Monday 26th May 2025

२ अर्ब १५ करोड रुपैयाँ खर्चेर पैदलमार्ग मर्मत गर्दै काठमाण्डाै महानगर

2 years अगाडी

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले चालु आर्थिक वर्षमा दुई अर्ब १५ करोड रुपैयाँकाे लागतमा पैदलमार्गको मर्मत तथा सुधार गर्ने भएको छ । यसका लागि सबैजसो सडक खण्डको लागत अनुमान तयार भइसकेको र केही क्षेत्रमा सम्झौता भई काम शुरु पनि भइसकेको महानगरका सार्वजनिक निर्माण विभागका निर्देशक सुरेशकुमार राईको भनाइ छ ।

अहिले महानगर क्षेत्रभित्र झन्डै एक हजार तीन सय किलोमिटर सडक सञ्जाल छ । यसमध्ये आठ मिटरभन्दा कम चौडाइ भएका एक हजार किलोमिटर सडक महानगरको स्वामित्वमा छ ।

महानगरका अनुसार अहिले वडा नम्बर २६ लैनचौरबाट वडा नम्बर १६ सोह्रखुट्टे हुँदै बालाजुसम्मको सडक किनारा दुवैतर्फ चार करोड ५५ लाख रुपैयाँमा काम भइरहेको छ । वडा नम्बर २६ लैनचौरबाट वडा नम्बर २ को लाजिम्पाट, वडा नम्बर ३ को महाराजगञ्ज हुँदै चक्रपथसम्मको खण्डका लागि १० करोड रुपैयाँमा सम्झौता भइसकेको छ ।

साथै वडा नम्बर २८ को प्रदर्शनीमार्गमा काम शुरु भइसकेको छ । यसको लागत तीन करोड ७८ लाख रुपैयाँ रहेको छ । वडा नम्बर ११ को त्रिपुरेश्वरदेखि वडा नम्बर २२ सुन्धारा, वडा नम्बर २७ र २८ को सिमाना महाबौद्ध, रत्नपार्क, जमल हुँदै वडा नम्बर २६ को लैनचौरसम्मको सडक खण्डका लागि निर्माण पक्षसँग १८ करोड रुपैयाँमा सम्झौता भइसकेको निर्देशक राईले जानकारी दिनुभयो ।

महानगरको वडा नम्बर ४ को बालुवाटार सडक खण्डमा निर्माणका लागि छ करोड ३५ लाख रुपैयाँमा सम्झौता भएको छ । वडा नम्बर ३२ को तीनकुनेदेखि वडा नम्बर ९ सिनामङ्गल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वार, सञ्चारग्राम, तिलगङ्गा हुँदै वडा नम्बर ८ को गौशालासम्मका लागि छ करोड ६९ लाख रुपैयाँमा सम्झौता भएको छ । त्यसैगरी वडा नम्बर १० नयाँ बानेश्वरदेखि वडा नम्बर ९ पुरानो बानेश्वरसम्मका लागि तीन करोड २३ लाख रुपैयाँ बजे विनियोजन गरिएको छ ।

वडा नंम्बर २८ को बागबजारदेखि वडा नम्बर २९ चारखाल, वडा नम्बर ३० को सिमाना डिल्लीबजार पिपलबोट, मैतीदेवी चोक, सेतो पुल, वडा नम्बर ९ को पुरानो बानेश्वर, वडा नम्बर ३१ को भीमसेनगोला हुँदै वडा नम्बर ९ को सिनामङ्गल सडक खण्डका लागि १० करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

साथै वडा नंम्बर १३ को कालीमाटीदेखि सोल्टीमोड हुँदै वडा नम्बर १४ को कलङ्कीसम्म, वडा नम्बर ८ को गौशालादेखि वडा नम्बर ७ को चावहिलसम्म, वडा नम्बर ८ गौशालादेखि वडा नम्बर ९ रातो पुलसम्मको सडक खण्डलाई १० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

अन्य केही सडकका पनि कतै सम्झौता अन्तिम चरणमा पुगेको छ भने कतै काम शुरु भइसकेको विभागले जानकारी दिएको छ । चालु आवमा महानगरले पूर्वाधार निर्माण तथा सुधारका लागि सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । उज्यालो

          October 8, 2023 4:14 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...