Wednesday 4th March 2026

देशका ५७ लाख ६० हजार युवा बेरोजगार : प्रा. डा. प्याकुरेल

5 years अगाडी

ललितपुर – श्रीलङ्काका लागि पूर्वराजदूत तथा प्रा. डा. विश्वम्भर प्याकुरेलले देशका झन्डै ५७ लाख ६० हजार श्रम गरेर खान सक्ने युवा बेरोजगार रहेको बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य सङ्घको आर्थिक वर्ष २०७८/०७९ बजेटसम्बन्धी पूर्व छलफल कार्यक्रममा प्रा. डा. प्याकुरेलले देशमा १५ देखि २९ वर्ष उमेर समूहका युवाको यति ठूलो हिस्सा बेरोजगार हुँदा विकासले गति लिन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कोरोनाले थलिएको अहिलेकाे अवस्थामा १९ दशमलव २ प्रतिशत युवा प्रताडित भएका देखिन्छ ।’ यसैगरी देशका ८५ प्रतिशत महिला घरायसी काममा मात्र संलग्न रहँदा उनीहरूको लागि सरकारले नीति तथा कार्यक्रम ल्याउन जरुरी रहेको प्याकुरेलको भनाइ छ । ‘सरकारले १०/१० वर्षको बीचमा मात्रै तीन लाख रोजगार सिर्जना गर्न सक्षम नहुँदा बर्सेनि बेरोजगारी समस्या बढ्दै गएको हो’, उहाँले भन्नुभयो ।

अमेरिकाका लागि पूर्वराजदूत प्रा. डा. शङ्कर शर्माले सरकारले विभिन्न कामका लागि प्रवाह गर्ने भनिएको ऋण सहयोग उत्पादित क्षेत्रमा भन्दा अनुत्पादित क्षेत्रमा प्रयोग भइरहेकाले त्यसतर्फ मध्यनजर गर्न जरुरी रहेको सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले आउँदो आर्थिक वर्षका लागि बजेट त ल्यायो तर यो सही ठाउँमा प्रयोग भइरहेको छ वा छैन भनी अनुगमन गर्न समेत जरुरी देखिन्छ ।’

अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीले सरकारले सार्वजनिक गरेको बजेटले सर्वहारा वर्गलाई छुन नसकेको धारणा व्यक्त गर्नुभयो । नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले स्वदेशीका साथै विदेशी बजारमा समेत उत्पादन बढाएर अघि बढ्ने योजना बनाइरहेको बताउनुभयो ।

गोदावरी इकोनोमिक्स फोरमका सल्लाहकार भरत थापाले विकासको चाहनामा भूगोल बिर्सदा प्राकृतिक विपत्ति बढिरहेकाले यसतर्फ दृष्टिगत गर्न जरुरी रहेको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, ‘देशका हाइड्रोपावरहरू खोला छेउछाउमा छन् । यसैगरी प्राकृतिक विपत्ति बढ्दै गएमा तिनीहरू समेत जोखिममा पर्ने हुँदा यसतर्फ बेलैमा सोच्नुपर्ने देखिन्छ ।’

सङ्घका अध्यक्ष जगनाथ महर्जनले गोदावरी क्षेत्र आर्थिक विकास सूचकाङ्कमा पछि परेको बताउँदै यहाँबाट व्यवस्थित बजार सञ्चालन गर्न केही ठाउँका पूर्वाधार निर्माणमा ध्यान दिन जरुरी रहेको बताउनुभयो । उज्यालो

          June 25, 2021 10:08 pm | समाचार,समाज,सुचना


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...