

साँझबिहान इँटा सुकाउन ओल्टाइपल्टाइ गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्: डाक्टर बन्ने चाहना छ

माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा गत शुक्रबार सार्वजनिक हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठ स्थानीय किसानको धान रोपाइँको मेला गएर भर्खर फर्किएकी थिइन्।
चाँगुनारायण–८ सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसइई दिएकी उनलाई एसइईको नतिजा सार्वजनिक भयो भन्ने खबरले आफ्नो नतिजाबारे उत्सुक हुनु स्वाभाविकै हो। हतारहतार अनलाइनमार्फत आफ्नो नतिजा खोज्न थालिन्। नतिजा आउँदा खुसीको सीमा रहेन। उनी सर्वोत्कृष्ट अङ्क ४ जिपिएसहित उत्तीर्ण भइन्।
सामुदायिक विद्यालयमा अध्ययन गरेर पनि ४ जिपिए हासिल गरेकी उनी भक्तपुरका ३० सर्वोत्कृष्ट विद्यार्थीमध्ये एक बन्न सफल भइन्, भने चाँगुनारायण नगरपालिकाकै सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी बनिन्।
गोमाको थातथलो रामेछापको खनियाँपानी हो। उनी चार वर्षको उमेरमा अभिभावकसँग खनियाँपानीबाट भक्तपुर आएकी हुन्। परिवारको कमजोर आर्थिक अवस्था र छोरी गोमाको पढाइप्रतिको रुचिका कारण खनियापानी छाडेर भक्तपुरको सुडाल आएको गोमाका बुबा मीनबहादुर श्रेष्ठले बताए।
‘एकातर्फ कमजोर आर्थिक अवस्था अर्कोतर्फ छोरी गोमाले सानै बेलादेखि पढाइप्रति रुचि राख्ने भएकाले आफ्नो थातथलो छोडेर भक्तपुर आएँ, कामको खोजी गर्दै। त्यो बेला गोमा चार वर्षकी थिइन्,’ मीनबहादुरले भने, ‘रामेछापको खनियाँपानीबाट भक्तपुर झर्नुको खास कारण छोरीको पढाइ नै हो।’
भक्तपुर आएर इँटाभट्टामा काम सुरु गरेका मीनबहादुरले गोमालाई नजिकैको महेन्द्रग्राम माध्यमिक विद्यालयमा भर्ना गरिदिए। ‘खनियाँपानीको लेकबाट बेँसीसम्मको विद्यालय पुग्न एक घण्टा ओरालो लाग्नुपर्थ्यो। यसैले ज्याला मजदुरी गरेर, इँटा पारेर, भारी बोकेर भए पनि पढाउँला भनी भक्तपुर सरेका हौँ। भक्तपुरमा कामको सिलसिलामा इँटाभट्टामा काम गरेँ, इँटा पारे, छोरीलाई इँटा भट्टासँगैको विद्यालयमा भर्ना गरिदिएँ।’
दिउँसो विद्यालय जाने गोमा साँझबिहान भने इँटाभट्टको खलामा खेल्दै हुर्कन थालिन्। उमेरसँगै गोमाले बुबाआमाको काममा सघाउन थालिन्। दिउँसो विद्यालय जाने, साँझबिहान खलाको इँटा सुकाउन ओल्टाइपल्टाइ गर्ने उनको दैनिकी बन्दै गयो। त्यसरी नै दैनिकी अघि बढेको गोमाले कक्षा ९ सम्म लगभग उनी रुटिनमा दैनिकी बिताइन्।
कक्षा १० पुगेपछि भने गोमाले आफ्नो दैनिकीलाई केही परिवर्तन गरिन्। ‘बुबाआमाले पनि अबको एक वर्ष पढाइ ध्यान दिन भन्नुभयो। एसइई दिनुपर्ने भएकाले विद्यालयले पनि पढाईमा जोड दिन सुझाव दिनुभयो। त्यसैले मैले आफ्नो दैनिकीलाई केही परिमार्जन गरेर पढाइमा ध्यान दिन थालेँ। यसैको परिणाम आज मैले एसइईमा राम्रो नतिजा पाएँ,’ उनले भनिन्।
गोमाले भविष्यको लक्ष्य डाक्टर बन्ने रहेको बताइन्। तर त्यसका लागि कडा मेहनतका साथ पढेर छात्रवृत्तिमा नाम निकाल्नुको विकल्प नभएको उनले बताइन्। ‘विज्ञान सङ्कायमा प्लस टु गरी नेपालको कुनै पनि मेडिकल कलेजमा छात्रवृत्तिमा नाम निकालेर एम बिबिएस पढ्ने लक्ष्य छ। एक असल डाक्टर बनेर मेरो जन्मदाता, देश र जनताको निःस्वार्थ रूपमा सेवा गर्नु नै मेरो मुख्य लक्ष्य हो। यसका लागि कडा मेहनत चाहिन्छ भन्ने ज्ञान छ। सोही अनुसार तयारी गर्छु,’ उनले भनिन्। नागरिक
June 30, 2025 11:50 pm | शिक्षा
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

देउवासँग कोइरालाले मागे ओलीलाई प्रधानमन्त्री बनाउनुको चित्तबुझ्दो जवाफ

साँझबिहान इँटा सुकाउन ओल्टाइपल्टाइ गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्: डाक्टर बन्ने चाहना छ

निर्वाचन समितिद्वारा एनसीसी कुवेतको नवाैं अधिवेशनका लागि आचारसंहिता र निर्वाचन कार्यतालिका सार्वजनिक

कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले आउदो ११ जुलाई २०२५ शुक्रवारको दिन छैटौं महाअधिवेशन कार्यक्रम गर्ने भएको छ ।

माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कारबाट पत्रकार शुरेस गुरुङ सम्मानित

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको १६ औ स्थापना दिवश एवम श्रमिक सचेतना कार्यक्रमको सम्पूर्ण तयारी।

इरानमा सत्ता परिवर्तन हुन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको टिप्पणी

भारतको उत्तराखण्डमा बन्धक ३५ जना नेपालीको उद्धार

