Sunday 29th December 2024

श्रीकृष्णलाई सम्झन छुट दिनेसँग विवाह गर्छु : श्वेता खड्का

5 years अगाडी

अभिनेत्री श्वेता खड्काले श्रीकृष्ण श्रेष्ठको ‘कहाँ भेटिएला’बाट नेपाली फिल्ममा डेब्यु गरिन् । श्रीकृष्णकै अर्को फिल्म ‘कोहिनुर’ खेलेपछि उनीहरूले बिहे गरे । तर, विवाहको एक महिनामा नै श्रीकृष्णको निधन भयो । त्यसपछि विक्षिप्त बनेकी श्वेता अहिले नयाँ जीवन बाँचिरहेकी छिन् । उनी ‘श्वेता श्री फाउन्डेसन’मार्फत माझी बस्ती निर्माण पनि गरिरहेकी छिन् । श्वेतासँग उनको अबको जीवनबारे नयाँ पत्रिकाका नवीन प्यासीले सोधखोज गरेका छन् :

तपाईंसँग अझै लामो जीवन बाँकी छ । अबको यात्रा कसरी गर्नुहुन्छ ? : म आजका लागि बाँच्छु । आज जसरी पनि खुसी हुने प्रयत्न गर्छु । भोलि के हुन्छ, सोच्दै सोच्दिनँ । अरूले के भन्छ, सोच्छ पनि ख्याल गर्दिनँ । उहाँ (श्रीकृष्ण श्रेष्ठ)ले मलाई यसरी अधुरो बाटोमा छाडेर जानुहुन्छ भनेर कसरी थाहा हुन्छ ? श्रीकृष्ण श्रेष्ठसँग विवाह हुन्छ भनेर पनि थाहा थिएन नि । एक महिनामा फिक्स भएर विवाह भयो । इन्टरकास्ट, उमेरको ग्यापलगायत हरेक कुराले हाम्रो विवाह नहुनुपथ्र्यो । तर, भयो । भोलिको कुरा कसलाई के थाहा ?

हिजोको जीवन त सकियो । अबको दिनमा त नयाँ सपना र सोच चाहियो नि, होइन ? : पहिलाको श्वेता त उहाँले छाडेर गएको दिन नै जलेर मरिसकी । म अर्को श्वेता जन्मेकी हो । अहिले नयाँ जे पनि सोच्न सक्छु । मेरो जीवनमा जे पनि हुन सक्छ । पहिलाको जिन्दगीको त्यो गाडी, त्यो लुकिङ मिरर हेर्न छाडिसकेँ, जुन बाटोमा मेरा पछाडिका घटना देखिन्छन् । त्यही भएर म फ्रेस श्वेता हो । मैले फिल्म पनि बनाएँ र दर्शकको मन जितेँ । बस्ती पनि बनाउँदै छु । जे गर्दै छु, नयाँ गर्दै छु ।

तर, हामी त यादहरूमा बाँच्छौँ । फ्रेस श्वेताले विगतलाई कसरी सन्तुलनमा राख्लिन् ? : नसुक्ने घाउ, नमेटिने दाग त जीवनमा कति हुन्छन् कति । मेरो विवाह भएको दिन २३ असार हो । उहाँलाई खुबै मिस गरेँ । त्यो पल जुन दिन आउँछ, गाह्रो हुन्छ । कसैले उहाँको कुरा गरिदियो भने पनि एकदम गाह्रो हुन्छ । मैले बिर्सिएकी छैन । तर, अब बिर्सिएकी छैन भनेर अगाडि नबढ्ने कुरा पनि त हुन्न । यदि मेरो विवाह भइहाल्यो भने उहाँलाई राख्ने स्पेस सिर्जना गर्न नसक्नेसँग हुँदैन । मेरो नयाँ घरमा पनि उहाँको तस्बिर राख्न पाउनुपर्छ । उहाँको जन्मदिन हरेक वर्ष सेलिब्रेट गर्न छुट दिने मान्छे आए विवाह गर्छु ।

अहिलेको जीवन पाउनुमा श्रीकृष्ण श्रेष्ठको भूमिका छ ? : श्वेता आज पीडा भुलेर पनि यति बलियो भएर हिँडेकी छे नि, मात्र उहाँको कारणले हो । मेरो बारेमा उहाँले दिनुभएको अन्तर्वार्ता अहिले पनि हेर्छु । मैले उहाँलाई बिजनेसमा प्रवेश गराएँ, उहाँले मलाई फिल्ममा प्रवेश गराउनुभयो । हामी दुवैजना दुवै फिल्डमा सफल भयौँ । उहाँले ‘केटी मान्छे घरमा सीमित भएको मन पर्दैन, केटाजस्तो हुनुपर्छ । केटा मान्छेले दशपटक कोसिस गर्दा नहुने काम केटी मान्छेको एउटा कोसिसले हुन्छ,’ भन्नुहुन्थ्यो । मलाई हरेक कुरामा उहाँले चलाख बनाउनुभयो । उहाँ मेरो इन्स्पिरेसन हो ।

अब पनि श्रीकृष्णलाई सम्झँदा आगामी जीवनमा नकारात्मक प्रभाव पर्दैन ? : हाम्रो समाज यति साँघुरो छ कि मजस्तीको पनि कुरा काट्छ । म एकल महिला । मलाई हेर्ने नजर अझै पनि राम्रो छैन । पहिला सिंगल हुनु र विवाहपछि सिंगल हुनुमा एकदम फरक छ । रमाइलो गर्दा, पार्टीमा जाँदा, केटा मान्छेहरूसँग यात्रा गर्दा, आफ्नो बिजनेस पार्टनरसँग मिटिङ गर्दा पनि प्रश्न उठाइन्छ । म उहाँहरूको छोरीजस्तो त हो । उहाँले छाडेर गए पनि मैले उहाँले चाहेको जस्तो जीवन जिउन सक्दिनँ ? उहाँ भइदिएको भए म अर्कै हुन्थेँ होला । अहिले म एकदम मजाले बाँच्न चाहन्छु । म मरेको भए के पाउँथेँ त ?

यदि भोलि विवाह भइहाल्यो भने श्रीकृष्ण श्रेष्ठलाई बिर्सनुहुन्छ ? : यदि मेरो विवाह भइहाल्यो भने उहाँलाई राख्ने स्पेस सिर्जना गर्न नसक्नेसँग हुँदैन । मेरो नयाँ घरमा पनि उहाँको तस्बिर राख्न पाउनुपर्छ । उहाँको जन्मदिन हरेक वर्ष सेलिब्रेट गर्न छुट दिने मान्छे आए विवाह गर्छु । उहाँ मेरो विगत हो । मेरो विगतलाई स्वीकार गर्न नसक्ने मान्छेसँग विवाह हुँदैन । मेरो प्रत्येक पलमा उहाँबारे बोल्दा तारिफ गर्ने मान्छेसँग हुनुपर्छ । धनले, रूपले मलाई अर्थ राख्दैन । मन राम्रो भएको मान्छेसँग अवश्य जोडिन सक्छु ।

          July 14, 2019 3:51 pm | मनोरञ्जन


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...