अब मन्दिरमा बिहे गर्ने जोडीले पुजारीलाई नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र देखाउनुपर्ने
लमही । पुजारीले मन्दिरमा उमेर नपुगी विवाह गर्न आएका जोडीको विवाह रोक्दै आएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री बनाउने योजनाअनुसार बालविवाह न्यूनीकरण गर्न मन्दिरका पुजारीलाई अभिमुखीकरण तालीम प्रदान गरेपछि पुजारी नै बालविवाह रोक्न सक्रिय बनेका हुन् ।
तुलसीपुर क्षेत्रमा सबैभन्दा बढी विवाह हुने त्रिशिद्धेश्वरी मन्दिरबाट चालू आर्थिक वर्षको अहिलेसम्म २८ बालविवाह रोकिएको पुजारी बुद्धिराम भट्टराईले बताउनुभयो । उहाँका अनुसार विवाहको सिजन हुने असोजमा १८, मङ्सिरमा छ र माघमा चार गरी २८ बालविवाह रोकिएको हो ।
मन्दिरका पुजारी भट्टराईका अनुसार अहिले मन्दिरमा विवाह गर्न आउने जोडीको नागरिकता वा शैक्षिक योग्यताको प्रमाणपत्रमा राखिएको जन्ममिति हेरेर मात्रै विवाह गर्ने गरिन्छ । “नगरपालिकाले हामीलाई अभिमुखीकरण तालीम दिएपछि बालविवाहलाई रोक्दै आएका छौँ”, उहाँले भन्नुभयो, “हामीले विवाह गर्ने जोडी आएपछि दुवै जनाको अनिवार्य नागरिकता वा शैक्षिक योग्यताको प्रमाणपत्रमा भएको जन्ममिति हेर्ने गरेका छौँ ।”
बीस वर्ष पूरा नगरेका जोडीको विवाह नगराउने गरेको उहाँको भनाइ छ । “हामीले २० वर्ष पूरा नगरेका जोडीलाई अहिले लगन छैन, भनेर फर्काउने गरेका छौँ”, उहाँले भन्नुभयो, “उनीहरुको लगन २० वर्ष पूरा भएपछि मात्रै छ भन्ने गरेका छौँ ।” कतिपय जोडी तथा अभिभावकले विवाह गराइदिन दबाबसमेत दिने गरे पनि आफूहरुले उमेर नपुगेकालाई लगन नभएको भन्दै विवाह रोक्दै आएको उहाँको भनाइ छ ।
तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री बनाउने उद्देश्यले बालविवाह न्यूनीकरण गर्न मन्दिरका पुजारीलाई प्रत्येक वर्षमा दुई पटक अभिमुखीकरण तालीम दिने गरिएको तुलसीपुर उपमहानगर स्तरीय बाल संरक्षण समितिका संयोजक नवराज लामिछानेले बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका र नवजागरण महिला तथा बालबालिका केन्द्र (न्यूसिपिसी)को सहकार्यमा नियमित अनुगमन र अभिमुखीकरण तालीमले गर्दा अहिले पुजारीले पनि बालविवाह रोक्दै आएका छन् ।मन्दिरमा बालविवाह रोकेपनि गाउँघरमै बालविवाह गर्नेहरुको सङ्ख्यामा भने कमी आउन नसकेको न्यूसिपिसीका कार्यक्रम संयोजक भीम खत्रीले बताउनुभयो ।
February 17, 2019 12:23 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै