Thursday 15th January 2026

सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो

2 hours अगाडी

केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहनुभएको थियो । एकदिन छाडा छोडिएको एउटा कुकुर उहाँहरू नजिकै पुग्यो ।

पाहुनालाई कुकुरले टोक्ला भनेर सुरक्षा गार्ड दगुर्दै त्यहाँ आइपुग्नुभयो । हतारिदैँ चोट लाग्ने गरी लखेट्नुभयो । त्यो देखेर ती आमाछोरीलाई नरमाइलो लाग्यो । दुवैका आँखा रसाए । उहाँहरूले भगाइसकेको कुकुर खोज्न सुरक्षा गार्डलाई आग्रह गरे । 

त्यही अनुरोधअनुसार सुरक्षा गार्डले भागेको कुकुर खोजेर ल्याइदिनुभयो । आमाछोरीले कुकुरलाई सुमसुम्याउँदै माया गरे । माया मात्रै गरेनन्, कुकुरलाई आफ्नो देश अमेरिका लिन निधो गरे । 

ती विदेशी पाहुनालाई व्यवस्थापनमा सहयोग पुर्याउनुभएका विनोद ढकालले त्यो कुकुर यसै साता अमेरिका पुगेको बताउनुभयो । उहाँका अनुसार अमेरिकी नागरिक ५० वर्षीया चन्दा रेनेग्रेगर र उहाँकी १६ वर्षीया छोरी म्याडिसनले लखेटिएको कुकुरलाई प्रक्रिया मिलाएर अमेरिका लैजानुभएको हो ।

ढकालले भन्नुभयो, ‘कुकुरलाई पिट्दा रोएका ती आमाछोरीले अमेरिका लैजान्छौँ भनेपछि सबै प्रक्रिया पुर्याएर पठाएको हुँ । गएको आइतवार त्यहाँ पुगेको खबर पाउँदा निकै खुशी लागेको छ ।’ गएको जुनमा उहाँहरू यहाँ आउनुभएको थियो । दुई हप्ता होटलमा बस्ने क्रममा यो घटना भएको थियो ।

ढकालका अनुसार त्यतिबेला दुवै जना पूर्वनिर्धारित कार्यसूचीका कारण कुकुर रेखदेखका लागि एक जना व्यक्तिलाई जिम्मा लगाएर जानुभयो । उहाँले भन्नुभयो, ‘पशु डाक्टरको परामर्शमा नियमित स्वास्थ्य परीक्षण गर्दै कुकुरलाई राखियो । पछि फिट टू फ्लाइटको अनुमति र पेट पासपोर्ट बनाएर कतार एयरलाइन्समार्फत कुकुरलाई पठाइयो । त्यो कुकुर अमेरिकाको कोलोराडोमा पुगेको छ ।’

कुकुर अमेरिका पुर्याउने सबै प्रक्रिया पूरा गर्दा अमेरिकन आमाछोरीले १० हजार अमेरिकी डलरभन्दा बढी खर्च गरेको ढकालले सुनाउनुभयो । ‘मानिसलाई जनावरको माया कतिसम्म हुँदोरहेछ भन्ने उनीहरूबाट थाहा पाएँ । अमेरिका पुगेपछि दुई दिन क्वारेन्टिनमा राखेको खबर र स्वास्थ्य परीक्षण गरेर बाहिर हिँडाइएको तस्वीर र भिडियो पठाएपछि म पनि ढुक्क भएको छु’, ढकालले भन्नुभयो । उज्यालो 

          January 15, 2026 3:04 pm | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...