अमेरिकामा ८ गोली खाएर बाँचेकी भाग्यमानी रचना, मृत्युको मुखैबाट फर्केपछि यसरि सुनाए रचनाले अनुभव !
दुई वर्षको नाबालक छोरा अनि श्रीमान्का साथ अमेरिका आएकी थिइन् ३० वर्षीया रचना श्रेष्ठ । उनको परिवारलाई डिभी अर्थात् ग्रिनकार्ड लोटरीले स्थायी बसोबासका लागि अमेरिका आउने ढोका खोलेको थियो ।११ महिनाअघि काभ्रेको पनौतीबाट आएको श्रेष्ठ परिवार ओक्लोहामा राज्यको अटोकामा बस्न थाल्यो । संघर्ष गर्दै अघि बढेको त्यो सानो परिवार खुसी नै थियो, तर गत साउन ७ गते उनीहरूको त्यो खुसीमा अनायसै कालो बादल मडारियो ।घरनजिकैको ग्याँस स्टोरमा काम गर्ने क्रममा दिनदहाडै एक १८ वर्षीय अश्वेत अमेरिकी युवाले रचनामाथि जथाभावी गोली बर्सायो । आठवटा गोली खाएकी श्रेष्ठ स्टोरकै भुइँमा ढलिन् ।बेलैमा अस्पताल पुर्याइएकीले धन्न उनको प्राण गएन । त्यतिबेला उनी ह्यान्डी मार्ट स्टोरमा काम गर्थिन्, जुन स्टोर नेपालीले नै सञ्चालन गर्दै आएका थिए । स्थानीय सहयोगी शिव सिलवालले स्टोर सञ्चालकसँग भेट गराई उनलाई उक्त काममा लगाइदिएका थिए ।
गाडीको लाइसेन्स, काम अनि अरू धेरै कुराको सहजता देखेर उनीहरूले आफ्नो बसाइका लागि अक्लोहामा राज्यको सानो गाउँ अटोका रोजेका थिए । त्यहीं काम गर्दागर्दै दुवैले गाडीको लाइसेन्स पनि निकाले ।घरनजिकै पाँच मिनेटको ड्राइभमा काम पनि पाए । पति–पत्नीले एउटै स्टोरमा काम सुरु गरे ।रचना बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म काम गर्थिन् । धेरै नेपालीले अमेरिकामा सुरु–सुरुमा यस्तै स्टोरको काम रोज्छन् ।उनले पनि भाषा छिटो सिकिने देखेर स्टोरको काम रोजिन् । अंग्रेजी भाषा राम्रो होला भनेर ग्याँस स्टोरमा काम थालें, घटनाको बेलीविस्तार लगाउँदै रचनाले भनिन्×– स्टोर खासैव्यस्त नहुने भएकाले काम पनि सजिलै थियो । स्टोरमा आउने ग्राहक पनि राम्रै थिए । घटनाको दिन उनको काम सकिन एक घण्टा मात्र बाँकी थियो । आफ्नो काम सकेपछि अमेरिकामा जोकोहीले पनि आफूले काम गरेको कार्यालय वा स्थान सरसफाइ गरेर छोड्नुपर्ने हुन्छ ।रचनाले पनि ग्राहकको भीड पातलिएपछि मध्याह्न १२ बजेतिर स्टोरको सरसफाइ थालिन् । त्यस क्रममा उनले स्टोरका लागि आएको सामानको ‘डेलिभरी’ पनि लिइन् ।त्यहीबेला ६ जना ग्राहक उनको स्टोरमा प्रवेश गरे । ती ६ जनामध्ये एक जना बाथरुम पसेको थियो । पाँच जनालाई सेवा दिएपछि उनी फेरि सरसफाइमा जुटिन् । बाथरुम छिरेको ग्राहक आउला भन्ने सोच्दै उनी कामतिरै लागिन् । सफाइ गर्ने क्रममा बाथरुममा छिरेको कालो वर्णको केटोले हात सफा गरिरहेको उनले देखेकी थिइन् ।
उनले त्यो कालो वर्णको केटो ग्राहक होइन, लुटेरा हो भन्ने पत्तो पाइनन् । उसले लुकेर उनको गतिविधि नियालिरहेको रहेछ । उक्त केटो हतियारसहित योजनाबद्ध तरिकाले स्टोरमा पसेको कुरा रचनाले पछि मात्र थाहा पाइन् ।जब उनी स्टोरको काउन्टरतर्फ फर्केर सरसफाइ गर्दै थिइन्, त्यही बेला त्यो कालो केटोले बाथरुमबाट निस्केर उनको पछाडि दायाँतर्फ गोली बर्साउन थाल्यो ।पहिलो गोली लागेपछि एक्कासि करेन्ट लागेजस्तो भयो, रचना भन्छिन्– उसले ढाडमा गोली बर्सायो अनि म भुइँमा लडें । खुट्टा उचाल्न खोजें तर सकिनँ । ढाड, गाला, पिठ्यँु, पाखुरा, कम्मर तथा खुट्टा सबैतिर गोलीले छिया–छिया बनायो । यति धेरै गोली खाइसक्दा फतक्कै गलेजस्तो भए पनि बेहोस भने नभएको उनले बताइन् ।त्यसपछि गोलीको दुखाइले ऐया–आत्थु भन्दै चिच्याउन थालिन् ।
त्यही बेला अरू ग्राहक स्टोरमा आएकाले गोली बर्साउने लुटेरा कुलेलम ठोकेको थियो । त्यसपछि उनी थप गोली खानबाट जोगिइन् र रचनाले घरमा रहेको तीन वर्षको छोरो अनि श्रीमान्लाई सम्झिइन् ।त्यति धेरै गोली लागेपछि उनलाई बाँच्छु जस्तो रत्तिभर लागेको थिएन । गोली लागेर ढलेपछि— घरमा मेरो सानो बच्चा छ, मलाई छिटो अस्पताल पुर्याऊ भन्दै उनले स्टोरका पूर्वपरिचित नियमित ग्राहकसमक्ष बिन्ती गरेकी थिइन् ।उनलाई गोली लागेको केही समयमै एम्बुलेन्स आइपुग्यो । घटना घटेको आठ मिनेटमै उनलाई नजिकैको अस्पताल पुर्याइयो एम्बुलेन्सभित्र उनको हेरचाहका लागि बसेका नर्सलाई आफ्नो मोबाइलमा भएको श्रीमान्को नम्बरमा फोन गरेर घटनाका बारे जानकारी दिन लगाइन् ।घटना थाहा पाएपछि उनका श्रीमान् कपिल श्रेष्ठ एम्बुलेन्सभन्दा पहिल्यै अस्पताल पुगिसकेका थिए । श्रीमान्लाई देखेपछि उनले केही राहत महसुस गरिन् । उनको खुट्टा चलिरहेको थिएन ।
मुखबाट समेत रगत बगिरहेको थियो ।त्यस्तो अवस्थामा उनलाई बाँचुलाजस्तो लागिरहेको थिएन । रचनाले सहयोगी छिमेकीको घरमा रहेको तीन वर्षको कलिलो छोरालाई सम्झिइन् ।मलाई केही भयो भने छोराको अवस्था के होला भनेर आत्तिएँ, उनले त्यो समय सम्झँदै भनिन्– त्यसले मेरो पीडा अझ थपेको थियो ।सबैभन्दा धेरै त छोराकै माया लागेर आयो ।अस्पतालमा उनको अवस्था गम्भीर देखिएपछि उनलाई थप उपचारका लागि हेलिकप्टरबाट नजिकैको टल्सा सहरस्थित सेन्ट फ्रान्सिस अस्पताल पुर्याइयो । उनको ढाडबाट छिरेको गोली आन्द्रा, फोक्सो तथा पाठेघरमा समेत पुगेको रहेछ ।स्टोरनजिकैको अस्पताल पुग्दा उनलाई केही होस थियो, तर हेलिकप्टरबाट अर्को अस्पताल पुर्याउँदा भने उनले आफूलाई केही पत्तो नभएको बताइन् । गोलीले कमजोर बनाएकाले उनी बेहोस भएकी थिइन् । बेलैमा अस्पताल पुर्याएर राम्रो उपचार पाएकाले रचनाको ज्यान बच्यो ।
एउटै गोलीले धेरैको ज्यान गएको सुनेकी थिएँ, रचना भन्दै थिइन्– आठवटा गोली खाएर पनि कसरी बाँचें, थाहा छैन । भाग्यले मलाई नयाँ जीवन दिएको छ । उपचारमा खटिने चिकित्सकको उपचारकै कारण सास धानिएकोमा उनले आफूलाई भाग्यमानी सम्झिएकी छिन् । घटनापछि सहयोग गर्ने स्वदेशी तथा विदेशी सबैलाई आफूले कहिल्यै बिर्सन नसक्ने रचनाले बताइन् अस्पतालमा झन्डै १५ दिनको उपचारपछि उनी घर फर्किइन् । अहिले पनि उनी अरूको सहाराबिना हिँडडुल गर्न सक्दिनन् भने घरभित्र भित्ता समाएर हिँड्छिन् । श्रीमान् कपिलले नै उनको स्याहारसुसार गरिरहेका छन् ।कम्मर, गाला तथा घाँटीमा लागेको गोली त अझै निकालिएको छैन । अझै पनि उनको शरीरको पीडा बिसेक भएको छैन ।
उनको उपचार गरिरहेका चिकित्सिकले सात–आठ महिनासम्ममा उनी पूर्ण स्वस्थ हुने वा त्यसभन्दा पनि लामो समय लाग्न सक्ने कुरा बताएका छन् ।दुखाइ कम गर्न तथा आरामका लागि उनी दैनिक पाँच पटक ‘हाइडोज’ को पेनकिलर खान्छिन् । दबाई खाइनन् भने उनी दुखाइले रातभर निदाउन सक्दिनन् । गोलीले शरीर थिलथिलो भए पनि रचना अहिले बोल्न सक्ने र अरूको सहारामा घरभित्र सामान्य हिँड्न सक्ने भएकी छिन् । उनमा छोराका लागि जिउने आशा बढेर आएको छ ।यो खबर शुक्रबार प्रकाशित ‘साप्ताहिक’ नामक राष्ट्रिय साप्ताहिक अखबारमा छापिएको छ
घटना घट्नुअघि उनीहरूले ओक्लोहामाबाट नेपालीहरूको बाक्लो बसोबास रहेको नजिकैको राज्य टेक्सासको अर्भिङमा बसाइँ सर्ने तयारी गरेका थिए । अपार्टमेन्ट बुक भैसकेको थियो । गएको अगस्ट १७ मा सर्ने तयारी गरिरहेका बेला जुलाई २३ मा उक्त दु:खदायी घटना घट्यो ।घटनापछि उनीहरूले अपार्टमेन्टको बुकिङ रद्द गराए ।सबै व्यवस्था सहज हँुदै बसाइ सर्न लाग्दाको उक्त घटनाले उनीहरूको सपना चकनाचुर पारिदियो ।घरमै स्वास्थ्य लाभ गरिहेकी रचनाले भावुक हुँदै भनिन्— कति सपना सँगालेका थियौं, तर सबै यो घटनाले उडाइदियो पहिलेजस्तो सामान्य जीवन त नहोला, तैपनि कहिलेसम्म यसरी पीडा सहेर अनि पेनकिलर खाएर जिउनुपर्ने हो, थाहा छैन ।घटनालगत्तै अमेरिकामा रहेका नेपालीहरूले उनको जीवनरक्षाका लागि सहयोग जम्मा गरे । सहयोगका लागि गरिएको याचनासहितको ‘गो फन्ड’ मा झन्डै ७३ लाख रुपैयाँ जम्मा भयो ।कल्पनै नगरेको घटना घट्यो, श्रीमान् कपिलले भने— यति ठूलो घटनामा परे पनि उनको ज्यान बच्यो, छोरा र मेरा लागि यो नै ठूलो खुसी बनेर आएको छ ।
September 22, 2018 10:39 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :