काखमा नवजात शिशु च्यापेकी अविवाहित आमाले रुँदै भनिन्,मेरो पति खोजिदेउ
गोरखा नगरपालिका ४ की अविवाहिता २० वर्षीया सिर्जना आले भोक न निद्रासँग गुजारा चलाइरहेकी छन् । डेढमहिने शिशु च्यापेर सुत्केरीलाई टहरामा गुजारा चलाउन कति सकस होला ? बिहान, दिउँसो र बेलुकी खुवाउने पौष्टिक आहार त परको कुरा, उनले बिहानबेलुका हातमुख जोर्न पनि परिवारको रूखो वचन सहनुपर्छ । सुत्केरी आमाले त जसोतसो पुराना कपडा फेरफार गर्दै आएकी छन् तर शिशुका लागि स्वास्थ्य चौकीले दिएको न्यानो झोलाबाहेक अन्य कपडा छैन । सिर्जना आले अविवाहित हुन्। साउन २४ गते सुत्केरी भएकी उनलाई स्वास्थ्य संस्थामा कसैले लगिदिएन । उनलाई परिवारले छिःछिः र दुरदुर गरिरहन्छन् । रूखो वचन नलगाई खानेकुरा दिँदैनन् । ‘आजै गइहाल्, भोलि नै गइहाल् भन्छन्’, गहभरि आँसु बनाउँदै उनले भनिन, ‘म घरमा बस्छे भनेर अहिलेसम्म भूकम्पमा बनाएको नयाँ घर छाएका पनि छैनन् ।
मैले छाडेर गएपछि छाउने भनेका छन् ।’ उनी घरकी कान्छी छोरी हुन् । कम बोल्ने सुस्त स्वभावकी उनी भीमसेन थापा गाउँपालिका बगुवाका युवकसँग प्रेमसम्बन्ध रहेको बताउँछिन् । गत वर्ष असोजमा उनी ती युवकसँग गएकी थिइन् । युवकले दाजुको घरमा राखेका थिए पेटमा बच्चा भएको थाहा पाएपछि युवक सम्पर्कमा नरहेको उनले बताइन् । उनको भनाइअनुसार ती युवक गाडीका सहचालक थिए ।अहिले उनी न त आफू ती युवकलाई खोज्न जान सक्छिन् न त परिवारले नै सघाउँछ । उनलाई दिनरात आमाले ‘कसको पेट बोकेकी होस, गइहाल’ भन्दै हकार्छिन् । मंगलबार दिउँसो उनीकहाँ पुग्दा आमा सुशीला आलेले भनिन, ‘कसको हो भनेर सोध्दा भन्दिन, हामीले थाहा पाउन पाए उसैकहाँ पठाउन हुन्थ्यो, खै र भनेकी ?’ परिवारको चाहना छोरीलाई छिटो घरबाट धपाउन पाए हुन्थ्यो भन्ने छ । तर उनलाई न्याय दिलाउन परिवारको साथ छैन ।
सुत्केरी भएको दिनदेखि सिर्जना टहरामा छिन् । परिवारका अन्य सदस्यले जे खान्छन्, त्यही खान्छिन् । पाकेका बेला दिन्छन् नभए भोकै । भान्छामा सुत्केरीका लागि भनेर केही भिन्न खानेकुरा नपाक्ने नागरिक दैनिकमा गोरखाबाट नरहरी सापकोटाले खबर लेखेका छन् । अहिले आमा र शिशु दुवै बिरामी छन् । जन्मिएको दुई सातामा आँखा, मुख सुन्निएर गम्भीर बिरामी परेको शिशुलाई अस्पताल लैजान परिवारले सहयोग गरेन । शिशु बोकेर उनी आफैं फिनाम स्वास्थ्य चौकी पुगिन् । त्यहाँ उपचार नहुने भएपछि उनलाई स्वास्थ्यकर्मीले जनही दुई सय रुपैयाँ उठाएर एक हजार बनाई गोरखा अस्पताल पठाए ।
परिवारका सदस्यले उनलाई उपचारमा ध्यान नदिएको फिनाम स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी लक्ष्मी खनालले बताइन्। न उनलाई आमाबाबुले तागतिलो खानेकुरा ल्याएर खुवाउँछन् न त उनी मागेर खान सक्छिन् । स्वास्थ्यकर्मी मनीषा श्रेष्ठले भनिन्, ‘न सुत्केरीको शरीरमा तागत छ न शिशुको नै ।’उनी गुन्द्रीमाथि पातलो टालो बिच्छ्याएर सुतेकी छन् । उनीसँग बच्चालाई लगाउन तेल र सेक्न कोइला छैन । उनले भनिन, ‘यो घरमा बस्न सक्ने अवस्था छैन, म बस्दिनँ, अहिले जान पनि कहीं सक्दिनँ, मेरा लागि न्याय दिने कोही भएन।’ आफ्नो गल्ती महसुस गर्दै हरेक शब्द बोल्दा उनी गहभरि आँसु बगाउँछिन् । उनी भन्छिन, ‘मेरा पति खोजिदिनुस् जे पर्छ सहेर बस्छु, जान्छु ’ तर उनले ती युवकको नाम र पूरा ठेगाना बताइनन्।
उनी सुत्केरी भएपछि परिवारका सदस्यले घरैमा थुनेर राखे । गाउँमा हल्ला हुन दिएनन् । बिस्तारै छिमेकीले थाहा पाए । गर्भ रहेको सात महिनापछि मात्रै उनी स्वास्थ्य चौकी पुगेकी थिइन् । स्वास्थ्यकर्मीले गर्भपतन गर्न नमिल्ने बताएपछि परिवार र उनले कुरा गुपचुप राखे । उनी दिनभर टहरा आसपासमै बस्छिन् । धेरैले थाहा नपाउँदै छोरी शिशु बोकेर गइदिए हुन्थ्यो भन्ने चाहना बाबुआमाको छ । हरेक दिन शिशुसहितको सुत्केरी छोरीलाई घरबाट निकाल्ने योजनामा परिवारका सदस्य रहेको उनले सुनाइन् । प्रहरी प्रशासन र महिला अधिकारकर्मी यसबारे बेखबर छन् । वडा अध्यक्ष खोपबहादुर अधिकारीले भने, ‘केही दिनअघि घटनाबारे अनौपचारिक सुनेको थिएँ । तर अहिलेसम्म उनीहरूले भनेका थिएनन् । अब म बुझेर ती युवतीलाई न्याय दिलाउन पहल गर्छु ।’
October 3, 2018 10:24 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।