‘यो समय मेरो लागि कालो हो, ग्रह दशा बिग्रिएछ’- गायक प्रकाश सपुत
‘गलबन्दी’ विवाद त मिल्यो तर गायक प्रकाश सपुत र शम्भु राईको मन अझै मिल्न सकेको रहेनछ। यस्तै देखियो प्रकाशसँग भेट्दा। निक्कै चित्त फाटेको रहेछ उनको। संगीतकारमा राईको नाम राख्न लिखित सहमति गरिसके पनि उनलाई अझै लाग्छ ‘चोरेको हैन।’ राई समाधान खोज्दै प्रतिलिपि रजिष्ट्रारको कार्यालय पुगिसकेपछि सहमति गर्दा कतिले ‘प्रकाश डरायो’ भनेर आलोचना पनि गरे। कतिले प्रकाशले कानुनबाहिरै सहमति गरेर लोकलयमा प्रतिलिपि लाग्ने गलत नजिर राख्यो भन्दै सहमति भएको दिनलाई ‘लोकगीतको लागि कालो दिन’ पनि भने। हो त ? यही सेरोफेरोमा रहेर शुक्रवारका लागि रीना मोक्तानले उनीसँग गरेको अन्तरंग संवादः
शम्भु राईसँगको छलफल र सहमतिपछि कस्तो लागिराखेको छ ? : बाहिरी हल्ला, मान्छेका स्वभाव अनि कमेन्टले दुवै पक्षलाई असर ग-यो। यो विवादले हाम्रो सोसल मिडिया कति खराब भइसकेछ, कति आउट अफ कन्ट्रोल भइसकेछ भन्ने अनुभव गरायो। व्यक्तिगत रुपमा भने मलाई कतिले सुनिरहेका रहेछन्, मेरो म्युजिकल स्टाटस के रहेछ भन्ने पनि देखियो। विवादले धेरै कुरा सिकायो।
तपाईंहरुको विवाद त संसदमा पनि उठ्यो है ? : हो तर त्यसलाई कतिले आलोचना गरे। कतिपयले त्यसलाई राजनीतिक रुपमा हेर्नुभयो। सांसद मीनबहादुर (विश्वकर्मा)लाई मैले चिन्थेँ तर दोहोरो चिनाजान र भेटघाट भएको थिएन। उहाँले सामान्य सोधखोज भने गर्नुभएको थियो। उहाँले सम्बोधन गरेपछि त्यसलाई जातीय रुपमा हेरियो। कम्तिमा पनि हाम्रो संगीत र संगीतले पारेको प्रभावबारे संसदसम्म कुरा पुग्यो। यसमा चैँ खुसी नै लाग्यो।
गीतको विवाद लयमा थियो तर पछि जातीय रङ पनि लियो। चित्त त पक्कै दुख्यो होला नि ? : आज फेसबुकतिर लेखियो तर फेसबुकमा नलेखिदा पनि हिजो विभेद त भोगेकै हो। हिजो गाउँका पँधेरा, मन्दिरमा त्यस्तो विभेद भोगेकै हो। त्यसैले होला, कसैले मलाई प्रत्यक्ष हेप्दा त्यत्ति छुँदैनथ्यो। तर यो विवाद जातको थिएन, गीतको लयको थियो। यसमा पनि जाततिर जाँदा भने मनलाई छोयो। संगीतको के को जात ? तर त्यसलाई व्यक्तिमा ल्याएर जोडियो। त्यसैले चित्त दुख्यो।
तपाईंको पक्षमा पनि टन्नै देखिए सामाजिक सञ्जालमा। खुसी लागेन ? : माहोल हेर्दा त यो विवादमा भोटिङ गराएको भए अलिकति बढी नम्बर मतिर नै हुन्थ्यो होला तर सिर्जना भन्ने कुरा नियम र फम्र्याटमा मात्र हुँदैन। यो त भावनात्मक पनि हो। एउटा अनुज र अग्रज बीचको सम्बन्धको कुरा हो। त्यो हिसाबले मैले उहाँ(शम्भु)लाई सम्मान दिएर सहमत भएँ।
विवाद कानुनी निकायमा पुगिसकेको थियो तर कानुनी समाधान आउनु अगाडि नै हतारमा सहमति भयो। कानुनी रुपमा हार्छु या रोयल्टी बाँड्नुपर्छ भनेर डराएको हो ?
डराएको होइन। कानुनै प्रस्ट रहेनछ। जस्तो उहाँ(शम्भु राई)ले मुद्दा दिन पाउनुहुन्छ। हामीलाई प्रहरीले छलफलका लागि बोलाउँछ। त्यो कुरा अदालतमा जान्छ तर फैसला गर्न स्पष्ट कानुन छैन भने के गर्ने त ? रोयल्टीबारे केही कानुन छ। त्यो प्राविधिक पाटो हो। कति प्रतिशत मिलेको हो या मिलेको हैन भनेर छुट्याउने आधारै देखिएन। त्यसैले बाहिर सहमति गरेको हो तर हतारमा भने हैन। लामै छलफल भएको थियो।
कानुनको विश्वास भएन त्यसो भए ? : संगीतको ज्ञान भएको वकिल छैनन् नेपालमा। न्यायाधीशलाई पनि संगीतको ज्ञान छैन। उनीहरुले अरुले भनेको आधारमा, सुनेको आधारमा फैसला गर्ने हुन्। त्यहाँनिर कसले कस्तो प्रमाण जुटाउन सक्छ भन्ने हुन्छ अनि मैले मेरो सिर्जनशील समय एउटा गीत मिलेको हो कि होइन भन्नको लागि किन खर्च गर्नु ? भोलि अदालतले शम्भु सरको पक्षमा फैसला गरिदेला वा मेरो पक्षमा फैसला आउला। यसले दुवै पक्ष सन्तुष्ट हुनसक्ने अवस्था भएन। कहीँ न कहीँ गएर यो विषय त टुङ्ग्याउनै प-थ्यो। मैले सहमति गरेर टुङ्ग्याएँ।
सहमति त भइसक्यो अझै चित्त दुखाई किन त ? : यो विवादले मेरो आत्मसम्मान, विश्वास र इमान्दारितामा प्रश्न उठाएको छ। तर, म प्रस्ट छु, मैले उहाँको गीत सुनेर कपी गरेको होइन। गलबन्दीको लय बनाउँदा मैले उहाँको गीत सुनेकै थिइन। गाउँमा रोधी बस्दाको भाका टिप्दा केही मिल्न गएझैँ सुनियो। मैले आफैँलाई त ढाँटेको छैन नि ! संसारले गलत भनोस् तर तपाईंको मनले सही भनेको छ भने तपाईं खुशी हुन सक्नुहुन्छ। मेरो आत्माले मलाई पिरोलेको छैन। तापनि अलिकति लाज हुने रहेछ। अलिकति अप्ठ्यारो महसुस भने भएको हो।
ठूलै टेन्सन भयो है ? : केहीले चर्चामा आएपछि यस्तो भइहाल्छ भनेर सम्झाउनु पनि भएको हो तर एकदमै डिस्टर्ब महसुस गरेँ। धेरै पटक रोएँ। एक्लै बसेँ। रिस उठ्ने मान्छेसँग भेट्दै नभेट्ने, मोबाइल स्विच अफ गर्ने पनि गरेँ। धेरै समय ढोका थुनेर एक्लै पनि बसेँ। ममी, बिन्दु (श्रीमती) लाई त के विषय हो त्यत्ति थाहा पनि थिएन। तर उहाँहरुलाई अब थुनिदिन्छ, जेल जान्छ, चोरेर गरेको रहेछ भनेर एकथरिले सहानुभूति देखाएझैँ गरेर डर देखाएछन्। परिवारमै असर ग-यो। १५ दिन त मानसिक रुपमै विचलित भयौँ।
कपी गरेको हैन त ? पक्का ? : संयोगले मिल्न गयो होला तर मैले बेइमानी गरेको चाहीँ होइन है ! चोरेको होइन। मैले गल्ती गरेको छैन।
‘गलबन्दी’को संगीतकारका रुपमा शम्भु राईलाई क्रेडिट दिने सहमति पनि गर्ने अनि कपी गरेको हैन पनि भन्ने। तपार्इंको कुरा त बाझियो नि ?
सहमतिमा चोरेको, कपी गरेको भनिएको छैन नि ! मिल्न गएको भनिएको छ। संगीतमा नियमले मात्रै संगीतलाई बाँध्दैन। यो त सिर्जनशील कुरा हो। अलिकति पार्ट मिल्न गयो। सहमतिमा त्यो गीतबाट अलिकति प्रभावित भनेर स्वीकारेको हुँ। जानजान प्रभावित भएको हैन भन्नेमा ढुक्क भए पनि कति विवाद गरिराख्ने भनेर सहमति गरेँ।
अलि पेलेको अनुभव भएजस्तो देखियो। हो ? : शम्भु सरले यस्तो भइरहन्छ भनेर अलिकति ठूलो दिल गर्न सक्नुहुन्थ्यो। संगीतमा संयोगले मिल्न गएका हजारौं उदाहरण छन्। गाईको चित्र बनाउँछु भनेर बस्दा बनाउने त्यही कान, पुच्छर, आकार त हो ! आफ्नो मौलिकताका लागि परिवेश फरक बनाउने हो। रङ फरक हुनसक्छ तर गाई त गाई नै हो नि ! लोकगीतमाथि काम गर्दा लोकगीत नै बनाउने हो। समाजकै लय पक्ड्ने हो। त्यसमा अलिकति आफ्नो पहिचान थप्ने न हो ! मैले ‘गलबन्दी’मा रङ भर्दा मूल चित्र एउटै हुन गयो होला भन्ने मात्र हो। त्यो कुरालाई शम्भु सरले अलि ठूलो दिल गरेर सोचिदिनु भएको भए सजिलो हुन्थ्यो। एकोहोरो लागेपछि समस्याको समाधान त गर्नैप-यो। एक पक्ष लचिलो हुनैप¥यो। म नै लचिलो भएँ। प्रकाशले सहमति गर्दा अब लोकगीतको लय र संगीतमा पनि कपिराइट दाबी गर्न मिल्ने गलत नजिर बस्यो। सहमति भएको दिन नेपाली लोकगीतका लागि कालो दिन हो भनेको पनि सुनियो। हो त ?
खै के भन्ने अब यसमा ! सम्झौता गरेर फर्केको बेलामा मलाई अब लोकगीत सकिएछ भन्ने लागेको हो। लोक लयमा पनि यस्तो विवाद हुन थालेपछि नयाँ पुस्ताले के गाउने त ? अघिल्लो पुस्तामै यो त सक्किहाल्यो नि ! अब हामीले लोकगीत नगरे हुने भयो भन्ने लागेकै हो, लागेको छ। लोकगीतका लागि समाजको त्यही चालचलन, भाका लिएर समय सुहाउँदो फ्लेवर थप्ने मात्र त हो ! ठीक छ, हुबहु कपी गरेर कसैको सिर्जनालाई व्यावसायिक प्रायोजनमा उपयोग गर्न पाइएन तर पुराना लोक लयबाट प्रभावित भएर समय अनुकूलको लेपन लगाउँदा पनि झमेला हुन थालेपछि लोकगीत गाएर झमेला व्यहोर्न को तयार हुन्छ ?
लोकगीतको पुस्तान्तरण अग्रज पुस्ताले स्वीकारेन भनेको हो ? : अब आफैँ हेर्नुस् न। हाम्रो पुस्ता भन्दा अगाडिको पुस्ताले हजारौँ लोकगीत रेकर्ड गराइसक्नुभयो। अग्रजहरुले गर्नुभएको सिर्जना पनि यही समाजबाट टिपेर गर्नुभएको न हो। हामीले पनि लोकगीत यही समाजको लय टिप्ने त हो। अब समाजको लय टिप्दा अग्रज पुस्ताले यसलाई अस्तित्वकै सवाल सम्झिने, कपी राइटको इस्यु बनाएर थेचार्ने, निरुत्साहित गर्ने भएपछि नयाँ पुस्ताले किन जोखिम उठाउँछ ? समाज बदलिइसक्यो, गाउँघरको रहनसहन बदलिइसक्यो। अहिलेको पुस्ताले रोदी बसेको ठाउँ खोजेर भेट्छ त अब ? मेलापात जाँदाको मौलिक भाका अहिले घन्किन्छ त ? अब नयाँ लोक गीतै छैन क्या। भएका अग्रजहरुले गाइसक्नुभयो। अनि अब हाम्रो पुस्ताले कसैसँग सामान्य लय पनि नमिल्ने गरी कसरी कुन लोकगीत गाउने त ?
संगीत सिर्जना त बौद्धिक सम्पत्ति पनि हो। के अब त्यसको संरक्षणै नगर्ने त ? : बौद्धिक सम्पत्तिको संरक्षण हुनुपर्छ तर कपी राइटको कुरा मात्र उठाइरहँदा लोकगीतको महत्व, लोकगीतको दायरा, लोकगीतको अर्थ प्रस्ट हुन जरुरी छ। लोकगीत भनेको त समाजको भाका हैन भन्या ? समाजको भाका पहिला जसले उठायो उसैको अधिकार हुने हो त ? यसमा कानुन प्रस्ट भए सजिलो हुन्थ्यो।
तपाईंको विवाद कानुनी रुपमा समाधान हुँदा यो समस्या समाधान हुन्थ्यो नि ? बाहिरै सहमति गर्नुभयो कसरी कानुनले व्याख्या गर्ने त अब ?
लोकगीतको रोयल्टी, कपी राइटबारे दोहोरै बहस हुनुपर्ने थियो तर त्यो मोडमा नपुगी मेरो विवाद सकियो। राम्रो अवसर हामीले गुमायौं, यो स्वीकार्छु। मूल विषयमा भन्दा प्रकाशले गल्ती ग-यो कि शम्भुले भनेर व्यक्ति केन्द्रित बहस भयो। यसले गर्दा विवादले रचनात्मक मोड लिन सकेन। लोकगीतबाट प्रभावित हुन पाउने कि नपाउने ? र, प्रभावित भएका गीतको रोयल्टी के हुने ? यो विषयमा बहस जरुरी छ। भइदिए राम्रो हुन्थ्यो।
लोकभाका कसैको निजी हुँदैन भन्ने पक्षमा हो त अहिले ? : लोकभाका निजी हुने भए कसरी एकपछि अर्को पुस्ताले गाउँछन् त ? हिजोका अग्रजले गाएका लोकगीत अहिलेको पुस्ताले सुनेका छन् ? अहिलेको पुस्तालाई सुनाउन त उनीहरुले रुचाउने हल्का फ्लेवर थपेर दिनुप-यो नि ! नत्र त हाम्रो मौलिक लोकगीत हराइहाल्छ नि ! तर, त्यसलाई सिस्टम बनाएर रोयल्टी र कपी राइटको दायरमा ल्याउन सकिन्छ। अब गलबन्दी नै हेर्नुस् न ! एउटा लय शम्भु सरको देउसी भैलोको लयसँग मिल्यो भने। शम्भु सरको त्यो लय जीवन शर्मा र गणेश रसिक दाइको एउटा गीतसँग मिल्दो रहेछ। हाम्रो गाउँमा त्यही लयमा रत्यौली गाइन्छ। भनेपछि अब कोबाट को प्रभावित भन्ने ? कसको कपिराइट अधिकार ? कसलाई दिने रोयल्टी ? समस्या यही हो। यसमा प्रस्ट भए भावि पुस्तालाई पनि सहज हुन्थ्यो।
अब लोकगीत नगाउने त ? : यो विवादपछि एकदमै निरुत्साहित भएको छु। लोकगीत गाउनै डर भयो। लोकगीतको भाका कताको ल्याउने नमिल्ने ? समस्या भएन त ? बरु -याप हान्ने। -यापमा एउटै मेलोडी भए पनि यस्तो झन्झट हुन्न।
गलबन्दी मात्रै हैन, तपाईंको ‘-याप ब्याटल १’ को लय नारायण गोपालको ‘बैनीको दया छ भने’ सँग मिलेको सुनियो। ‘लुरुरु हुरुरु’ अर्को गीत ‘पिँडालु खुर्केर काट’सँग मिल्यो। ‘बोल माया’ पनि विवादरहित छैन। सबैमा एउटै समस्या। केही कमजोरी त पक्कै भइरहेको छ जस्तो लाग्दैन ?
धेरै गीतहरु छन्। कहीँ न कहीँ प्रभावित भइहाल्छ। -याङकोठ्याङ त कपी गरेको छैन नि ! त्यसमा मेरो क्रियटिभिटी हालेको छु। मान्छेहरु हुबहु कपी गरेर काम गरिरहेका छन्। मलाई भने दशा लागेको हो यो विषयमा। ग्रह बिग्रेको, समय बिग्रेर त्यस्तो भको हो। यसले चोर्छ भनेपछि, हरेक गीत चो-यो होला भनेर कहाँ कहाँबाट खोजेर ल्याउँछन्।
चोरिएको हैन, संयोगवश मिलेको भन्न खोजेको ? कुनै पनि नियतवश छैन। काम गर्दै जाँदा कतै यस्तो सुनिएको हो।
तर गीत चोरकै छाप पो बस्यो है ? : मेरो दुर्भाग्य। यो हुलमुलमा हाम्रा लोकगीत, संगीत कता कता हराइरहेका छन्। मैले स्थापित गराउने प्रयास गरिरहेको छु। दर्शक, स्रोताले रुचाउनुभएको पनि छ। प्रकाशको यो गीत यता मिलेको रहेछ भनेपछि हो रहेछ भनिदिन्छन्। युट्युबमा हेर्नुस् त प्रकाशले चोरेको भाका भन्ने भिडियो पहिलो ट्रेन्डिङमा छ। अनि कसरी काम गर्ने अब ?
नयाँ गीत त ल्याउनुहुन्छ नि ? : अहिले एकदम गाह्रो भइरहेको छ। रिकभर हुँदैछु। दिमागमा केही पनि आएको छैन तर नयाँ गीत त ल्याउनै प-यो। जानेको कामै यही हो। काम त गर्ने प-यो । म पागलै भएको छैन। मनमा आत्मविश्वास भने छ।
‘गलबन्दी’ लाई सिक्वेल आउने संकेतसहित टुंग्याउनुभएको छ। सिक्वेल कहिले आउँछ ? : यो घटनापछि ‘बोलमाया २’को विषय पाएको छु। स्क्रिप्ट लेख्दै छु। गीत र भाका बनाउँदै छु। अहिले भाकामा अल्झिरहेको छु।
July 28, 2019 11:53 am | मनोरञ्जन