राजनीति ‘बाईबाई’ गाईपालनमा हाइहाइ
नेपालगञ्ज, ७ माघ । मुलुकमा बहुदलीय प्रजातान्त्रिक व्यवस्थाका लागि निर्णायक आन्दोलनको समयमा नेपाल विद्यार्थी संघको विभिन्न स्तरको नेतृत्व गर्नुभएका गंगा कार्की अहिले राजनीतिबाट हराउनु भए पनि गाईपालनमा हाइहाइ हुनुहुन्छ । राजनीतिलाई ‘बाइबाइ’ गरी थालिएको गाईपालनले उहाँलाई मनग्ये आम्दानी भएको छ ।
‘‘जनताको भलो र देश विकासभन्दा आफ्नो विकासका लागि नेताहरू केन्द्रित भएपछि राजनीति छाडेँ र गाईपालन थालेँ,’’ कार्कीको भनाइ छ । बाँकेको कोहलपुर–३ मैटहवामा कृतिका गाई फर्म स्थापना गरेर सात वर्षदेखि गाईपालन गरिरहनुभएका कार्कीको गोठमा अहिले ५६ वटा गाई छन् । दैनिक डेढ सय लिटर दूध बिक्री गरेर मासिक डेढ लाख रुपियाँभन्दा बढी आय भइरहेको उहाँले बताउनुभयो ।
दोलखाबाट सात वर्षअघि बाँकेमा आएर उहाँले गाईपालन शुरु गर्नुभएको हो । त्यसबेलाको सम्झना गर्दै उहाँ भन्नुहुन्छ, ‘‘श्रीमतीको गहना राष्ट्रिय वाणिज्य बैंकमा धितो राखी ५२ हजार रुपियाँ ऋण लिएर दुइटा गाई पाल्न थालको हुँ । एक करोड रुपियाँभन्दा बढीको लगानी भइसकेको छ । अहिले फर्ममा ५६ वटा गाई छन् ।’’
अहिले ‘अफ सिजन’ रहेकाले दैनिक १५० लिटर मात्रै दूध उत्पादन भइरहेको छ । सिजनमा त दिनकै तीन सय लिटर दूध उत्पादन हुने उहाँ बताउनहुन्छ । उहाँको लक्ष्य भने दैनिक पाँच सय लिटर दूध उत्पादन गर्ने रहेको छ । त्यसका लागि गाईको सङ्ख्या दुई सय पु¥याउनु पर्छ । लक्ष्य अनुसार काम भए उहाँको आय मासिक तीन लाख रुपियाँ पुग्ने छ । उहाँ आफ्नो गाई फर्म पश्चिम नेपालकै सबैभन्दा ठूलो भएको दाबी गर्नुहुन्छ ।
दोलखा तामाकोशी निवासी कार्की २०४५ सालमा नेपाल विद्यार्थी संघ दोलखाको अध्यक्ष निर्वाचित हुनुभयो भने २०४८ सालमा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो ।
काँग्रेस जिल्ला कार्यसमिति सदस्य, महासमिति सदस्य र राष्ट्रिय युवा परिषद्को सदस्य समेत भइसक्नु भएका कार्की राजनीतिमा चाकरी, चाप्लुसी गर्नेहरू मात्रै अगाडि जान थालेपछि आफू पछाडि हटेको बताउनु हुन्छ ।
कोहलपुर–३, मैटहवामा जग्गा भाडामा लिएर गाईपालन शुरु गर्नुभएका कार्कीले आफ्नो गाई फर्मलाई स्रोत केन्द्रका रुपमा स्थापित गर्ने योजना रहेको पनि जानकारी दिनुभयो । सरकारी सहयोग हुने हो भने छाडा रहेका गाईलाई ल्याएर ‘ब्रिड’ गरी कृत्रिम गर्भाधानमार्फत् गुणस्तर विकास गर्न सकिने योजना पनि उहाँले सुनाउनुभयो ।
कोहलपुर नगरपालिकाले दूध दुहुने मेसिन र हाते ट्याक्टर सहयोग गरेको जनाउँदै उहाँले सरकारबाट अन्य कुनै सहयोग नभएको गुनासो गर्नुभयो । दूध विक्रीका लागि बजारको कुनै पनि समस्या नरहेको प्रष्ट्याउँदै कार्कीले कोहलपुरस्थित शिक्षण अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले अधिकांश दूध खरिद गर्ने गरेको बताउनुभयो । कार्कीले दूध विक्रीका लागि कोहलपुर बजारमा ‘साई डेरी’ पनि सञ्चालन गर्नुभएको छ ।
दूधको सही मूल्य नपाउनु, दानाको मूल्य वृद्धि हुँदै जानु, दुग्ध विकास आयोजनाले निकै सस्तोमा दूध खरिद गर्नु, सरकारी अनुदानको दुरुपयोग हुनु र जग्गाको व्यवस्थापन नहुनु गाईपालनका लागि समस्या भएको उहाँले बताउनु भयो । कानुनमा स्नातक र मानविकीमा स्नातकोत्तर गर्नुभएका कार्कीले गाईपालन व्यवसायबाट आफू पूर्णरुपमा सन्तुष्ट रहेको बताउनुभयो । देशको आर्थिक विकासका लागि थोरै भएपनि केही सहयोग गर्न पाएकोमा खुशी रहेको बताउनु हुन्छ ।
January 21, 2019 12:15 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै