Wednesday 15th January 2025

विश्वकप एसिया छनोट : कुवेतलाई नेपालले ७ विकेटले हरायाे, ग्लाेबल छनाेटमा पुग्ने सम्भावना बलियाे

5 years अगाडी

आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गतको खेलमा नेपालले कुवेतलाई ७ विकेटले हराएको छ ।टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले कुवेतले दिएको १४२ रनको लक्ष्य १५ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि कप्तान पारस खड्काले ६८ रनको अर्धशतकीय पारी खेले । उनले ४२ बलमा ११ चौका र १ छक्कासहित ६८ रन बनाएका हुन् ।

त्यस्तै शरद भेषावकरले नटआउट ३८ रन बनाए । उनले ३० बलमा ४ चाैका र १ छक्कासहित ३८ रन बनाएका हुन् । त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले १३ बलमा १९ रन बनाएर आउट भए । राेहित पाैडेल ६ रनमा नटआउट रहे । कुवेतका लागि मुहम्मद कासिफले ३ विकेट लिए । यसअघि सिंगापुरको इन्डियन एसोसियशन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १४१ रनको सम्मानित योगफल खडा गरेको थियो ।

करण केसीले आफ्नो स्पेलको पहिलो बलमै ओपनर मीट भाब्सरलाई आउट गरेपछि कुवेतको विकेट पतन सुरु भएको थियो । छैटौं ओभरको पहिलो र अन्तिम बलमा बसन्त रेग्मीले क्रशसः रभिजा सान्दरुवान र अदनान इद्रीसलाई आउट गरेपछि पावर प्लेको समाप्तिमा कुवेतको स्कोर ४६–३ थियो । रभिजाले १५ र अदनानले १४ बलमा २५ रनको पारी खेले ।नवौं ओभरमा युवा स्टार सन्दीप लामिछानेले २ विकेट लिए । उनले ८।३ ओभरमा बिलाल ताहिरलाई १३ रनको स्कोरमा कप्तान पारस खड्काको हातबाट क्याच आउट गराए । ८.६ ओभरमा उस्मान वाहीदलाई एलबीडब्ल्यूको धरापमा पारे । उनले खाता खोल्न सकेनन् ।

१३।५ ओभरमा अविनाश बोहोराले मोहम्मद अस्लामलाई २३ रनको स्कोरमा आउट गर्दा कुवेत ९४–६ को अवस्थामा पुग्यो । त्यसको अर्को ओभरमा सन्दीपले शिराज खानलाई बोल्ट आउट गरे । अन्तिमक्रमका ब्याट्सम्यानहरु मोहम्म असनलाई बसन्तले आउट गरे । जन्दु अहमदलाई करणले सोमपाल कामीको हातबाट क्याच आउट गराए । कुवेतका कप्तान मोहम्मद कासिफले सातौं नम्बरमा ब्याटिङमा आएर ३६ बलमा ४९ रनको विस्फोटक अविजित पारी खेले । उनले १९ औं ओभरमा करण केसीलाई २ छक्का प्रहार गरे भने अविनाश बोहोराको अन्तिम ओभरमा १ चौका र २ छक्का प्रहार गरे । अन्तिम २ ओभरमा कुवेतले ३० रन जोडेको थियो ।

नेपालका लागि बसन्त रेग्मी र सन्दीप लामिछानेले ३–३ विकेट लिए । त्यस्तै करण केसीले २ विकेट लिँदा अविनाश बोहोराले १ विकेट लिए ।जितसँगै नेपाल टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो भएको छ । भने कुवेत प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले आइतबारको खेलमा सिंगापुरलाई हराएमा विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्नेछ ।

          July 27, 2019 10:38 am | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...