Sunday 29th December 2024

‘प्रेम गीत ३’ हिरोइन् क्रिष्टिना : आफ्नो तर्फबाट शत प्रतिशत दिनेछु, प्रदीपसँग आजसम्म कुरा भएको छैन

5 years अगाडी

काठमाडौं। ‘प्रेम गीत ३’मा हिरोइनकाे अडिसनका लागि आवेदन खुल्यो। यो दुई महिना अगाडिको कुरा हो। जतिबेला अमेरिकामा बसेर अध्ययन गर्दै आएकी क्रिष्टिना गुरुङ एक महिना बिदामा नेपाल आएकी थिइन्। नृत्यमा सानैदेखि रुचि राख्थिन्। फिल्म धेरै हेर्थिन्। केही म्यूजिक भिडियोमा काम पनि गरेकी थिइन्। हिरोइन बन्ने रुचि बोकेकी थिइन्। राम्रो ब्यानरबाट डेब्यू गर्ने अवसरको खोजिमा थिइन् क्रिष्टिना। फेसबुकमा ‘प्रेम गीत ३’मा हिरोइन बन्ने अवसर शिर्षकका समाचारले उनको ध्यान तान्यो।

यता, ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ उनलाई मन परेका फिल्म। क्रिष्टिनालाई यो नै आफ्नो लागि सुनौलो अवसर लाग्यो। सोचिन् – म पनि ‘ट्राई’ गर्छु। अडिसनका लागि आवेदन दिइन्। आवेदन दिनेको संख्या २ हजार ७ सय १४ पुग्यो। त्यसमध्येबाट टप २५ जना छनोट गरियो, जसभित्र क्रिष्टिना परिन्। २५ जनाको भब्य अडिसन भयो। अन्ततः क्रिष्टिना ‘प्रेम गीत ३’को मुख्य हिरोइन ‘गीत’ पात्रका लागि छनोट भइन्। ‘हिरोइन बन्ने सानैदेखिको रहर हो। तर फिल्ममा छनोट हुन्छु भन्ने कल्पनै थिएन। ‘ट्राई’ गरुँ न त भनेर मात्र आवेदन दिएकी थिए’ – क्रिष्टिनाले डिसी नेपालसँग फिल्ममा छनोट हुनु अगाडिको कुरा सुनाइन्।

पछिल्लो समय नेपाली फिल्ममा युवापुस्ताको आकर्षण बढ्दो छ। तर, आकर्षण यतिसम्म होला भन्ने क्रिष्टिनामा कल्पनै थिएन। ‘गीत’बन्नका लागि आएका आवेदनहरुबाट उनि छक्क परिन्। फिल्ममा क्रिष्टिनाले अभिनेता प्रदीप खड्कासँग स्किृन शेयर गर्दै छिन्। यद्यपी अहिलेसम्म प्रदीपसँग भेट र कुराकानी नभएको उनी बताउँछिन्। ‘उहाँ देश बाहिर भएर भेट हुन पाएको छैन। उहाँ मेरो मनपर्ने हिरो पनि हुनुहुन्छ। भेटनका लागि उत्साहित छु’– उनी भन्छिन्।
फिल्मका लागि ‘हर्ष राइडिङ’को प्रशिक्षण चलिरहेको छ। केही दिनमा ‘वर्कशप’ शुरु हुँदैछ।

फिल्मको स्किृप्ट सुनेकी छिन्, तर हातमा परेको छैन। स्किृप्ट हात पर्नासाथ ‘गीत’ पात्रको तयारीमा लाग्ने क्रिष्टिना बताउँछिन्। ‘प्रेम गीत’ फिल्मको नाम नै ब्राण्ड। त्यसमाथि तेस्रो सिरिजमा चर्चित कलाकारहरुको अभिनय रहने। क्रिष्टिनामाथि पनि दर्शकको अपेक्षा बढी हुनु स्वभाविक हो। त्यो अपेक्षा पूरा गर्ने चुनौतीलाई कसरी लिएकी छिन् उनले? डिसी नेपालसँग उनी भन्छिन् –‘ममा चुनौती ठूलो छ। त्यो मैले महशुस गरेकी छु। मेरो तर्फबाट शत प्रतिशत दिनेछु। दर्शकलाई निराश नबनाउने गरी काम गर्ने प्रण गरेकी छु।’

उनको सोच छ, – नेपाली फिल्म क्षेत्रमै आफनो करिअर बनाउने। ‘फिल्ममा डेब्यू गर्न राम्रो ब्यानर र टिम पाएँ। आउँदा दिनमा नेपाली फिल्ममै सक्रिय रहनेछु’ –क्रिष्टिना भन्छिन् –‘त्यसका लागि दर्शक, फिल्मकर्मी, मिडियोकर्मी सबैको साथ, सहयोग र मायाको खाँचो छ।’ काठमाडौंमा जन्मिएकी उनि विगत ५ वर्षदेखि अमेरिका बस्दै आएकी छिन्। बाल्टिमोर युनिभर्सिटीमा आइटी बिषयमा स्नातक गर्दैछिन्। ‘प्रेम गीत ३’लाई लिएर उत्साहित छिन् उनी। परिवारको साथ, सपोर्ट र हौसला पाएकी छिन्। अब आफू फिल्मको छायांकन सकेपछि मात्र अमेरिका फर्कने र पढाई सकेर नेपाल फर्किएपछि पुनः नेपाली फिल्ममै सक्रिय रहने उनी बताउँछिन्।

‘आशुसेन फिल्मस प्रोडक्सन’को ब्यानरमा सन्तोष सेनले निर्माण गर्ने ‘प्रेम गीत ३’लाई छेतेन गुरुङ र निर्मातासमेत रहेका सन्तोष स्वयंमले निर्देशन गर्दैछन्। फिल्मको कथासमेत निर्देशकद्वयको नै रहेको छ । फिल्ममा प्रदीप क्रिष्टिनासँगै शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, अनुभव रेग्मीलगायतका कलाकारहरुको अभिनय रहनेछ । फिल्म चैत २८ मा रिलिज हुनेछ।

          July 4, 2019 3:50 pm | मनोरञ्जन


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...