Thursday 28th March 2024

ई–पासपोर्ट भर्न समय पाउन गाह्रो, विभाग भन्छ– ‘चाँडै नै सहज हुन्छ’

2 years अगाडी

मोरङ – रंगेलीका राजकुमार कार्की ई–पासपोर्ट बनाउन काठमाण्डौ आएको चार दिन भयो । चार दिनको बसाइमा उहाँको दैनिक एक हजार पाँच सयका दरले ६ हजार रुपैयाँ खर्च भइसक्यो तर पनि पासपोर्ट भने पाउनुभएको छैन ।

‘बायोमेट्रिक तथा औँलाको छाप राष्ट्रिय परिचय पत्रसँग नमिलेका कारण डकुमेन्ट आएन । अब फेरि सिंहदरबार जानुपर्ने भयो’, उहाँले भन्नुभयो, ‘अब कहिले आउँछ थाहा छैन । काठमाण्डौको बसाइ । महँगी छ । गरिबलाई झन् गाह्रो हुने भो ।’कार्की कुवेत जान लाग्नुभएको हो । उहाँसँग एमआरपी पनि छ, त्यसको म्याद ६ महिनाको मात्रै छ । अहिले कुवेतले पासपोर्टको म्याद दुई वर्ष अनिवार्य हुनुपर्ने बताएपछि उहाँ ई–पासपोर्ट बनाउन आउनुभएको हो ।  ‘तुरुन्तै एमआरपी बनाउन कि त डाक्टरको सर्टिफिकेट ल्याउनुप¥यो, होइन भने प्लेन टिकट । अब कहाँबाट ल्याउनु प्लेन टिकट’, उहाँले भन्नुभयो ।

भन्ने दुई तर लाग्ने धेरै दिन

‘फर्म भर्न त खासै गाह्रो छैन । पढ्न, लेख्न नजान्नेका लागि त गाह्रै छ । साइबर खोज्नुपर्‍याे, साइबरले दुई सय रुपैयाँ लिन्छ’, कार्कीले भन्नुभयो, ‘मैले दुई दिनदेखि कोसिस गर्दा बल्ल समय पाएँ ।’

एमआरपीको तुलनामा ई–पासपोर्ट राम्रो भए पनि राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने र फर्म अपलोड हुन समय लाग्ने कारणले अप्ठेरो भएको उहाँको गुनासो छ । ‘साइबरवालाले दुई दिनको समय बुक भइसकेको भन्दै थिए । अत्यावश्यक भएको अवस्थामा के गर्ने ?’, उहाँले भन्नुभयो ।

चितवनका अर्जुन महत ई–पासपोर्ट बनाउन काठमाण्डौ आउनुभएको यो दोस्रो पटक हो । उहाँ मङ्सिर २ गते पहिलो पटक काठमाण्डौ आउनुभएको हो । त्यस बेला समय उपलब्ध नभएका कारण उहाँ अहिले फेरि आउनुभएको हो ।

‘अहिले ड्राफ्ट मात्र भर्ने हो । फर्म चाहिँ समय पाएपछि भर्ने हो । अहिले तीस वटाको मात्र कोटा छ भन्दै थिए साइबरवाला । अब कहिले पाइने हो थाहा छैन ?’, उहाँले भन्नुभयो ।

महत पनि कुवेत जान लाग्नुभएको हो । कुवेतमा उहाँको दाइ हुनुहुन्छ । दाइले छिटो आउन भन्नुभएको छ, म्यानपावरले पनि छिटो पासपोर्ट ल्याउन भनेको छ । ‘यहाँ आउँदा छिटो हुने अवस्था देखिएन’, उहाँ भन्नुहुन्छ ।

धादिङका दिवाकर सिलवाल श्रीमतीको पासपोर्ट बनाउन काठमाण्डौ आउनुभएको हो । उहाँले एमआरपी बनाउन पनि कोसिस गर्नुभएको थियो तर जिल्लाबाट एमआरपी बनाउन बन्द गरेकाले नारायणहिटी जानुपर्ने भयो । अनि नारायणहिटीमा पनि लामो लाइन बस्नुपर्ने र कोटा सकिएका कारण उहाँ ई–पासपोर्ट बनाउन आउनुभएको हो ।

‘एमआरपी बन्द गरेर छिटै ई–पासपोर्टमा जाने भएपछि छोटो समयका लागि ई–पासपोर्ट बनाएर काम छैन’, सिलवालले भन्नुभयो, ‘आफैँले फर्म भर्न सकिने, बिचौलिया नचाहिने अनि राम्रो पनि भएकाले ई–पासपोर्ट नै बनाउँ भनेर आएको हुँ ।’
एमआरपी भन्दा ई–पासपोर्ट सुरक्षा र गुणस्तरका साथै हेर्दा पनि आकर्षक मानिन्छ ।

ई–पासपोर्टका लागि अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र चाहिन्छ । परिचय पत्र नबनिसकेको भए जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट परिचय पत्र नम्बर लिन सकिन्छ ।

परीक्षणकाल भएका कारण समस्या

सुरुमा केही प्राविधिक समस्या आउँछ कि भनेर दुई–तीन दिन परीक्षणका लागि थोरै पासपोर्ट जारी गरेकाले समय लिन अप्ठेरो परेको राहदानी विभागका प्रवक्ता शरदराज अरनले बताउनुभयो ।
‘अहिले त्यो समस्या हटिसकेको छ । तीन, चार दिनमात्र त्यस्तो भएको हो’, अरनले भन्नुभयो, ‘मङ्सिर २७ गतेसम्मका लागि मात्र एमआरपीको टोकन बाँडिएको छ । २८ गतेदेखि ई–पासपोर्ट मात्र जारी हुन्छ ।’ पढेलेखेको मान्छेलाई फर्म भर्न खासै समस्या नहुने र मोबाइलबाटै फर्म भर्न सकिने पनि अरनले जानकारी दिनुभयो ।

जिल्लामा पाँच हजार रुपैयाँमात्र

अहिले ई–पासपोर्टको शुल्क १२ हजार रुपैयाँ छ । जरुरी नहुनेलाई हतोत्साहित गर्ने उद्देश्यले यसो गरिएको अरनले जानकारी गराउनुभयो । ‘जिल्लाबाट भर्दा पाँच हजार रुपैयाँमै पाइन्छ’, उहाँ भन्नुहुन्छ ।

अहिले ई–पासपोर्ट काठमाण्डौबाट मात्र जारी गरिए पनि अबको एक हप्तामा जिल्लाबाट समेत जारी हुने र त्यसले काठमाण्डौको भिड हटाउने बताउनुहुन्छ अरन ।

भिड हटाउनकै लागि ई–पासपोर्टको व्यवस्था गरिएको र अब छिटै नै मागेजति पासपोर्ट जारी गर्न सकिने पनि उहाँले बताउनुभयो । ‘फर्म भरेको भोलिपल्ट पासपोर्ट पाउन सकिने र कुन समयमा आउने हो समयसमेत फर्ममा उल्लेख हुने हुँदा भिड हुँदैन’, अरनको दाबी छ ।

धनगढीका पारस क्षेत्रीले फर्म भरेको दुई दिनमा ई–पासपोर्ट पाउनुभयो । उहाँले धनगढीबाटै राष्ट्रिय परिचय पत्रका लागि फर्म भरेकाले छिटो भएको हो ।

‘जिल्लाबाट फर्म भरेकाले छिटो भयो । अरूको त तीन, चार लागेको भन्ने सुनेको छु’ क्षेत्रीले भन्नुभयो, ‘भित्र ६ वटा फोटो खिच्ने ठाउँ भए पनि तीन वटामा मात्र खिचेको छ । सबैमा खिच्ने भए अझ छिटो होला ।’ ई–पासपोर्ट हात परेपछि उहाँले भन्नुभयो, ‘धाइयो, पाइयो, खुसी लागेको छ ।’

परराष्ट्रमन्त्री नारायण खड्काले शताब्दी पुरुष सत्यमोहन जोशीलाई गएको मङ्सिर १ गते ई–पासपोर्ट वितरण गरी यसको सुरुवात गर्नुभएको थियो ।  साभार उज्यालो

 

 

 

          December 4, 2021 1:15 am | समाचार,सुचना


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...