक्छ । हुन त ती सबै साइनबोर्डहरु विद्यार्थीको हक हितको लागि भनेर झुण्ड्याइएका हुन र सम्बन्धितहरुलाई सोध्दा प्रायः सबैले यसै भन्छन् । यो बाहेक विद्यार्थी संगठनहरुले इतिहासमा दिएको योगदान वाचन गरेर ती साइनबोर्डहरुको औचित्य पुष्टि गर्ने प्रयास गरिन्छ । तर इतिहासमा प्राप्त योगदान बाहेक वर्तमानमा यी साइनबोर्डहरुको औचित्य पुष्टि गर्ने खासै दरिलो तर्क छैन । विद्यार्थी संगठन र प्राध्यापक संगठनहरुका नाममा झुण्ड्याइएका यस्ता साइनबोर्डहरुले विश्वविद्यालयको शैक्षिक वातावरणमै असर पारेको आभास हुन्छ ।
विश्वविद्यालयमा झण्डा र झोला नबोकी शैक्षिक उद्देश्यले मात्रै आउने प्राध्यापक र विद्यार्थी पनि नभएका होइनन् तर पार्टीको सदस्यताविहीन विद्यार्थी र प्राध्यापक अल्पमतमा छन् । यस्ता स्वतन्त्र व्यक्तिहरुको खासै कदर छैन । कि त तिनीहरु पनि सदस्यता लिन बाध्य छन् कि चुप लाग्न । पार्टीको सदस्यता नलिए न प्राध्यापक कुनै अवसर पाउँछ न विद्यार्थीले नै । योसँगै विद्यार्थी संठनहरुका नाममा हुने गरेका अनियमिता, ठेकापट्टा र विश्वविद्यालयको शैक्षिक वातावरणमासमेत खलल पार्ने गरेका समाचारहरु बेलाबेला आइरहन्छन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपति लगायतका केही प्राध्यापकहरु नै बौद्धिक चोरीको आरोप खेपिरहेका छन । भने अर्कोतिर विभिन्न तहका थेसिसहरु अर्काको हुबहु नक्कल गर्ने र गराउने कार्यमा पनि विभिन्न संकायका जिम्मेवार व्यक्तिहरुको संलग्नता हुँदै आएको कुरा पनि कसैबाट लुकेको छैन ।
यसरी विश्वविद्यालयमा राजनीतिक र सीमित व्यक्तिको स्वार्थ पूर्तिका लागि गरिने गैरशैक्षिक क्रियाकलापहरुले तत्काल संगठन, पार्टी र केही सीमितहरुलाई फाइदा त होला । तर यसले देशकै शैक्षिक र सामाजिक वातावरणमा कालान्तरसम्म प्रभाव पार्ने निश्चित देखिन्छ ।सेमेस्टर लागु भएपछि केन्द्रीय क्याम्पसहरु राजनीतिक गतिविधिमा केही कमी भएजस्तो देखिए पनि आंगिक क्याम्पसहरुमा राजनीतिक जात्रा जस्ताको त्यस्तै छ भने केन्द्रीय क्याम्पसमै पनि पूर्ण रुपमा शैक्षिक वातावरण नभएको सम्बन्धित सबैले भोगेको र अनुभव गरेको कुरा हो ।
यसतर्फ कसैको पनि ध्यान जान सकेको देखिँदैन । दलआबद्ध नेताहरु यस्तो विकृतिलाई पार्टीको सकृयता र सदस्यता वृद्धिको अवसरको रुपमा सदुपयोग गर्न चाहन्छन् भने विश्वविद्यालय प्रशासनले यो समस्या देखेको नदेखेझैं गर्दै आइरहेको छ । देशका लाखौ युवाहरुको वा भनौ सिंगो देशकै भविष्यसँग जोडिएको त्रिभुवन विश्वविद्यालयलाई विकृतिमुक्त बनाए मात्र शैक्षिक र अध्ययन अध्यापनका क्रियाकलापहरुमा केन्द्रित बनाउनतिर सबैको ध्यान जानु आवश्यक छ ।विभिन्न समूह र व्यक्तिहरुको लाभहानीको हिसाबकिताबले कायल भइ नैतिकताको आईसीयूमा पुगेको त्रिभुवन विश्वविद्यालयलाई स्वच्छ र विशुद्ध शैक्षिक बनाउन सके देशले खोजेको परिवर्तन सजिलै प्राप्त गर्ने देखिन्छ ।
June 29, 2019 2:35 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

