Saturday 13th September 2025

विश्वभरका ०.०७१ प्रतिशत पर्यटक मात्र नेपाल आउँछन्

7 years अगाडी

काठमाडौं । विश्वमा पर्यटनमा निस्किने कुल पर्यटकको ०.०७१ प्रतिशत पर्यटक मात्र नेपाल आउने एक तथ्यांकले देखाएको छ । विश्वमा १ अर्ब ३२ करोड पर्यटक वार्षिक घुमफिरमा निस्किने गरेका छन् । त्यसमध्ये नेपालमा ९ लाख ४० हजार पर्यटक मात्र नेपाल आउँछन् । १ अर्ब ३२ करोडको ९ लाख ४० हजार ०.०७१ प्रतिशत हो । पर्यटनमा हरेकवर्ष बृद्धि दर ७ प्रतिशत रहेको छ । भ्रमणमा निष्किनेमध्ये सबैभन्दा धेरै युरोपियन छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार ६७ करोड युरोपियन वार्षिक भ्रमणका लागि निस्कन्छन् । एशिया÷प्रशान्त क्षेत्रमा ३२ करोड, उत्तर तथा दक्षिण कोरियाका २० करोड व्यक्ति पर्यटनका लागि देश छोड्दा ६ करोड अफ्रिकी घुमफिरका लागि देश छोडेर बाहिर जान्छन् ।

सन् २०१७ मा १ अर्ब ३२ करोड व्यक्ति पर्यटनका लागि निस्किँदा जीडीपीमा यसको योगदान १०.५ प्रतिशत रह्यो भने रोजगार क्षेत्रमा पनि १० प्रतिशत योगदान रह्यो । ०१७ मा १ अर्ब ३२ करोड व्यक्ति पर्यटनका लागि निस्किँदा ८ करोड ९० लाख पर्यटक फ्रान्स पुगे । जसको ७८ प्रतिशत पर्यटक युरोपियन थिए । फ्रान्सपछि ८ करोड १७ लाख पर्यटकले स्पेन भ्रमण गरे । जसमा ८२ प्रतिशत युरोपबाट गएका पाइएको छ । फ्रान्स र स्पेन पछि क्रमशः अमेरिका र चीन सबैभन्दा धेरै पर्यटक भित्र्याउने मुलुकमा परेका छन् । यी दुई राष्ट्रले क्रमशः ७ करोड ५० लाख र ५ करोड ६० लाख पर्यटक भित्र्याउन सफल भए । पाचौँ स्थानमा परेको इटालीमा ४ करोड ८६ लाख पर्यटक पुगे । यता, सर्वोच्च शिखर सगरमाथा रहेको नेपालमा भने ०१७ मा ९ लाख ४० हजार पर्यटक नेपाल आएका थिए । यो सन् ०१६ को आंकडाका आधारमा २५प्रतिशतको आगमन बृद्धिदर थियो ।

औषतमा नेपाल आउने पर्यटकको बसाई १२.६ दिन हुन्छ भने दैनिक ५४ अमेरिकी डलर खर्च गर्ने गरेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले बताए । नेपालमा पर्यटनको जीडीपीका २.८ प्रतिशत योगदान रहेको छ भने रोजगारीमा ३.२ प्रतिशत योगदान रहेको छ । सन् २०१८ को पहिलो ६ महिनामा ५ लाख २० हजार १४ जना वाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । २०१७ को पहिलो ६ महिनामा ४ लाख ६० हजार २ सय पर्यटक नेपाल भित्रिएका थिए । नेपालले सन् २०११ को पर्यटन वर्षमा राखेको १० लाख पर्यटक भित्र्याउने लक्ष्य ७ वर्षपछि पूरा हुने देखिएको छ । सन् २०१८ को पहिलो ६ महिनाको पर्यटन आगमन दर पछिल्लो ६ महिनामा पनि कायम रहे ७ वर्ष अगाडि राखेको लक्ष्य बल्ल पूरा हुने छ ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । संस्कृति पर्यटन तथा नागरिक उड््ययन मन्त्रालय रणनीतिक योजना बनाएर अगाडि बढिरहेको छ । पर्यटनका लागि आवश्यक पूर्वाधारको स्तरोन्नती देखि निजी क्षेत्रसँगको सहकार्यसम्म छन् । विमानस्थलको स्तरोन्नती, क्षमता बिस्तार, पर्यटकलाई छिटो छरितो सेवा विस्तारदेखिसम्म मन्त्रालयले आफ्नो कार्ययोजनामा राखेको छ । नेपाल पर्यटन बोर्डले नेपाल पर्यटनका लागि उपयुक्त गन्तब्य रहेको प्रचारका लागि विदेशी भाषामा वेबसाइट निर्माण गरेर नेपालबारे जानकारी दिने, भिडियो सामग्री बनाएर नेपाल पर्यटनका लागि सुरक्षित र उपयुक्त रहेको जानकारी दिने योजनामा छ । चीन, भारत तथा युरोप र अमेरिकामा नेपालको पर्यटन प्रबद्र्धनका लागि विभिन्न माध्यमबाट जानकारी दिइरहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले बताए ।

          August 5, 2018 11:02 am | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...