Tuesday 23rd December 2025

ओली र प्रचण्डले गुगल ब्वाय आदित्य दाहालको खुलेर तारिफ गरेपछि !

7 years अगाडी

प्रधानमन्त्री ओलीले गुगल ब्वाय आदित्य दाहालको प्रतिभा विज्ञानका लागि खोजीको विषय भएको बताउनुभएको छ । आदित्य संरक्षण प्रतिष्ठानले आज आयोजना गरेको ‘कलियुगको आदित्य ज्योतिषपथ’ पुस्तकको विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले आदित्य दाहालमा गुरु र स्रोतविना नै ज्ञान हुनु आफैँमा आश्चर्यजनक भएको बताउनुभयो ।

उहाँले आदित्यको दार्शनिक श्रृंखला तथा चिन्तन प्रक्रिया धार्मिक प्रक्रियासँग मेल नखाने बताउँदै आदित्यलाई आफ्नो ढंगले सोचविचार गर्न दिने र त्यो ज्ञानलाई प्रकट हुने वातावरण बनाइदिनुपर्नेमा जोड दिनुभयो । “आदित्यको शारीरिक मात्र होइन ज्ञानको पनि सुरक्षा हुनु आवश्यक छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसका लागि सरकार सहयोग गर्न तयार छ ।”

ओलीले भन्नुभयो, ‘स्कुल नगएको, कसैले नपढाएको एउटा बालकले लेखेको पुस्तकको लोकार्पण आफैंमा एउटा अनौठो परिघटना हो ।’ आदित्यको अद्भूत क्षमता वैज्ञानिक खोज र अनुसन्धानको विषय भएको बताउँदै प्रधानमन्त्री ओलीले यसका निम्ति सरकारका तर्फबाट आफूले पहल गर्नेसमेत उल्लेख गर्नु भयो । उँहाले आदित्यमा देखिएको क्षमताको सदुपयोग हुनुपर्ने चर्चा गर्दै उनलाई व्यक्तिका भविष्यवाणी गर्नमा सिमित नराख्न आग्रह गर्नुभयो ।

‘मेरो बिहे कहिले होला ? मैले छोरा पाउँछु कि छोरी ? मेरी छोरी पास होली कि फेल ? यस्ता प्रश्नहरुबाट उहाँलाई दुःख नदिऔं’ ‘म प्रधानमन्त्री कहिलेसम्म हुन्छु भनेर मैले सोध्ने अनि म प्रधानमन्त्री कहिले हुन्छु भनेर अर्कोले सोध्ने गरेर उहाँको क्षमताको सदुपयोग हुँदैन । उहाँबाट स्वतस्फुर्त भाव एवं देश र समाज उपयोगी सन्देशहरु प्रकट हुने वातावरण बनाउनुपर्छ ।’

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांस्कृतिक एवं धार्मिकरुपमा समृद्ध नेपाललाई आर्थिकरुपमा पनि समृद्ध बनाउनुपर्ने धारणा राख्नुभयो । प्रचण्डले आदित्यको अद्भुत क्षमता आफूहरुजस्ता भौतिकवादीहरुका निम्ति ठूलो प्रश्नवाचक चिन्ह बनेको बताउनु भयो । आदित्यलाई ‘अद्वितीय प्रतिभा र विलक्षण ज्ञानका मूर्ति’को संज्ञा दिँदै उँहाले भन्नु भयो, ‘धेरै पुस्तक लोकार्पण कार्यक्रममा सहभागी भइयो, तर आजको कार्यक्रम आफैंमा अद्भूत छ ।’

आदित्यको चमत्कारिक क्षमतामा विश्वास गर्नुको अर्थ भगवान मान्ने वा मुर्ति पुजा गर्नेतर्फ फर्किनु नभएको उहालेले प्रष्ट पार्नुभयो । ‘बालज्ञानी आदित्य स्वयम्ले पनि धर्ममा भन्दा कर्ममा जोड दिनुभएको छ, कर्म गर्न छोडेर मेरो पछि लाग भन्नुभएको छैन, भगवान र मुर्ति पूजा गर्न निर्देशन दिनुभएको छैन,’ प्रचण्डले भन्नु भयो ।

नेपाल ज्ञानप्राप्तिको उर्वरभूमि भएको भन्दै प्रचण्डले भगवान गौतम बुद्ध जस्तै प्रतिभाका रुपमा आदित्यको जन्म भएको बताए । ‘सायद यो भूमिमा प्रकृतिका तरंगहरु छन्, आध्यात्मिक चिन्तन र ज्ञान प्राप्तिका दृष्टिकोणले हाम्रो भूमि भिन्न छ,’ उहाले भन्नु भयो । आदिमकालदेखि नै नेपाल ज्ञानको भण्डार भएको भन्दै अध्यक्ष प्रचण्डले सांस्कृतिक तवरले नेपाल समृद्ध बनाउने विषयमा सबै लागिपर्नु पर्नेमा जोड दिनुभयो ।

          July 22, 2018 12:54 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...