Thursday 2nd May 2024

प्रिय प्राण प्यारी ! असिम माया अनि मिठो सम्झना ल !

6 years अगाडी

प्रिय प्राण प्यारी !

असिम माया अनि मिठो सम्झना ल !

खलखली पसिना आउने यो आगोको डल्लो झै मरुभूमिको बिचमा एउटा सानो कोठाको भुँईमा डस्ना बिछयाएर तिमीलाई यो मायाले भरिएको तर वेदना सहितको चिठी कोर्दै छु । चिठीमा जेसुकै लेखे पनि तिमी आत्मबल र धैर्यताले यो चिट्ठी पढ्ने छौ र रुने छैनौ भन्ने आशा राखेको छु ।

विदेश जाने हतारोमा मैले सुहागरातमा तिमीलाई राम्ररी मुसार्न पनि पाईन, त्यसको पश्चातापले मलाई भित्र भित्रै यहाँको गर्मी भन्दा बढी पोलिरहेको छ । हुन पनि बाहिर छालामा पोलेकोले त एक छिन मात्र पोल्छ, बिस्तारै पछि बानी पर्दो रहेछ तर मनभित्र पोल्ने कुराले त जति जति समय बित्छ त्यति त्यति चर्को पीडा हुँदो रहेछ । के गर्नु नआई पनि त भएन, तिमिलाई बिहे गर्नु भन्दा अगाडिको मेरो वेदना त तिमीलाई थाहा नै छैन । तिम्रै अगाडि भन्न नपाएपनि आज म तिमीलाई यो चिठी मार्फत भन्दै छु ।

म सानै देखि एक मेहेनती र लगनशील विद्यार्थी थिएँ । भर्खर भर्खर माओवादीहरु गाउँतिर पसेका थिए । उनीहरु साँझ साँझमा भेला गरेर हामीलाई प्रशिक्षण दिन्थे । देशमा गरिबहरुको सत्ता ल्याउन उनीहरु युद्ध गरिरहेका छौं भन्थे । भ्रष्ट, तस्कर तथा विदेशी दलालहरुलाई सिध्याउनका लागि र नेपाललाई विश्वकै नमुना देश बनाउनका लागि आफूहरु ज्यानको बाजी राखेर युद्धमा होमिएको भन्थे । हाम्रै गाउँमा पनि पञ्चायत देखि नै सोझा र गरीब जनताको रगत चुस्न पल्केकाहरुको बिगबिगी मैले आफ्नै आँखाले देखेको थिएँ ।

हामीलाई दोस्रो दर्जाको नागरिक बनाएर शासन गरेकाहरु हाम्रै समाजमा थिए । माओवादीहरुले हामीलाई बिभिन्न कार्यक्रमहरु देखाउन लग्थे । उनीहरुका भाषण र नाचगान हेर्दा म आफ्नो मुनीको धर्तिले जुरुक जुरुक उचालेको झैं महसुस गर्थे, त्यसैपनि किशोरावस्थामा उम्लिने रगत झन उम्लेर पोखिएला झै हुन्थ्यो ।

त्यसैबीच कक्षा ११ मा अध्ययन गर्दै–गर्दा २०५८ सालमा मेरो पल्लो गाउँको एक मिल्ने साथी र म एक दिन पढाई छोडेर भूमिगत हुने निर्णयमा पुग्यौं र २०५८ साल मंसिर २ गते हामी भूमिगत भई टिका ग्रहण गर्यौ, टिका ग्रहण कार्यक्रममा पाएको न्यानो र भव्य स्वागतले मलाई लागेको थियो कि मैले बुद्धत्व पाएँ, मलाई जीवनको एक उद्देश्य मिलेको थियो यो देशको मुहार फेर्ने । त्यसपछि हामी कस्सिएर युद्धको मोर्चामा लाग्यौ, माक्र्स, लेनिन, स्टालिन, माओका ठूला ठूला किताबहरु अध्ययन गर्दै गयौं । दिमागमा पुरै राष्ट्रियता मात्रै थियो ।

समय बित्दै गयो हामीले धेरै ठाउँमा सफलता हात पनि लगायौ केही ठाउँमा असफल पनि भयौ । सँगै हिड्ने कति साथीहरु सहिद भए, कति घाईते भए । तर भाग्यवश मलाई केही भएन । मैले भूमिगत अवस्थामा धेरै कुरा सिकेँ । हामी सामूहिकतामा बिश्वास गथ्र्यौ, दैनिकक रुपमा आवश्यक पर्ने सामान्य खाने खर्च बाहेक हामीलाई कुनै सम्पति वा पैसाको लोभ थिएन । भोलि सबै सामूहिक नै हुने हो हामीलाई छुट्टै सम्पति किन चाहियो भन्ने शिक्षा पाएका थियौं । हामीलाई सरकारी सेना जस्तो न त कुनै तलब थियो न त भविष्यको लागि कुनै पेन्सन ।

हामी सामुहिक रुपमा खेती गर्दथ्यौं र जनताहरुलाई पनि गर्न उक्साउथ्यौ, मलाई राम्ररी याद छ हामीले सामूहिक खेती गरेको एउटा बाँझो जग्गामा अचम्मले धान फलेको थियो । गाउँलेहरुले यति सम्म भनेका थिए की उनीहरुले कहिल्यै त्यस्तो अचम्मको धान फलेको देखेका थिएनन् रे । अहिले सोच्छु साँच्चै त्यस्तो व्यवस्था देशमा हुने हो भने त कोही किन दुःखी हुन्थ्यो होला । उक्त सामुहिक व्यवस्थाबाट मैले एक पाठ जरुर सिकेको छु की त्यो व्यवस्था सम्भव छ जो सायद माक्र्सले लेखे मात्र अनुभव गर्न पाएनन तर मैले गरेको छु ।

तमाम उतारचढाव र हण्डरकाबीच २०६३ सालमा पार्टीले संविधानसभाको बाटोबाट जाने भन्दै खुला राजनीतिमा आयो हामी पनि खुशी भयौं । नचाहँदा नचाहँदै बाध्यताले गरेको हतियार सहितको भुमिगत आन्दोलनले जुन स्तर लिएको थियो त्यसमा हामी गर्ब गर्दथ्यौं, युद्धले दिएको यो सफलताको श्रेय हामी सहिदहरुलाई दिन्थ्यौं ।

त्यसपछि म केही समयको लागि घर फर्के, घर त थिएन पहिले नै तत्कालीन शाही सेनाले आगो लगाईसकेको थियो । सानो छाप्रो बनाएर आमा बुवा र दुई भाई बहिनी गुजारा गरिरहेका थिए । आमा र बुवा बिरामी हुनुहन्थ्यो । मैले सबैलाई राजनीतिक परिवर्तनको बारेमा राम्ररी सम्झाएँ, उहाँहरुले मेरो काम प्रति सधैं गर्ब गर्नुहुन्थ्यो । त्यसपछि हामीलाई शिबिरमा राखियो । केही समयपछि सेना समायोजन गर्ने भनियो । हामीलाई समायोजनको लागि पुरानै सेनाको मापदण्ड अनुसार भर्ति गर्ने कुरा आयो ।

त्यसरी समायोजनमा जाँदा कतिको पढाई नपुग्ने, कतिको तौल नपुग्ने कतिको उचाई नपुग्ने । मेरो पनि पढाई नपुग्ने र उचाई पनि नपुग्न सक्ने थियो । त्यसैले मैले समायोजनमा नजाने निर्णय गरेँ । वरु बाहिर गएर खुला राजनीति गर्ने वा व्यवसाय गर्ने निधो गरें । म ५ लाख बुझेर बाहिर निस्किएँ । घरमा जाँदा आमा र बुवा दुबै बिरामी हुनुहुन्थ्यो । घर पुग्ने बित्तिकै घरखर्चको लागि लगेको ऋण तिर्नु पर्ने भयो, १ लाख जति ऋण तिरियो ।

आमालाई अलि बढी नै बिरामले च्यापेको थियो, गाउँघरमा राम्रो अस्पताल नभएकाले मैले नेपालगन्ज अस्पताल लगें । १ महिना त्यहाँ राख्दा पनि ठिक भएन । त्यसपछि केही साथीभाईको पहलमा काठमाडौ लगियो । टिचिङग अस्पताल, वीर अस्पताल, नर्भिक आदि सबै तिर लगियो । अन्तिम चरणमा पुगेको आमाको दमको उपचार राम्ररी निको हुन सकेन । अन्ततः घर फर्किएँ । त्यसको २ महिनामा आमा बित्नु भयो । आमाको मृत्युपछि बुवा थला पर्नुभयो । बुवालाई पनि काठमाडौ सम्म पुर्‍याएँ । तर केहि सिप लागेन आमाले छोडेको ६ महिनामा बुवाले पनि हामीलाई छोडेर जानुभयो ।

शिविरबाट निस्कदा ल्याएको पैसा पनि सबै आमा बुवाको उपचारमै सकियो । भाई बहिनीहरुको बिचल्ली हुने भयो भनेर म धेरै चिन्तित भएँ । मैले सोचे अब कस्सिएर खुला राजनीति गर्छु । जिल्लाका नेताहरुसँग भेट्ने धेरै प्रयास गरे कोहीसँग हुन सकेन । कोही सभासद थिए कोही ठूला व्यापारी भइसकेका थिए त कोही काठमाडौ तिर लापत्ता । अर्कै पार्टीबाट प्रवेश गरेका एक भ्रष्ट व्यक्ति जिल्ला इन्चार्ज थिए । मैले भविष्य अन्धकारमय देख्नथाले, मेरो अनी देशको । त्यसपछि मेरो आँखाले एक मात्र बाटो देख्यो बिदेश जाने, रोजगारीका लागि । तर त्यो भन्दा पहिले मलाई भाई बहिनिको लागि अभिभावक चाहिएको थियो । जसको लागि मैले बिहे गर्नुपर्ने भयो र तिमी मेरो जीवनमा आयौ, त्यसपछि के भयो त्यो तिमीलाई थाहा छँदैछ ।

मैले तिमीलाई यो वृतान्त सुनाउनुको एकमात्र कारण छ प्रिय त्यो के भन्दा जसरी हाम्रो पवित्र आन्दोलनको घाँटी थिचेर हाम्रा सपना, नेपाल आमा र शहिदहरुको रगतलाई कुल्चिएको छ त्यसै गरी मेरो जीवनमा बचेखुचेको आशाको त्यान्द्रो चुडाएर तिमीले धोका नदिनु भन्ने बिन्ती बिसाउनको लागि यो चिठी तिमीलाई लेख्दै छु ।

आजकाल समाचारमा हेर्न पाईन्छ कि म जस्ता लाखौ युवाहरु खाडीको गर्मीमा पोलिएर झरेको पसिनाबाट उब्जाएर घर खर्च र बच्चाबच्चीको पढाईको लागि पठाएको रेमिट्यान्सलाई देखाएर सरकारले र तिनका अर्थमन्त्रीले आफ्नो सरकारले आर्थिक वृद्धिदर बढाएको भनेर सफलताको सुचाङक प्रस्तुत गर्दछन् र त्यही पैसा घरमा पुगेपछि श्रीमतीहरुले काठमाडौका ठूला ठूला मलहरुमा छिरेर ताईवानको पाईन्ट, जापानको टिसर्ट, पेरिसको ब्रा र कोरियन हिल जुत्ता र अमेरिकी परफ्युम किन्छीन र सेक्सी देखिन्छन अनि बेरोजगार भई अर्काकी श्रीमतीमाथि र बिदेशमा उसको लोग्नेले कमाएको सम्पत्तिमाथि आँखा गाडेर बस्ने नालायक केटाहरुबाट यौनको प्यास मेटाउन थाल्छन ।

यौनको भोकले तिनीहरुलाई यतिसम्म उक्साउछ की बिदेश गएको श्रीमान त के आफ्नै काखको बच्चा समेत छोडेर तिनीहरु तिनै नामर्दहरुसँग पोईल समेत जान्छन भन्ने सुनेको छु । मलाई थाहा छ प्रिय सुहागरात पनि राम्ररी नमनाएर म तिमीलाई चटक्क छोडी सात समुन्द्र पार आएको छु । मलाई छातिमा कसेर बंैशको रस चुसाउने तिम्रो ब्यग्र ईच्छा थियो जुन मैले पुरा गर्न सकेको छुईन । तिमी भित्रको जवानीको आगो निभाउन तिमीलाई पक्कै त्यति सजिलो छैन होला भन्ने म राम्ररी बुझ्छु तर जिन्दगी लामो छ प्रिय, हाम्रा थुप्रै सुखका क्षणहरु बाँकी छन् ।

हामी एक–अर्काको अंगालोमा बाधिएर धित मरुन्जेल एक अर्कालाई मुसार्ने दिन पक्कै आउनेछन् । मलाई थाहा छैन यो देशमा मैले भूमिगत कालमा देखेको सपनाको व्यवस्था आउछ वा आउदैन तर हाम्रो जीवनमा म त्यो व्यवस्था पक्कै स्थापित गर्ने छु किनकी त्यो युद्धमा म एक कार्यकर्ता मात्र थिए तर यो युद्धमा तिमी र म नेता हौं । हामीले चाहेको शासन हामी स्थापित गर्न सक्छौं ।

हामी हाम्रो जीवनमा समाजवाद मात्र हैन साम्यवाद स्थापित गर्ने छौं । तर त्यसका लागि मलाई तिम्रो साथ अपरिहार्य छ । आशा छ नेताहरुले हामी विद्रोहमा होमिएकाहरुलाई बनाए जस्तो घरको न घाटको बनाउने छैनौ तिमीले । तिमीमाथि भनिजस्तो अमेरिकाको पफ्र्युम किन्ने छैनौ न त जापानको टिसर्ट नै तिमी हाम्रो गाउँको ढुङ्गेधारामा आफ्नो जिउको फोहोर मैला राम्ररी पखाल्ने छौ अनी ठिटको सारी र मखमली चोली लगाएर जीवनका रंगीन पलहरुको काउकुती अनुमान गर्दै मेरो प्रतिक्षामा रहने छ्यौ…!!! बिशाल बिक्रम श्रेष्ठको फेसबुक बाट

          August 8, 2018 4:01 am | साहित्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...