 
						 
नेपालकै पहिलो डोजर चालक मुना घिमिरे, हेर्नेको भिडले राजमार्ग दिनभरि जाम !
 
 मुना घिमिरे श्रेष्ठ नेपालको पहिलो हेभी इक्विपमेन्ट चालक हुन्। गोरखामा जन्मेकी उनका दाजुभाइ थिएनन्। पढाइमा अब्बल भए पनि उनले नौ कक्षा पढ्दापढ्दै पढाइ छाडिन्। ‘छोरा नभएको घर भनेर मान्छेहरू कुरा काट्थे,’ उनले भनिन्, ‘१५ वर्षको उमेरमा पढाइ छोडेर काम गर्न थालेँ। काम गर्ने ठाँउमा ठूलठूला गाडीहरू देख्थेँ।’रिसेप्सनमा काम गर्ने उनको ध्यान भने सधैँ तिनै गाडीमा जान्थे। एक दिन अफिसका निर्देशकले उनलाई सोधे, ‘मेसिन सिक्छौ ?’ उनले जवाफ फर्काइन्, ‘सर, पाए त सिक्थेँ नि।’ आफ्नो काम सकेर उनले बिहान–बेलुका डोजर चलाउन सिकिन्। ‘समाजले फलानाकी छोरी बिग्रिई भन्थ्यो,’ उनले भनिन्, ‘मेरो मनमा तिनीहरूलाई केही गरेर देखाउँछु भन्ने थियो।’
उनले आँटिन् र मेहनत गरिन्। ‘म नेपालको पहिलो महिला हेभी इक्विपमेन्ट चालक बन्छु भनेर डोजर चलाएकी थिइनँ,’ उनले भनिन्, ‘काम गर्दै जाँदा रस बस्दै गयो।’ कामको सिलसिलामा देशका विभिन्न ठाउँमा उनी पुग्थिन्। त्यहाँ उनले डोजर चलाएको देखेर हेर्न आउनेको भीड लाग्थ्यो। ‘एक पटक मैले डोजर चलाएको हेर्न थुप्रै मान्छे आइदिँदा अरनिको राजमार्गमा दिनभरि नै बाटो जाम भयो,’ उनले भनिन्, ‘अहिले पनि देख्नेबित्तिकै क्यामरा तेस्र्याउन थाल्छन्।’
हाल उनी हेभी इक्विपमेन्ट डिभिजन कार्यालय, बानेश्वरमा कार्यरत छिन्। ‘छिनेका चप्पलमा काठमाडौँ छिरेकी थिएँ,’ उनले विगत सम्झिइन्, ‘डोजरमा दक्ष भएपछि मैले जीवनमा कहिल्यै पनि पछाडि फर्केर हेर्नुपरेन।’ उनी अहिलेसम्म दर्जनौँ सम्मानबाट सम्मानित भइसकिन्। नेपाल हेभी इक्विपमेन्ट संघको महासचिव उनी सडक विभागकी स्थायी कर्मचारी पनि हुन्। हक्की स्वभावकी मुना आफूलाई कसैले पनि हेपेको सहन सक्दिनन्। ‘केटीले पनि डोजर चलाउँछन् भन्थे,’ उनले भनिन्, ‘तर, मैले कहिल्यै हिम्मत हारिनँ। डोजर चालक बनेरै छोडेँ।’ मुना जस्तै काभ्रेकी विजया अधिकारी पनि डोजर चालक हुन्। डोजर चलाउने कामलाई उनी शरीर र दिमागको खेल मान्छिन्। उनी अहिले लोक सेवाबाट नाम निकालेर सिनियर अपरेटरका रूपमा विद्युत प्राधिकरणमा आबद्ध छिन्।
May 10, 2019 6:34 pm | भिडियो 
प्रतिकृयाहरू :
समाचारहरु:
 
						भर्खरै प्रकाशित
 
			  		कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
 
			  		कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
 
			  		संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
 
			  		प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
 
			  		त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
 
			  		जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
 
			  		भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
 
			  		जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
 
 
