म्याग्दीका सात सामुदायिक वनमा पर्यापर्यटन
ध्रुवसागर शर्मा ,गलेश्वर । हिमालका कारण पर्यटकीय जिल्लाको रुपमा परिचित म्याग्दीका वन क्षेत्रमा पनि पर्यटकलाई आकर्षित गर्न योजनाबद्धरुपमा कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लाका सातवटा सामुदायिक वन क्षेत्रमा पर्यापर्यटन कार्यक्रम सञ्चालन गरिएको हो । सामुदायिक वन क्षेत्रलाई पर्यापर्यटन क्षेत्रका रुपमा विकास गरी आम्दानी गर्ने, वनको कोष वृद्धि गर्ने तथा धार्मिक मठमन्दिरको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यापर्यटन कार्यक्रम लागू गरिएको हो ।
पर्यापर्यटन कार्यक्रम लागू भएका सामुदायिक वनमा बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित बगरफाँट सामुदायिक वन, बेनी–५ पुलाचौरको पौलस्त्य आश्रम गिठिनी सामुदायिक वन र पुला गाजने सामुदायिक वन तथा बेनी–६, अर्थुङ्गेको खैरेनी सामुदायिक वन रहेका छन् । यसैगरी धौलागिरि गाउँपालिका–३ मुनाको दहपातल सामुदायिक वन, मालिका–५ को भिरखर्क सामुदायिक वन र रघुगङ्गा–५ झीँको सिद्ध सामुदायिक वन उपभोक्ता समूह छनोट भएका डिभिजन वन कार्यालयले जनाएको छ ।
ती सामुदायिक वन उपभोक्ता समूहमार्फत् सामुदायिक वन क्षेत्रमा वनभोजस्थल निर्माण गर्ने, मठमन्दिर पुनःनिर्माण तथा मर्मत, मन्दिरको घेराबार एवं शौचालय निर्माण, पदमार्ग निर्माणजस्ता काम अगाडि बढाइएको छ । कार्यक्रमबाट प्रत्येक सामुदायिक वनलाई रु पाँच पाँच लाखका दरले अनुदान रकम उपलब्ध गराइएको छ भने त्यसमध्ये स्थानीयले २० प्रतिशत रकम बेहोनुपर्ने हुन्छ । प्रसिद्ध जगन्नाथ मन्दिर परिसरमा शौचालय निर्माण गरिएको छ भने घेराबार लगाउने कार्यक्रमसमेत रहेको छ ।
सामुदायिक वन क्षेत्रमा विभिन्न किसिमका संरचनाको निर्माण गरेर जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि गर्ने उद्देश्यसमेत कार्यक्रमको रहेको डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत होमबहादुर बल्छौडीले जानकारी दिए ।
उनका अनुसार सातै सामुदायिक वनमध्ये बगरफाँट र अर्थुङ्गेको सामुदायिक वन क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न गण्डकी प्रदेश सरकारबाट बजेट आएको छ । यसैगरी अन्य सामुदायिक वन क्षेत्रमा कार्यक्रमका लागि सङ्घीय सरकारबाट बजेट प्राप्त भएको सहायक वन अधिकृत बल्छौडीको भनाइ छ ।
कार्यक्रममार्फत् वन्यजन्तु सफारी तथा अवलोकन, भ्यूटावर निर्माण, संस्कृतिको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने र आर्थिक विकासमा टेवा पु¥याउन कार्यक्रम अगाडि सारिएको जनाइएको छ । सामुदायिक वन क्षेत्रभित्र भएका पुरातात्विक वस्तु, मठमन्दिरको संरक्षण र विकास गर्ने तथा हरियाली प्रवद्र्धन गरेर पर्यटक आगमन बढाउने र आयआर्जनसँग जोड्ने कार्यक्रमको उद्देश्य रहेको छ । सामुदायिक वन क्षेत्रमा जडीबुटीको समेत खेती गर्न सकिने सम्भावना रहेको छ ।
सामुदायिक वन क्षेत्रलाई स्थानीय बासिन्दासँग आर्थिक उपार्जनका हिसाबले जोड्ने गरी पर्यापर्यटन कार्यक्रम सञ्चालन गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । वन क्षेत्रमा पनि पर्यटकलाई पु¥याई उनीहरुबाट आर्थिक लाभ लिन पाउने भएपछि कार्यक्रम सञ्चालन गरिएका सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता पनि खुशी भएका छन् ।
धार्मिक क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड
हिमाली जिल्ला म्याग्दीमा रहेका धार्मिक पर्यटकीय गन्तव्य क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ । जिल्लाका विभिन्न ठाउँमा प्राचीनकालीन सभ्यता, संस्कार र आस्थाका आधारमा अवस्थित ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताइएको हो ।
म्याग्दी सदरमुकाम बेनीबजारदेखि बेनी नगरपालिका–५ पुलाचौर तथा ९ नम्बर वडा घतानका विभिन्न स्थानमा रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र जगन्नाथ–डढेकोट–ढोलठान राजदरबार–पुलहाश्रम र गलेश्वर मन्दिरको भ्रमणमा निस्किएका सरोकारवालाले यस्तो बताएका हुन् । विभिन्न सामाजिक क्षेत्र तथा सङ्घसंस्थामा आबद्ध व्यक्तित्वले धार्मिक क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढाउनुपर्नेमा उनिहरुको जोड रहेको छ ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणमा सहभागी पशुपति क्षेत्र विकास कोष काठमाडौँका सदस्य घनश्याम कोइरालाले धार्मिक क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताए । बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले नगरपालिकामार्फत् नगर क्षेत्रमा भएका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास, प्रचारप्रसार र प्रवद्र्धनमा जोड दिएको बताए ।
कार्यक्रमको अवसरमा प्रसिद्ध जगन्नाथ मन्दिरको दर्शन तथा डढेकोट दरबार भ्रमण गरिएको थियो । यसैगरी ढोलठानको राजदरबार, पौलस्त्य पुलहाश्रम र गलेश्वर मन्दिरमा पदाधिकारी तथा स्थानीयसँग भेटघाट गरी अन्तक्रिया एवं छलफल गरिएको थियो । कार्यक्रमका सहभागीले पनि धार्मिक क्षेत्रलाई पर्यटकीय गन्तव्यका क्षेत्रमा रुपान्तरण गर्नुपर्ने बताएका छन् ।
हिमालतिर यार्सा टिप्नेको लर्को
पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जा र मुदीका बासिन्दा आधा जीव र आधा वनस्पतिका रुपमा परिचित बहुमूल्य यार्सागुम्बा खोज्नका लागि गाउँ छाडेर हिमालतर्फ उक्लेका छन् । गाउँबाट एक दिनको बाटो हिँडेर स्थानीय गुर्जा हिमालको आसपासका क्षेत्र र खर्कमा गएका गुर्जाबाट स्थानीय गोर्खा छन्त्यालले जानकारी दिए ।
छन्त्यालका अनुसार गुर्जा हिमाल आसपासका पुरानबुकी, नाउरे, थारखोला, बौरबास, दोथेवासलगायतका क्षेत्रमा स्थानीयले १० देखि १५ दिनसम्म बसेर यार्सा सङ्कलन गर्ने गर्छन् । गत मङ्सिरदेखि फागुन अन्तिम सातासम्म उच्च हिमाली क्षेत्रमा भएको हिमपातका कारण जमेको हिउँ पग्लेपछि स्थानीय यार्सा सङ्कलनका लागि हिमालतिर लागेका हुन् ।
यसपालि राम्रोसँग हिमपात भएको र यार्सा पाइने खर्कमा मानिस तथा जङ्गली जनावरको पनि ओहोरदोहोर नभएकाले विगतका वर्षमा भन्दा बढी यार्सा सङ्कलन गर्न सकिने अनुमान स्थानीयले गरेका छन् । छन्त्यालले दिएको जानकारीअनुसार गुर्जाबाट २३ जनाको एक समूह यार्सा सङ्कलनका लागि गएको छ ।
स्वदेश तथा विदेशमा राम्रो बजार रहेको यार्सा सङ्कलनमा पछिल्ला केही वर्षयता विद्यार्थीलाई रोक लगाइएको छ । अभिभावकसँगै विद्यार्थी पनि यार्सा सङ्कलनका लागि जाँदा गाउँमा रहेको सामुदायिक विद्यालयमा एक महीनासम्म पठनपाठन अवरुद्ध हुने गरेको थियो । वैशाखको दोस्रो सातादेखि जेठ महीनासम्म गुर्जा, मुदीलगायतका उच्च हिमाली क्षेत्रका बासिन्दा यार्सा सङ्कलनका लागि लेकमा जाने प्रचलन नै रहेको छ ।
जलवायु परिवर्तनका कारण पछिल्लो समय अपेक्षा गरेअनुसार यार्सा सङ्कलनमा समस्या हुने गरेको स्थानीयले बताए । गत वर्ष यार्सा पाइने क्षेत्र हुँदै सात हजार १९३ मिटर अग्लो गुर्जा हिमालको आरोहणमा गएका पाँच जना कोरियाली आरोही र उनीहरुका चारजना नेपाली सहयोगीको हिमआँधीका कारण ज्यान गएको थियो । एक किलो यार्सामा तीन हजार ५०० देखि चार हजारसम्म बुटी हुने डिभिजन वन कार्यालयले जनाएको छ ।रासस
May 8, 2019 7:00 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप