नेकपा संसदीय दलको बैठकमा नेतृत्वप्रति किन आक्रोशित भए सांसदहरु ?
काठमाडौं। दुई दलबीच एकता भएर गठन भएको नेकपाका सांसदहरुले सोमबार बसेको संसदीय दलको बैठकमा मन खोलेर आफ्नो कुरा राखे। आफ्ना कुरा राख्ने ठाउँ नभएको भन्दै गुम्सिएका नेकपा सांसदहरुले समयको पावन्दीलाईसमेत ध्यान नदिइ आफ्नो धारणा राखेका थिए। सोमबारको बैठकमा बोल्ने अधिकांश सांसदहरुले सरकार र पार्टीले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै नेतृत्वको खबरदारी गरेका थिए।
बैठकमा सहभागी एक सांसदहका अनुसार सोमबार बोल्ने सबैजसो सांसदले आफूलाई लागेका कुरा खुलेर राखेको बताए। ‘लुकाउने छिपाउने कुरा आएन, जे छ त्यो सत्य हो भनियो, नेता केन्द्रित नीति र व्यवहार देखिएकोमा विरोध भयो’, ती सांसदले भने– ‘यस्ता छलफल पहिले नै किन भएनन् भनेर प्रश्न गरें, पार्टीलाई सही ढंगले लानलाई नै सुझाव आएको छ, नेतृत्वले सुन्नुपर्छ।’सांसदहरुले सरकारले जनताका पक्षमा काम नगरेको, पार्टी एकता टुंगिन नसकेको, नेताहरुले तल्लो तहसम्म अधिकार बाँडफाँड नगरेको, बजेट व्यावहारिक र जनमुखी नभएकोलगायतका विषयमा सरकारको ध्यानाकषर्ण गराएका थिए।
कतिपय सांसदले सरकारको काम गर्ने शैलीको चर्को विरोध गरेका थिए। सांसद भीम रावलले सरकार राष्ट्रियताको मुद्दामा कमजोर भएको, गुटगत आधारमा वजेट बिनियोजन गरिएको, सरकारले दिएका आश्वासन जनतामा पूरा गर्न नसकेकोलगायतका विषय उठाएका थिए। सांसदहरुले जनताको भावनाअनुसार सरकारले काम गर्न नसकेको गुनासो सशक्त रुपमा उठाएका थिए। ‘धेरै विषय उठाइए, जसको कार्यान्वयन गरे सरकार र पार्टी दुवैलाई नै फाइदा हुन्छ’, एक सांसदले भने, ‘खासै नयाँ कुरा त आएन तर आफ्नो धारणा प्रष्ट रुपमा राख्ने काम भयो, केही कमीकमजोरी भए सच्याउनुपर्ने सुझाव आएको छ, पार्टीले राम्रा कुरालाई सुन्नुपर्छ।’
सोमबारको बैठकमा २५ जना सांसदले आफ्नो धारणा राखेका थिए। बोल्न नाम टिएका २१ जना बोल्न बाँकी नै छन्। पार्टीका कुनै पनि कमिटीको बैठक नबस्दा पार्टी पदाधिकारी, स्थायी समिति सदस्य, केन्द्रीय सदस्य र अन्य नेताहरु कहाँ बोल्ने भन्ने अन्योलमा पर्दै आएका छन्। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले मात्र पार्टीको सबै निर्णय गरेको र पार्टी पंक्तिलाई बेवास्ता गरेको आरोप लाग्दै आएको छ ।
July 2, 2019 10:22 am | टप