बाढी पहिरो प्रभावित क्षेत्रमा रोगको जोखिम : यसरी सावधानी अपनाऔँ
बाढी पहिरो प्रभावित क्षेत्रमा रोगको जोखिम बढेको छ । बाढी प्रभावित क्षेत्रमा हेपाटाइटिस ‘ए’ ‘ई’, टाइफाइड, डेंगु, मलेरिया, हैजा, झाडापखाला, कीटजन्य रोग, लेप्टोस्पिरोसिस ब्याक्ट्रोरीया लगायतका रोग लाग्न सक्छ । लेप्टोस्पिरोसिस ब्याक्टेरिया प्राकृतिक प्रकोपको बेला धेरै सक्रिय रहन्छ ।
लेप्टोस्पिरोसिस ब्याक्टेरियाले के गर्छ ? : लेप्टोस्पिरोसिस ब्याक्टेरियाले शरीरका विभिन्न भागमा प्रत्यक्ष तथा अप्रत्यक्ष असर पुर्याउँछ । यो ब्याक्टेरियाले कलेजो तथा मिर्गौलामा असर गर्छ । यसले श्वासप्रश्वासमा समस्या ल्याउँछ । मेनेन्जाइटिस निम्त्याउँछ । यसको सुरुको लक्षण रुघाखोकीको जस्तो हुन्छ । ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने, छाला चिलाउने, आँखा रातो हुनेलगायतका समस्या देखिन्छ ।
के कुरामा ध्यान दिने ? : बाढी पीडित आफैँ विस्थापित भएका हुन्छन्, आफूसँग सामान हुँदैन । प्रभावितलाई पानी उमालेर पिउनुहोस्, फिल्टर गरेर पिउनुहोस्, ताजा पिउनुहोस्, पियुष तथा क्लोरिनको प्रयोग गर्नुहोस् भन्न मिल्दैन ।
सम्बन्धित निकाय तथा सहयोगी हातहरुले लैजाने पानी तथा खानेकुरा स्वस्थ तथा ताजा हुनुपर्छ । खानेपानी उमालेर पिउने अवस्था नभएमा छानेर पिउँदा पनि धेरै राहत हुन्छ । व्यक्तिगत सरसफाइको कार्यक्रम उहाँहरुको लागि उपयोगी हुन्छ । अवस्था सामान्य हुँदै गएपछि भने सरसफाइमा विशेष ख्याल राख्नुपर्छ ।
प्रभावित क्षेत्रमा डेंगु, मलेरिया फैलिन सक्ने सम्भावना धेरै भएकाले लामखुट्टे नियन्त्रण गर्नु पर्छ । एक दुई दिन सामान्य ज्वरो आयो भने आत्तिनु पर्दैन । तर हन्हनी ज्वरो आउने, तारन्तार बान्ता हुने भयो भने तत्काल अस्पताल लैजानुपर्छ ।
एक्कासी टाउको दुख्नु, आँखा दुख्नु, जोर्नी दुख्नु, वाकवाकी आउनु, पखाला चल्नु, मांशपेशी दुख्नु लगायतका समस्या भएमा अस्पताल जानुपर्छ ।बाढी प्रभावित ठाउँ महिनौँसम्म पनि रोगको उच्च जोखिम हुने भएकाले पीडित तथा सम्बिन्धित सबैको ध्यान जानुपर्छ ।
(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कार्यरत सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनसँग गरेको कुराकानीमा आधारित)
July 16, 2019 11:58 am | टप