Saturday 20th December 2025

बालक्लब द्धारा बाख्रापालन शुरु

7 years अगाडी

भद्रपुर । झापाको धुलाबारी माध्यमिक विद्यालयमा रहेको प्रकृति इको क्लबले आर्थिक स्रोतका लागि बाख्रापालन शुरु गरेको छ ।

एक वर्ष अघि राष्ट्रिय बाल क्लब सम्मेलनमा उक्त क्लबले उत्कृष्ट क्लबका रुपमा पुरस्कारबापत पाएको रु २५ हजारले चारवटा बाख्रा किनेर पाल्न शुरु गरेको हो । हाल विद्यालय परिसरमै रु दुई लाखभन्दा बढीका आठ खसीबाख्रा रहेको बाल क्लबका संरक्षक शिक्षक रमेश दाहालले बताए । जिल्लाकै नमूना क्लबका रुपमा रहेको यस क्लबमा आबद्ध विद्यार्थीले नै बाख्राको हेरचाह गर्दै आएका छन् । “बाख्राको हेरचाह र खानपानको व्यवस्था आफैँ विद्यार्थीले गर्छन्”, उनले भने, “बिहान बेलुका भने विद्यालयमा रहेका पालेले सहयोग गर्नुहुन्छ ।”

विद्यालयमा प्राविधिक शिक्षकको रुपमा भेटेनरी कक्षा पनि सञ्चालन भइरहेको हुँदा बाख्रा बिरामी परेमा पनि विद्यार्थीले उपचार गर्दै आएको शिक्षक दाहालले बताए। बाल क्लबका विद्यार्थीले विद्यालयमा विभिन्न कार्यक्रम पनि गर्दै आएका छन् । उनीहरुले विद्यालयमा बालमैत्री धारा जडान, छात्रामैत्री शौचालय महीनावारी हुँदा प्रयोग गरिने सेनेटरी प्याड र हरेक कक्षा कोठामा शुद्ध पिउने पानीको फिल्टरसमेत राखेका छन् ।

क्लबले बाल विवाह रोक्ने, चेतनामूलक नाटकलगायत कार्यक्रम प्रदर्शन गर्ने, हरित विद्यालय बनाउने अभियानसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । बाल क्लबका सचिव गोविन्द घिमिरेले प्रत्येक तीन÷तीन महीनाको अन्तरालमा आफूहरूले फिनल्याण्डमा रहेको बाल क्लबका सदस्यसँग स्काइपमार्फत बाल अधिकारसम्बन्धी अन्तक्र्रियासमेत गर्ने गरेको बताए।

“हामीले गर्ने विभिन्न कार्यक्रममा लाग्ने खर्चका लागि प्रत्येक महीना विद्यार्थीबाट रु पाँच क्लबमा जम्मा गर्छौं”, सचिव घिमिरेले भने, “विद्यालयमै  क्लोरिन झोल (पानी शुद्धीकरणमा प्रयोग गरिने) उत्पादन गरेर अभिभावक र अन्य विद्यालयलाई समेत बेच्दै आएका छौँ ।” विद्यालयमा कक्षा १ देखि १२ सम्म दुई हजार १४५ विद्यार्थी रहेकामा कक्षा १ देखि १० सम्मका एक हजार ३४५ विद्यार्थी क्लबमा आबद्ध छन् ।

          February 14, 2019 11:07 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...