Saturday 23rd November 2024

पन्त र आचार्य दुवैको रोजाईमा एनआरएनए कोषाध्यक्षका उम्मेदवार सुदन थापा

5 years अगाडी

काठमाडौं। गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आईसीसी) को कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका सुदन थापा सबैको रोजाईमा परेका छन् । संघको वर्तमान कार्यसमितिमा युवा संयोजक समेत रहेका थापालाई आगामी कार्यकालमा कोषाध्यक्ष पदमा विजय बनाउन अध्यक्षका प्रत्यासी कुमार पन्त र कुल आचार्य दुवैको टिमले निकै सक्रियाता बढाएको छ।

थापाले उम्मेदवारी घोषणासहित एजेण्डा सार्वजनिक गर्दा सबै एनआरएनको रोजाईमा परेका हुन् । त्यसो त थापाले एनसीसीमा कार्यसमिति सदस्यदेखि आईसीसीमा युवा संयोजकसम्मको एनआरएनए यात्रामा सधै आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निभाएर बेग्लै पहिचानसमेत बनाएका छन्।

उनी एनआरएन अभियानमा सम्भावना बोकेका एनआरएनए अभियन्ता मानिन्छन् । विगत १३ वर्षदेखि जापानलाई कर्मथलो बनाउँदै आईरहेका थापा एनआरएनए एनसीसी जापानको स्थापनाकाल देखिनै आबद्ध भएर क्रियाशील हुँदै आएका छन्। उनले एनआरएन अभियानमा एक सशक्त अभियन्ताको छवी बनाएका छन् ।

उनले एनसीसी जापानको कार्यसमिति सदस्य २ कार्यकाल, उपाध्यक्ष, अध्यक्ष, आईसीसीको युवा प्रतिनिधि हुँदै हाल आईसीसीको युवा संयोजकको जिम्मेवारी सम्हाल्दै आएका छन्।

एनआरएनए अभियानमा निरन्तर सक्रिय थापाले आफू विभिन्न पदमा रहेर काम गरिसकेको हुनाले एनआरएनए अभियानबाट बाहिर जान नसक्ने र सधै यो अभियानमै आवद्ध हुने चाहना स्वरुप अग्रज तथा शुभेच्छुकहरूको आग्रहमा संघको कोषाध्यक्षमा उम्मेदवारी दिन लागेको बताउँछन्। उनले विश्व सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न मुलुकहरूमा पुगेर राय तथा सुझाव पनि लिएको बताए।

एनआरएनएलाई वैदेशिक रोजगारमा रहेका नेपालीहरूका समस्यामाथि बढी केद्रित र उनीहरूको सहभागिता बढाउनेतर्फ सहज गर्न पहल गर्ने, नेपालमा वैदेशिक लगानी भित्र्याउन एनआरएनएलाई संस्थागत सहजीकरण केन्द्रको रुपमा विकसित गर्नेतर्फ आफ्नो प्रयास रहने थापाले बताए।

लामो समयदेखि एनआरएन अभियानमा सक्रिय थापा पेशाले व्यवसायी हुन्। उनले आफू कोषाध्यक्ष पदका लागि योग्य रहेको दाबी गरेका छन्। उनी भन्छन् ‘आफूमा भएको अनुभव, दक्षता तथा योग्यतालाई एनआरएन अभियानमा अझ सशक्तढंगले प्रयोग गर्न मैले कोषाध्यक्षमा उम्मेदवारी दिएको हुँ। संघको कोष पारदर्शी, वैज्ञानिक र प्रभावकारी ढंगले चलाउने ज्ञान, सीप र योग्यतासहित अगाडि सरेको छु।’ उनले एनआरएनको कोष चलाउन दीर्घकालिन स्रोतको खोजी गर्ने प्रतिवद्धतासमेत जनाएका छन्।
संघ भित्र देखिएका समस्याको पहिचान गरि कुशलतापूर्वक समाधान गर्न अहम भूमिका निर्वाह गरेका थापा एनआएनएमा विवादरहित नेताका रुपमा चिनिन्छन्। उनले संस्थालाई राजनीति प्रभावबाट मुक्त गराउने सवालमा पनि स्पस्ट धारणा राखेका छन्।

थापाको योगदान

एनआरएनए अभियान तथा सामाजिक कार्यमा थापाले अहिलेसम्म पुर्याएको योगदान अतुल्नीय छ । उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापानको अध्यक्ष रहँदा ५ करोड येनको आपतकालिन राहत कोषको स्थापना, पटक–पटक नेपाल फेस्टिभलको संयोजक, नेपाल जापान कूटनीतिक सम्बन्धको ६० औ गाँठको अवसरमा नेपालमा पहिलो पटक जापान फेस्टिभल तथा ऐतिहासिक नेपाल फेस्टिभलको आयोजना पनि गरेका थिए।

त्यसैगरी मनास्लु फेस्टिवललगायत नेपालमा गएको महाभूकम्पमा जापान सरकार तथा जापानी नागरिकहरूले नेपालप्रति देखाएको सहानुभूति तथा आर्थिक सहयोगलाई धन्यवाद स्वरुप नेपालको पर्यटन प्रवद्र्र्धनको निमित्त जापानका ५० ठाउँ भन्दा बढी स्थानमा स्टेशनको अगाडी ‘धन्यवाद जापान’ कार्यक्रम आयोजना गरेका थिए।

‘हाम्रा धरोहरहरु अझै भत्केका छैनन, हामी सम्पूर्ण नेपालीहरु तपाईहरुले गर्नुभएको माया सद्भाव सहयोगको लागि नेपालमा स्वगत गरेर धन्यबाद दिन चाहन्छौ’ नारासहित एकै समयमा यी ती स्थानमा ‘धन्यवाद जापान’ कार्यक्रम गरिएको थापा बताउँछन्।

सो कार्यक्रमपछि जापानीजहरुको नेपालप्रतिको मोह निकै बढेको थापा स्वयंमको अनुभव छ।

थापा एनआरएनए जापानको नेतृत्वमा रहँदाको कार्यकाललाई सुनौलो कार्यकालको रुपमा जापानवासी नेपालीहरुले लिने गरेको एनआरएनए भित्रकै सदस्यहरु बताउँछन्।

जापानको कुमामोतोमा गएको विनासकारी भूकम्पमा क्षतिग्रस्त क्षेत्रमा ५० बढी स्वयंसेवकसहितको टीमले हजारौ संख्यामा जापानी नागरिकहरुलाई नेपाली खाना खुवाएर, नेपाली योगा सिकाउने कामको नेतृत्व पनि थापाले नै गरेका थिए।

जापानी भोलेन्टियर सेन्टरसँगको सहकार्यमा भ्रकम्प प्रभावित क्षेत्रमा भत्किएका घर तथा सरसफाई गर्ने काममा पनि उनको योगदान थियो।

सो कार्यका लागि जापान सरकारले समेत प्रशंसा गरेको थियो। २०७२ सालमा नेपालमा भूकम्पमा पनि थापाले गैरआवासीय नेपाली संघको तर्फबाट रामेछाप जिल्लाको संयोजक रही ४० भन्दा बढी स्वयंसेवक तथा मेडिकल टिमको नेृतृत्व गर्दै राहत वितरण तथा भूकम्प प्रभावित विभिन्न जिल्लामा काम गरेका थिए।

थापाले युवा संयोजक रहँदै गर्दा पहिलो पटक नेपाल सरकारले गैरआवासीय नेपाली संघलाई विभागीय टिमको हैसियत प्रदान गर्दै ८ औं राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली संघको तर्फबाट संयोजकको भूमिका प्रदान गरेको थियो। ८ औं राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली संघले ६ स्वर्णसहित १४ पदक प्राप्त गरेको थियो। अहिले ती खेलाडीहरू साग खेल्ने अन्तिम तयारीमा छन्।

केहिदिन अघिमात्रै गैर आवासीय नेपाल संघले ‘गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठान’ को स्थापना गरेको छ। । त्यसमा पनि थापाले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।

रोजगारीको लागि विदेश बस्न बाध्य नेपाली खेलाडीहरुलाई पनि राष्ट्रिय खेलकुदमा आवद्ध गराउने मुख्य उद्देश्यका साथ सो प्रतिष्ठान स्थापना गरिएको हो । प्रतिष्ठानले नेपालको खेलकुद क्षेत्रको विकासका लागि अन्तराष्ट्रिय सहायता जुटाउने काम पनि गर्नेछ्।

          October 12, 2019 5:46 pm | टप,प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...