Saturday 28th February 2026

राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी

2 months अगाडी

सुर्खेत – लोपोन्मुख फिरन्ते राउटे समुदायका युवा युवतीलाई प्राथमिक उपचारसम्बन्धी जानकारी दिन सुर्खेतमा तालिम आयोजना गरिएको छ । तालिममा सीमान्तकृत राउटे समुदायका आठ जना युवती र सात जना युवा सहभागी रहेका छन् ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका जङ्गल क्षेत्रमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायको अहिले कूल जनसङ्ख्या एक सय ३३ मात्रै छ । अस्वस्थ जीवनशैली तथा जाँडरक्सीका कारण उनीहरुको जनसङ्ख्या घट्दै गएको छ ।

अहिले सुर्खेतको लेकबेँसी नगरपालिका–७ मा रहेको जङ्गल क्षेत्रमा बसोबास गरिरहेका छन् । सहभागीलाई नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाका स्वास्थ्यकर्मीले प्रयोगात्मक अभ्यासमार्फत प्राथमिक उपचारका आधारभूत सीप सिकाउने नेपाल रेडक्रस सोसाइटी सुर्खेतका सभापति रामलाल आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार तालिमपछि चोटपटक वा आकस्मिक स्वास्थ्य समस्या देखिँदा अस्पताल लैजानुअघि प्राथमिक उपचार गर्न सक्ने हुने अपेक्षा गरिएको छ ।

कर्णाली प्रदेश सरकारका सामजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेशको पहिचानका रूपमा अस्तित्वमा रहेको राउटे समुदायको संरक्षण सबैको साझा दायित्व भएको बताउनुभयो । उहाँले कुनै समय ‘पैसा छोए पाप लाग्छ’ भन्ने विश्वास राख्ने राउटे समुदायका युवायुवतीले आधुनिक स्वास्थ्योपचारप्रति देखाएको चासोले सकारात्मक परिवर्तनको सङ्केत गरेको छ ।

कार्यक्रममा दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले राउटे समुदायलाई परिचयपत्र वितरणसँगै सामाजिक सुरक्षा भत्ता उपलब्ध गर्दै आएको बताउनुभयो । राउटे समुदायका नागरिकलाई नागरिकता प्रदान गर्न पालिकाले पहल थालेको र प्रस्ताव जिल्ला प्रशासन कार्यालयमा पुगिसकेको समेत उहाँले जानकारी दिनुभयो ।

राउटे समुदायको जीविकोपार्जन सुधारका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका कार्यकारी निर्देशक हिरासिं थापाले पछिल्लो समय राउटे युवाहरू आधुनिक चिकित्सासम्बन्धी उपचारप्रति विश्वास गर्न थालेकाले प्राथमिक उपचार तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

परम्परागत घरेलु उपचारका कारण जटिल स्वास्थ्य समस्या देखिन थालेकाले नयाँ पुस्तालाई आधुनिक उपचार पद्धतिबारे जानकारी दिन तालिमले सहयोग पुर्याउने अपेक्षा गरिएको उहाँले बताउनुभयो । उज्यालो

          January 7, 2026 11:21 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...