राजनीति ‘बाईबाई’ गाईपालनमा हाइहाइ
नेपालगञ्ज, ७ माघ । मुलुकमा बहुदलीय प्रजातान्त्रिक व्यवस्थाका लागि निर्णायक आन्दोलनको समयमा नेपाल विद्यार्थी संघको विभिन्न स्तरको नेतृत्व गर्नुभएका गंगा कार्की अहिले राजनीतिबाट हराउनु भए पनि गाईपालनमा हाइहाइ हुनुहुन्छ । राजनीतिलाई ‘बाइबाइ’ गरी थालिएको गाईपालनले उहाँलाई मनग्ये आम्दानी भएको छ ।
‘‘जनताको भलो र देश विकासभन्दा आफ्नो विकासका लागि नेताहरू केन्द्रित भएपछि राजनीति छाडेँ र गाईपालन थालेँ,’’ कार्कीको भनाइ छ । बाँकेको कोहलपुर–३ मैटहवामा कृतिका गाई फर्म स्थापना गरेर सात वर्षदेखि गाईपालन गरिरहनुभएका कार्कीको गोठमा अहिले ५६ वटा गाई छन् । दैनिक डेढ सय लिटर दूध बिक्री गरेर मासिक डेढ लाख रुपियाँभन्दा बढी आय भइरहेको उहाँले बताउनुभयो ।
दोलखाबाट सात वर्षअघि बाँकेमा आएर उहाँले गाईपालन शुरु गर्नुभएको हो । त्यसबेलाको सम्झना गर्दै उहाँ भन्नुहुन्छ, ‘‘श्रीमतीको गहना राष्ट्रिय वाणिज्य बैंकमा धितो राखी ५२ हजार रुपियाँ ऋण लिएर दुइटा गाई पाल्न थालको हुँ । एक करोड रुपियाँभन्दा बढीको लगानी भइसकेको छ । अहिले फर्ममा ५६ वटा गाई छन् ।’’
अहिले ‘अफ सिजन’ रहेकाले दैनिक १५० लिटर मात्रै दूध उत्पादन भइरहेको छ । सिजनमा त दिनकै तीन सय लिटर दूध उत्पादन हुने उहाँ बताउनहुन्छ । उहाँको लक्ष्य भने दैनिक पाँच सय लिटर दूध उत्पादन गर्ने रहेको छ । त्यसका लागि गाईको सङ्ख्या दुई सय पु¥याउनु पर्छ । लक्ष्य अनुसार काम भए उहाँको आय मासिक तीन लाख रुपियाँ पुग्ने छ । उहाँ आफ्नो गाई फर्म पश्चिम नेपालकै सबैभन्दा ठूलो भएको दाबी गर्नुहुन्छ ।
दोलखा तामाकोशी निवासी कार्की २०४५ सालमा नेपाल विद्यार्थी संघ दोलखाको अध्यक्ष निर्वाचित हुनुभयो भने २०४८ सालमा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो ।
काँग्रेस जिल्ला कार्यसमिति सदस्य, महासमिति सदस्य र राष्ट्रिय युवा परिषद्को सदस्य समेत भइसक्नु भएका कार्की राजनीतिमा चाकरी, चाप्लुसी गर्नेहरू मात्रै अगाडि जान थालेपछि आफू पछाडि हटेको बताउनु हुन्छ ।
कोहलपुर–३, मैटहवामा जग्गा भाडामा लिएर गाईपालन शुरु गर्नुभएका कार्कीले आफ्नो गाई फर्मलाई स्रोत केन्द्रका रुपमा स्थापित गर्ने योजना रहेको पनि जानकारी दिनुभयो । सरकारी सहयोग हुने हो भने छाडा रहेका गाईलाई ल्याएर ‘ब्रिड’ गरी कृत्रिम गर्भाधानमार्फत् गुणस्तर विकास गर्न सकिने योजना पनि उहाँले सुनाउनुभयो ।
कोहलपुर नगरपालिकाले दूध दुहुने मेसिन र हाते ट्याक्टर सहयोग गरेको जनाउँदै उहाँले सरकारबाट अन्य कुनै सहयोग नभएको गुनासो गर्नुभयो । दूध विक्रीका लागि बजारको कुनै पनि समस्या नरहेको प्रष्ट्याउँदै कार्कीले कोहलपुरस्थित शिक्षण अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले अधिकांश दूध खरिद गर्ने गरेको बताउनुभयो । कार्कीले दूध विक्रीका लागि कोहलपुर बजारमा ‘साई डेरी’ पनि सञ्चालन गर्नुभएको छ ।
दूधको सही मूल्य नपाउनु, दानाको मूल्य वृद्धि हुँदै जानु, दुग्ध विकास आयोजनाले निकै सस्तोमा दूध खरिद गर्नु, सरकारी अनुदानको दुरुपयोग हुनु र जग्गाको व्यवस्थापन नहुनु गाईपालनका लागि समस्या भएको उहाँले बताउनु भयो । कानुनमा स्नातक र मानविकीमा स्नातकोत्तर गर्नुभएका कार्कीले गाईपालन व्यवसायबाट आफू पूर्णरुपमा सन्तुष्ट रहेको बताउनुभयो । देशको आर्थिक विकासका लागि थोरै भएपनि केही सहयोग गर्न पाएकोमा खुशी रहेको बताउनु हुन्छ ।
January 21, 2019 12:15 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी